arrow

उम्मेदवारकै नारा यस्तो ‘हाम्रालाई होइन, राम्रालाई जिताउँ’

logo
प्रकाशित २०७४ वैशाख ११ सोमबार
Chitwan_District.png

रत्ननगर । स्थानीय निकायको निर्वाचनमा हाम्रालाई भन्दा राम्रालाई भोट दिने सुरमा छन् चितवनका मतदाता । 

निःस्वार्थी र राम्रा नेता छानिएमा गाउँ तथा नगरको विकासले फड्को मार्ने भन्दै मतदाता राम्रालाई भोट दिनुपर्ने बताउँछन् । 

वृद्धिजीवी गङ्गाधर खराल जनतासँग घुलमिल हुन सक्ने, विकासप्रेमी व्यक्ति र राम्रा व्यक्ति नै चुनावका लागि उपयुक्त हुने बताउँछन् । 

खराल भन्छन्, ‘आज चुनाव जितेर पनि उही रुपमा, जसरी भोटमाग्दा जनतालाई हेरेको थियो, जितेपछि पनि त्यसैगरी हेर्ने व्यक्ति चाहिन्छ ।’
 
विगतमा चुनाव जितेपछि नेता गाउँमा फर्केर पनि आएनन् भन्ने गुनासो व्याप्त छ । 

चितवनको विकट सिद्धिका अतिसिमान्तकृत समुदायका सुब्बा चेपाङको अनुभव पनि त्यही छ । 

अब हामीलाई सहयोग गर्ने, विकास गर्ने मान्छेलाई नै भोट दिने हो, सुब्बा चेपाङ भन्छन् । 

चितवनमा दलका नेताहरु भने उम्मेदवार छान्ने र प्रचारप्रसारमा तीव्रता दिने काममा व्यस्त भएका छन् । 

चितवनको रत्ननगरका एकजना वडाध्यक्षको उम्मेदवार स्वयं नै आफ्नो चुनावी नारा  ‘हाम्रालाई होईन राम्रालाई जिताउँ’ भनेर राखेका छन् । 

नेपालमा स्थानीय निकायको निर्वाचन नभएको दुई दशक भयो । त्यसैले धेरैका लागि यो निर्वाचन नयाँ छ । 

त्यसमाथि सङ्घीय संरचनाअनुसारको निर्वाचन भएकाले पनि विल्कुलै फरक छ । 

अधिकार गाउँतहमा आउने बेलाको निर्वाचन भएकाले अझै यो पालीको चुनाव महत्वपूर्ण र आशा गर्ने खालको रहेको भरतपुरकी शान्ति अधिकारी बताउँछिन् । 

उनी पनि राम्रा उम्मेदवारलाई चुन्नसके विकासले फड्को मार्ने बताउँछिन् । 

चितवन जिल्लामा एक महानगर, एक गाउँपालिका र पाँच नगरपालिका छ । 

तीन लाख १३ हजार २ मतदाताले कुल ५०४ जना निर्वाचित गर्ने छन् । 

स्थानीय प्रकाश भट्टराई जो आए पनि विकास हुनुपर्यो, आएका उम्मेदवारमध्ये सबैभन्दा उपयुक्त जो हुन्छ, जसले काम गर्न सक्छ उसैलाई जिताउन सके विकास हुने विचार राख्छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ