arrow

काठमाडौंमा काँग्रेसबाट नगरहरुको मेयर उपमेयरमा को को छन महिला आकाँक्षी? 

logo
प्रकाशित २०७४ वैशाख ११ सोमबार
Anupa-rajani-rupa.jpg

काठमाडौं । स्थानिय तहको चुनाव नजिकदै गर्दा काठमाडौं महानगरपालिका र विभिन्न नगरपालिकाहरुमा मेयरमा उम्मेदवारी दिन आकांक्षा देखाउनेहरुमा महिलाको संख्या पनि वढ्दै गएको छ ।

प्रमुख र उपप्रमुख मध्ये एक पुरुष भए अर्कोमा महिला हुनुपर्ने अनिवार्य वाध्यताका कारण पनि यो पटकको स्थानिय तहमा महिला आकाँक्षीहरुको संख्या वढी छ । लैङगिक दृटिकोणबाट पनि महिला शसक्तिकरणको कुराले महिलाहरु उमेद्वार बन्न चाहनेको संख्या वढेको छ । 

काठमाडौं महानगरपालिकामा विवेकशिल नेपाली दलले २१ बर्षिया रञ्जु दर्शनालाई मेयरमा उमेद्वार बनाएपछि अन्य राजनीतिक दलहरुमा यस्को प्रभाव नजानिदो किसिमले परेको छ । सबै राजनीतिक दलहरुमा रहेका महिलाहरुले पनि आफ्नो सम्वन्धित दलमा महिलाहरुलाई उमेद्वार बनाउन दवाव दिन थालेका छन्। कतिपय दलहरुले भने महिलालाई मेयर बनाउन गृहकार्य पनि गर्न थालेका छन्।

काठमाडौंमा कुन कुन नगरपालकिकाबाट महिलालाई मेयरमा उठाउन सकिन्छ भन्ने तयारी काँग्रेस र एमाले लगायतका दलहरुबाट गरेको पाइन्छ । राप्रपाले आफ्नो केन्द्रीय सदस्य तथा नायिका रेखा थापालाई काठमाडौंको उपमेयरमा उमेद्वार बनाउने भएको छ । अन्य दलहरुमा पनि मेयर उपमेयरको बारेमा चर्चा र गृहकार्य शुरु भएको छ । 

महानगरपालिका त्यसैमा पनि मुलुकको राजधानी पर्ने काठमाडौंको मेयर उपमेयरका लागि पनि राजनीतिक दलहरुबीच ठूलै हानाथाप सुरु भएको छ । त्यसो त मेयरको रुपमा पुरुषलाई अघि सारेका ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेले उपमेयरमा भने बाध्य भएर महिलाहरुलाई नै अगाडि सारेका छन् । हामीलाई प्राप्त विवरण अनुसार अहिलेसम्म कोही पनि पुरुषले काठमाडौंको उपमेयरको लागि आकाँक्षा देखाएका छैनन् । 
 
अहिले काठमाडौंमा नेपाली काँग्रेस र नेकपा एमालेका आकांक्षीहरुले खुलेर मेयर तथा उपमेयरमा आकांक्षा देखाएको पाईएको छ । त्यस भन्दा बाहेकका पार्टीबाट मेयर उपमेयरको लागि कसले उम्मेदवारी दिन्छन् भन्नेमा भन्न सकिने अवस्था अहिलेसम्म देखिँदैन ।   

काठमाडौं महानगरपालिकाको उपमेयरको लागि काँग्रेसबाट कल्याणी रिजाल, जानु घिमिरे, हरिप्रभा खड्गी , जीवन डंगोल र समिता खड्गी श्रेष्ठको नाम चर्चामा छ । 
 
त्यस्तै, एमालेबाट उपमेयरमा उठ्ने सोच बनाएकाहरुमा सुजिता शाक्य, विद्या न्यौपाने, रन्जना मास्के छन् । जसमध्ये शाक्य पार्टीको केन्दीय सदस्य पनि हुन् भने श‌ंकर पोखरेलकी श्रीमती पनि हुन् । 
 
काठमाडौंकै नागार्जुन नगरपालिकामा वरिष्ठ सञ्चारकर्मी अनुपा श्रेष्ठलाई मेयरको उमेद्वार बनाउने चर्चा पनि चुलिएको छ। इमेज च्यानलमा कार्यरत श्रेष्ठ नेपाली काँग्रेस काठमाडौंका पुराना नेता विरेन्द्रभक्त श्रेष्ठकी छोरी हुन्। उनलाई नागार्जुन नगरपालिकाको मेयर उमेद्वार बनाउन काठमाडौं काँग्रेसका नेताहरु र स्थानिय नेताहरु पनि लागेका छन्। राजनीतिमा नयाँ भएपनि राजनीतिक पृष्ठभुमी भएको परिवारकी श्रेष्ठ राष्ट्रिय अन्तराष्ट्रिय एक्सपोजर भएकी सञ्चारकर्मी हुन्। उनलाई मेयर बनाउन काँग्रेसका स्थानिय नेताहरु लागिपरेका छन्। 

काठमाडौंकै कागेश्वरी मनहरामा नेपाल विद्यार्थी संघकी केन्द्रिय सदस्य जुझारु नेतृ रुपा पोखरेल उपमेयरमा उमेद्वारको रुपमा काँग्रेसभित्र कडा प्रत्यासी छिन। विद्यार्थी आन्दोलन हुँदै ६२/६३को आन्दोलनमा सक्रिय रहेकी त्यस क्षेत्रकी लोकप्रिय छिन। यद्यपी उनलाई खेमाका आधारमा कतिपय स्थानिय काँग्रेसका नेताहरुले रोक्न खोजेपनि उनी कडा रुपमा अगाडी बढेकी छन्।

टोखा नगरपालिकामा पनि रजनी थापा उपमेयरमा आकाँक्षी देखिएकी छन्। विद्यार्थी राजनीतिबाट आएकी उनी अरु दावेदार भन्दा सशक्त रहेकी स्थानिय काँग्रेसका अगुवाहरु बताउँछन्। 

काठमाडौंका अन्य नगरपालिकाहरुमा पनि महिला आकाँक्षीहरु उत्साहजनक रुपमा अगाडी आएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ