arrow

एमालेबाट सोलुदूधकुण्डको प्रमुखमा श्रीमान् र उपप्रमुखमा श्रीमती सिफारिस

logo
प्रकाशित २०७४ वैशाख १० आइतबार
Solududhkunda_Nagarpalika.png

सोलुखुम्बु । नेकपा (एमाले)ले सोलुदूधकुण्ड नगरपालिकाको प्रमुखका लागि सात र उपप्रमुखका लागि चारजनाको नाम सिफारिस गरेको छ । तीमध्ये प्रमुख र उपप्रमुखमा श्रीमान् - श्रीमती परेका छन् । उक्त दलका जिल्ला अध्यक्ष मानवीर राईको अध्यक्षतामा शनिबार सम्पन्न जिल्ला कमिटी बैठकले नगरपालिकाको प्रमुख र उपप्रमुखमा आकाङ्क्षी धेरै भएकाले जिल्लामा टुङ्ग्याउन नसकेपछि एमालेले प्रमुख पदमा सात र उपप्रमुख पदमा चारजनाको नाम सिफारिस गरेको हो । 

प्रमुख पदमा वीरउदास श्रेष्ठसँगै आङ दामी शेर्पा, बच्चुनारायण श्रेष्ठ, रामकाजी श्रेष्ठ, दोर्जी जाङबु लामा, सन्तोष मगर र डिबी राणापाल तथा उपप्रमुख पदमा कल्पना राई, मनकुमारी बस्नेत, याङडी लामा र सूर्यकुमारी सुनुवारको नाम सिफारिस गरेको प्रचार विभाग उपसंयोजक जगनाथ बास्तोलाले जानकारी दिए ।  कल्पना राई जिल्ला समिति प्रचार विभाग प्रमुख वीरउदास श्रेष्ठकी श्रीमती हुन् ।
 
यसैगरी सो दलले छवटा गाउँपालिकाको प्रमुख-उपप्रमुख, वडाअध्यक्ष र सदस्यको उम्मेदवारको नाम पनि छनौट गरी प्रदेश कमिटीमा सिफारिस गरेको छ । जसअनुसार सोताङ गाउँपालिका प्रमुखमा वीरबहादुर राई र उपप्रमुखमा लक्ष्मी बस्नेत, दूधकौशिका गाउँपालिका प्रमुखमा श्यामकुमार राई र उपप्रमुखमा कल्पना बस्नेत, नेचा सल्यान गाउँपालिका प्रमुखमा डुफकुमार बास्तोला र उपप्रमुखमा सबिना राईलाई उम्मेदवार बनाएको छ । 

यस्तै दूधकोसी गाउँपालिका प्रमुखमा बुद्धिकिरण राई, उपप्रमुखमा जुनिता मगरलाई उम्मेदवार बनाएको छ भने खुम्बु पासाङ ल्हामु गाउँपालिका प्रमुखमा ङिमदोर्जी शेर्पा, उपप्रमुखमा टासील्हामु शेर्पा र लिखु पिके गाउँपालिका प्रमुखमा पोष्टकुमार कार्की र उपप्रमुखमा पल्मु शेर्पालाई उम्मेदवार बनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ