arrow

उपेन्द्रको जीब्रोमा पुरानै स्वाद : ‘सहमति भो भनेर पत्रकारले आतंक मच्चाए, सम्झौता भएको छैन’

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ वैशाख १० आइतबार
birod_sava.jpg

विराटनगर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनमा सहभागि हुने विषयमा सरकार र मधेसी मोर्चाबीच अहिलेसम्म कुनै सम्झौता नभएको बताएका छन् ।

मधेसी मोर्चाले विराटनगरमा गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेसी मोर्चासँग सम्झौता भयो भनेर बाहिर आएको हल्ला निराधार भएको बताए । उनले भने, ‘यो मिडियावाजी मात्रै हो । मोर्चा गठबन्धनसँग सहमति भयो, अब चुनावमा जान्छ भनेर पत्रकारले आतङ्क मच्चाए ।’ हामीले कुनै सम्झौता गरेका छैनौं । यो गलत प्रचार हो ।    

संविधान संशोधन नगरीकन गरिने कुनै पनि निर्वाचनमा मोर्चा सहभागि  नहुने यादवको भनाई छ । अध्यक्ष यादवले आदीवासी जनजाती मधेसीहरुको मागका साथै आफुहरुसँग भएको सहमती सम्झौता कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनतापार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसी मोर्चासँग भएको सम्झौता कार्यान्वयन गरेर सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने बताए ।आफुहरु चुनाव विरोधी नभएको भन्दै चुनावका लागि पहिले भएका सहमति कार्यान्वयन आवश्यक रहेको बताए ।

अध्यक्ष ठाकुरले यथास्थितिमा निर्वाचनमा मोर्चा सहभागि नहुने भन्दै सरकारले संविधान संशोधन गरेर निर्वाचनको वातावरण बनाउनु पर्नेमा जोड दिए । कार्यक्रममा संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङदेल सम्झौता कार्यान्वयन नभएसम्म निर्वाचनमा मोर्चा सहभागी नहुने उल्लेख गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ