arrow

बालकोट पुगेका प्रचण्डलाई ओलीले भने–यो के नाटक हो ?

मधेसी मोर्चासँगको सहमतिको कन्टेन्ट नहेरी पार्टीको धारणा नदिने

logo
प्रकाशित २०७४ वैशाख १० आइतबार
oli_v_prachanda.jpg.jpg

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई मधेसी मोर्चाका नेताहरुसंग भएको सहमतिको लिखित दस्तावेज मागेका छन् ।

ओलीलाई भेट्न निजी निवास बालकोट पुगेका प्रधानमन्त्री दाहाललाई ओलीले मधेसी मोर्चाका नेतासँग भएको भनिएको सहमतिको लिखित ड्राफ्ट मागेका हुन् । ओलीले लिखित ड्राफ्ट मागेपछि प्रधानमन्त्री दाहालले लिखित नभएको र मौखिक सहमति भएको बताए ।  

बालकोटमा भएको एक्ला एक्लै भेटमा ओलीले आफुले प्रधानमन्त्रीलाई ‘के नाटक हो यो ? भनेर सोधेको सुनाए । ओलीका एक सहयोगिले हाम्राकुरासँग भने, ‘प्रधानमन्त्री बाहिरिएपछि अध्यक्ष ज्यूले प्रधानमन्त्रीले मोर्चासँग भएको सहमतिबारे ब्रिफ गरेको र आफुले प्रतिप्रश्न गरेकोबारे जानकारी गराउनु भयो ।’ ओलीको भनाई उदृत गर्दै ती सहयोगिले भने, ‘जेठ १५ मा बजेट पनि ल्याउने भन्नु भो । अनि जेठ ३१ मा चुनाव गर्ने भन्नु भो । यो के नाटक हो ?’

‘निर्वाचन आचार संहिता अध्ययन गर्नु भएको होला, स्वतन्त्र र निष्पक्ष निर्वाचनको विश्वव्यापी मान्यता र आफ्नै परम्परा विपरित हुने गरी कसरी निर्वाचन गर्न सक्नुहुन्छ ? जेठ १५ गते बजेट ल्याउने र त्यसको १५ दिनपछि चुनाव गराउने भनेको के हो ?’ ओलीले दाहालसँग सोधे । प्रधानमन्त्री दाहालले सहयोग गर्न आग्रह गरेपछि ओलीले लिखित दस्तावेज मागेका थिए ।

यस्तै, ओलीले सहमति भएकोबारे कुनै लिखित जानकारी नआएकाले नबुझेर पार्टीको धारणा भन्न नसकिने बताए । उनले भने,‘कन्टेन्टमा के लेखिएको छ त्यही आधारमा हामी आधिकारिक धारणा ल्याउँछौं । यो भित्र निकै नाटक भए जस्तो लाग्छ ।’  

पूर्वघोषित स्थानीय तहको चुनाव दुई चरणमा गर्ने र त्यसअघि संविधान संशोधन गर्ने मोर्चा र सरकारबीच सहमति भएको विषय आफुले संचारमाध्यमबाट सुन्न पाएको ओलीको भनाई छ ।

दाहालको भनाई धैर्यपूर्वक सुनेका ओलीले दुई चुनावको बीचमा सरकारले नीति कार्यक्रम र बजेट ल्याउने अनि सरकार परिवर्तन गर्ने कुराले निर्वाचन आचार संहिताको ठाडो उल्लंघन हुने र निर्वाचनका सर्वमान्य सिद्धान्त विपरीत हुने तर्क गरे ।

एक घण्टा लामो एक्ला एक्लै छलफलपछि ओलीले पत्रकारहरुसँग कुरा गरे भने प्रधानमन्त्री दाहाल केही नबोली बालकोटबाट हिँडे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ