- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दाङ । यहाँको अस्पतालमा सघन उपचारसेवा लिने धेरै बिरामीलाई आइसियु सेवा नहुँदा समस्या परेको छ ।
राप्ती उपक्षेत्रीय अस्पताल घोराहीलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने पहल सरकारले थालिसकेको छ ।
त्यसका लागि भौतिक पूर्वाधारका आवश्यक स्वास्थ्य उपकरणलगायतका सामग्रीसहित बजेटसमेत उपलब्ध गराइरहेको छ ।
तर पछिल्लो समयमा उपक्षेत्रीय अस्पतालमा आइसियु सञ्चालनका लागि आएका करोडौँ मूल्य बढीका आवश्यक सामग्री भने स्टोरमा थन्किएका छन् ।
अस्पतालमा आइसियु सेवाका लागि ती लाखौँका सामान आएको करिब डेढ वर्ष भइ सकेको छ ।
आइसियुका सामग्री लिएको पनि डेढ वर्षभन्दा धेरै भइसकेको छ, आइसियु सेवा सुरु हुन सकेको छैन ।
स्वास्थ्य सेवा विभागको आपूर्ति महाशाखाबाट भेन्टिलेटर ल्याइएको हो ।
दुईवटा भन्टिलेटर लिएर राखेको हो तर त्यो भेन्टिलेटर भित्र्याएको डेढ महिना बितिसक्दा पनि सुरु नहुँदा बिरामीलाई जिल्ला बाहिर पठाउने गरिएको छ ।
दैनिकजसो बिरामीलाई आइसियुका लागि जिल्ला बाहिर पठाइन्छ ।
राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा आइसियु सेवा नहुँदा नवजात शिशुलाई दैनिकजसो अन्यत्र पठाउने गरिएको छ ।
दाङ, सल्यान, रुकुम, रोल्पालगायतका जिल्लाबाट सुत्केरीका लागि यस अस्पतालमा ल्याउने गर्छन् ।
तर यस क्षेत्रको ठूलो भनिएको अस्पतालमा आइसियु सेवा नहुँदा कतिपय नवजात शिशुले अकालमै ज्यान गुमाउने गरेका छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा जनार्दन पन्थीले आइसियु अस्पतालका लागि हात्ती भएको बताउँदै अस्पतालले हात्ती चलाउन नसक्ने बताए ।
उनले आइसियुका लागि मात्र १२÷१५ जना दक्ष कर्मचारी आवश्यक पर्ने तर अस्पतालसँग जनशक्ति नहुँदा सञ्चालनमा समस्या भएको बताए ।
नयाँ अस्पताल विकास समिति आएसँगै यसलाई सञ्चालनको पहल आफूले गरिरहेको भन्दै पन्थीले असार मसान्तसम्म आइसियु सेवा सुरु गर्ने बताए ।
बर्सेनि अस्पताल व्यवस्थापन समिति फेरिने परम्पराले पनि अस्पतालमा राज्यले दिएका सुविधा पनि नागरिकले पाउन सकेका छैनन् ।
लाखौँका सामग्री आएर पनि आइसियु सेवा तथा आएका भेन्टिलेटरसमेत सञ्चालन हुन नसक्नु दुर्भाग्यपूर्ण भएको आमनागरिकले गुनासो गर्दै आएका छन् । रासस