arrow

लोकसेवाकै मिलेमतोमा यसरी भयो निलम्बित कर्मचारीको बढुवा

logo
प्रकाशित २०७४ वैशाख १० आइतबार
loksewa-aayog.jpeg

काठमाडौं । काठमाडौं महानगरपालिकाले भ्रष्टाचारको अभियोगमा निलम्बित कर्मचारीलाई समेत बढुवा गरेको भेटिएको छ ।

महानगरपालिकाले भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका इन्जिनियर गम्भीरलाल श्रेष्ठलाई कर्मचारी नियुक्ति र बढुवा कार्यमा निष्पक्ष निर्णय लिने निकाय मानिने लोकसेवा आयोगकै मिलेमतोमा बढुवा सिफारिस गरेको भेटिएको हो ।

यसबाट लोकसेवा आयोगको विश्वसनीयतामाथिसमेत प्रश्न उठेको छ । 

पदपूर्ति समितिबाट गरिएको निर्णयमा लोकसेवा आयोगका प्रतिनिधिसमेत रहेका पदपूर्ति समितिका अध्यक्ष शिवप्रसाद मुनकर्मी, सदस्य सचिव (महानगरपालिकाका कार्यकारी अधिकृत) ईश्वरराज पौडेलसहित ६ जनाले हस्ताक्षर गरेको भेटिएको छ ।

गत २९ फागुनमा बसेको महानगरपालिकाको पदपूर्ति समितिले श्रेष्ठलाई प्राविधिक सेवा अधिकृत स्तरको सातौं तहमा बढुवाको सिफारिस गरेको पाइएको हो ।

तर, उनको नाम भने बढुवाको सूचीमा प्रकाशित गरिएको छैन । श्रेष्ठसँगै बढुवा भएका अन्य कर्मचारीहरूको नामावली भने २९ फागुनकै मितिमा प्रकाशित गरिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब सात महिनाअघि श्रेष्ठलाई भ्रष्टाचारको अभियोगमा निलम्बन गरेको थियो । 

उनले हाल विशेष अदालतमा यससम्बन्धी मुद्दासमेत खेपिरहेका छन् ।

श्रेष्ठसँगै निलम्बनमा परेका महानगरपालिकाका अर्का इन्जिनियर रामहरि फुयाँलले भने राजीनामा दिइसकेका छन् ।

श्रेष्ठले अदालतबाट सफाइ पाएको खण्डमा २९ फागुन २०७३ देखि नै नियुक्ति पत्र पाउने गरी पदपूर्ति समितिले बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

महानगरपालिकाका कार्यकारी अधिकृत पौडेलले निलम्बनमा पर्नुअघिदेखि नै श्रेष्ठ बढुवा प्रक्रियामा सामेल भएको र बढुवाका लागि उनी योग्य भएकाले समितिले बढुवाका लागि सिफारिस गरेको बताए । (राजधानी दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ