arrow

३७ प्रतिशत स्थानीय तहमा मात्रै पहिलो चरणमा निर्वाचन

चार महानगर र एक उपमहानगरमा पहिलो चरणमा

logo
प्रकाशित २०७४ वैशाख ११ सोमबार
three_pradesh_nirvachan.jpg

काठमाडौं । स्थानीय तहको निर्वाचन सरकारले दुई चरणमा गर्ने निर्णय गरेको छ । सरकारले बैशाख ३१ गतेको लागि तोकेको निर्वाचनमा असहमति जनाउँदै आएका मधेशी मोर्चाका नेताहरुले दुई चरणमा निर्वाचन गर्न आग्रह गरेसँगै सरकारले मोर्चालाई समेत निर्वाचनमा सहभागी गराउनको लागि दोस्रो चरणको निर्वाचन जेठ ३१ गते गर्ने निर्णय गरेको हो । 

 

सरकारले कूल ७ प्रदेश मध्ये ३ वटा प्रदेशमा मात्रै निर्वाचन गराउने निर्णय गरेको छ । आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश नम्वर ३, ४ र ६ मा २०७४ बैशाख ३१ गते र प्रदेश नम्वर १, २, ५ र ७ मा २०७४ जेठ ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको थियो। समयको चापलाई मध्यनजर गरी पहिलो चरणको निर्वाचनको उम्मेदवारी दिने मिति बैशाख १६ गतेको समयलाई केही दिन पर सार्न निर्वाचन आयोगलाई अनुरोध गर्ने पनि बैठकले निर्णय गरेको छ ।


मन्त्रिपरिषद्को यो निर्णय सँगै तराईसँग नजोडिएका प्रदेशमा मात्रै निर्वाचन हुने भएको छ । एउटा रोचक कुरा के छ भने सरकारले दोस्रो चरणमा निर्वाचन गर्ने प्रदेशहरुको संख्या हेर्दा पहिलो चरणमा कूल ४२ प्रतिशत निर्वाचन हुनेछ भने स्थानीय तहको संख्याको आधारमा हेर्दा कूल ३७ प्रतिशत स्थानीय तहमा मात्रै निर्वाचन हुने भएको छ । 

 

तर, मुलुकमा रहेका कूल ४ वटा महानगरभने पहिलो चरणमा नै निर्वाचन हुने भएको छ । अहिले काठमाडौं, ललितपुर, लेखनाथ पोखरा र भरतपुर महानगरपालिकामा भने पहिलो चरणमा नै निर्वाचन हुने भएको छ । 

 

त्यस्तै, मुलुकमा रहेका कूल १३ उपमहानगरपालिका मध्ये जम्मा एक वटा उपमहानगरपालिकामा मात्रै पहिलो चरणमा निर्वाचन हुने भएको छ । पहिलो चरणमा हेटौंडा उपमहानगरपालिकामा मात्रै निर्वाचन हुने भएको हो भने बाँकी १२ उपमहानगरपालिका दोस्रो चरणमा हुने भएको हो । 

 

त्यस्तै, मुलुकमा रहेको कूल २ सय ४६ नगरपालिका मध्ये जम्मा ८६ वटा नगरपालिकामा मात्रै पहिलो चरणमा निर्वाचन हुने भएको छ भने कूल ४ सय ८१ गाउँपालिका मध्ये १८७ गाउँपालिकामा मात्रै निर्र्वाचन पहिलो चरणमा हुने भएको छ । यी सबै क्षेत्र जोडेर ७ सय ४४ स्थानीय तहको प्रतिशत निकाल्दा कूल ३७ प्रतिशत स्थानीय तहमा मात्रै पहिलो चरणमा निर्वाचन हुने भएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ