arrow

५० दिन अघि नै भोजपुरका राजनीतिक दलले गरे उम्मेदवार सिफारिस, को कहाँ ?

logo
प्रकाशित २०७४ वैशाख ११ सोमबार
bhojpur_district_map.png

भोजपुर । सरकारले बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने भनेर घोषणा गरेपछि अहिले स्थानीय स्तरमा चुनावी चहलपहल सुरु भएको छ । यसै बीचमा दुई चरणमा स्थानीय गर्ने गरी प्रदेश नम्बर १ ,२, ५ र जेठ ३१ गते निर्वाचन गर्ने निर्णय गरेको छ । सरकारले एक नम्बर प्रदेशमा जेठ ३१ गते दोस्रो चरणमा निर्वाचन गर्ने मिति घोषण गरेपनि राजनीतिक दलहरुले स्थानीय तहमा उम्मेदवार बन्नेको नाम भटाभट सिफारिस गर्न थालेका छन्।

 

सात गाउँपालिका र दुइवटा नगरपालिका रहेको भोजपुरमा स्थानीय सरकारको प्रमुखका लागि नेपाली कांग्रेस , एमाले र माओवादीले नाम सिफारिस गर्न थालेका हुन् । त्यो मध्येको नेपाली कांग्रेसको गढ भनिएको अरुण गाउँपालिकाको प्रमुखका लागि नेपाली कांग्रेसले भोजपुर जिल्ला अस्पताल विकास समितिका अध्यक्ष गजेन्द्र कार्कीलाई सिफारिस गरेको छ भने षडानन्द नगरपालिकाको प्रमुखमा कांग्रेसका स्थानीय स्तरका प्रभावशाली नेता वीरवल राईलाई सिफारिस गरेको छ । 

 

त्यस्तै अरुण गाउँपालिकाको उपप्रमुखमा विनिता ढकाल र षडानन्द नगरपालिकाको उपमेयरमा सीता श्रेष्ठको नाम सिफारिस भएको छ । एमालेबाट अरुण गाउँपालिकाको प्रमुखमा शिवराज सापकोटाको नाम सिफारिस भएको छ । स्थानीय सरकारको नेतृत्व गर्नका लागि भन्दै सापकोटाले शिक्षकबाट राजीनामा दिएर राजनीतिमा आएका हुन् । त्यस्तै, माओवादी केन्द्रबाट अरुण गाउँपालिकाको प्रमुखमा बिमल खड्काको नाम सिफारिस भएको छ ।

 

त्यसैगरी, काँग्रेसले अन्य गाउँपालिकाको पनि नाम टुंगो लगाएको छ । उसले रामप्रसाद राई गाउँपालिकामा दिनेश कार्की, आमचोक गाउँपालिकामा रबिन राई, ट्याम्के मैयुम गाउँपालिकामा सरोज बस्नेत, पौवादुङ्मा गाउँपालिकामा शिशिरा राई ,साल्पा सिलिछोमा महेश राईको नाम सिफारिस गरेको छ ।

 

तर, भोजपुर नगरपालिकामा मेयरका आकांशी धेरै भएपछि केन्द्रमा सबैको नाम पठाउने तयारी भएको नेपाली कांग्रेस भोजपुरले बताएको छ । भोजपुर नगरपालिकाको मेयरमा पूर्व सभापति बालकृष्ण थापा ,कैलाश आले लगायतले दाबी गरेका छन् । अरुण गाउँपालिका बाहेक अन्य गाउँपालिका र नगरपालिकामा भने एमाले , माओवादी केन्द्र ,राप्रपा लगायतका दलहरुले उम्मेदवारको नाम टुंगो लगाइसकेका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ