arrow

बाबुराम भट्टराईको हुँकार कायमै, भन्छन् –चुनाव चिह्न नदिए निर्वाचन हुन दिँदैनौँ 

logo
प्रकाशित २०७४ वैशाख १० आइतबार
Baburam-bhattrai-stage.jpg.jpeg

पालुङ्टार । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले नयाँ शक्ति पार्टीलाई आँखा चुनाव चिह्न नदिएसम्म निर्वाचन हुन नदिने चेतावनी दिएका छन् ।

नयाँ शक्तिले गोरखाको पालुङटारमा आयोजना गरेको बृहत् आमसभामा भट्टराईले “जतिबेलासम्म चुनाव चिह्न दिँदैनन्, त्यति बेलासम्म निर्वाचन हुन दिदैनौँ”– भने । 

संविधान निर्माण गर्न आफूले ठूलो भूमिका खेलेको स्मरण गर्दै भट्टराईले त्याग गरेर ल्याएको संविधानमा उल्लेख भएअनुसार नै प्रक्रिया पुर्याएर निर्वाचन आयोगमा दल दर्ता गरिएकाले चुनाव चिह्न पनि पाउनुपर्ने तर्क गरे । उनले भने, “आँखा चिह्न प्राप्त गरिछाड्छौँ । निर्वाचनको तयारीमा जुट्नुहोस् ।” 

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ शक्तिलाई चुनाव चिह्न दिनबाट रोक लगाएको भट्टराईले आरोप लगाए । 

“निर्वाचन आयोगमा प्रक्रिया पु¥याएर दर्ता भएको पार्टीलाई चुनाव चिह्न नदिने निर्णय षड्यन्त्र हो”– उनले भने, “राप्रपाको काँधमा प्रधानमन्त्री बस्नुभएको छ । त्यसैले आयोगलाई भनेर राप्रपाको माग पूरा गरिदिनुभयो ।” 

संविधान संशोधन गरेर मधेसी दललाई पनि निर्वाचनमा सहभागी गराउन भट्टराईको आग्रह छ । 

मधेसीको माग पूरा गराउने बहानामा चुनावको मिति हेरफेर गर्न नहुने भन्दै उनले संविधान संशोधन पारित गरी निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिए । 

यस्तै, पार्टी घोषणाको एक वर्षमै ७५ जिल्लामा सङ्गठन बनिसकेको भन्दै भट्टराईले जनताको भोटले निर्वाचन जितेर सत्तामा पुगेपछि आर्थिक समृद्धिका काम गरिने बताए । 

समृद्ध नेपाल बनाउनका लागि लिगलिगकोटको फेदीबाट उद्घोष गर्दै भट्टराईले पालुङटार नगरलाई देशकै नमुना नगर बनाउने योजना सुनाउँदै नगर प्रमुख, उपप्रमुखमा नयाँ शक्तिलाई जिताउन आग्रह गरे । 

वामपन्थी, दक्षिणपन्थीभन्दा माथि उठेको विचार नयाँ शक्ति भएको उनको भनाइ थियो । 

आमसभालाई नेता देवी ओझा, पासाङ शेर्पा, गङ्गा चौधरी, करिष्मा मानन्धर, हरिशरण आचार्य, डा लक्ष्मीप्रसाद देवकोटा लगायतले सम्बोधन गरेको नयाँ शक्तिका अशोक देवकोटाले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ