arrow

विज्ञहरुको सुझाव ‘भारतको जस्तो होईन, मतगणना तत्कालै गर्नुपर्छ’

logo
प्रकाशित २०७४ वैशाख १२ मंगलबार

काठमाडौं। निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन गरेपछि तत्कालै निर्वाचनको मत गणना सुरु गर्ने जनाएको छ। सरकारले लामो समयपछि हुन लागेको स्थानीय निर्वाचनमा अधिकतम राजनीतिक शक्तिहरुलाई सहभागी गराउने रणनीति अनुसार गरेको दुई चरणको निर्वाचन एक महिनाको समयान्तरमा राखेको छ। 


एक महिनापछि हुने दुई समान निर्वाचनको मतपरिणाम एकैपटक सार्वजनिक गर्ने कि एउटा निर्वाचन सकिएलगत्तै मतगणना सुरु गर्नु राम्रो हो ? भन्ने सवाल अहिले चौतर्फी रुपमा बहसको विषय बनेको छ। सोमबार निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले मतदान सकिएपछि प्रक्रियावद्ध रुपमा प्रमुख निर्वाचन आयुक्तको कार्यालयमा मतपत्र ल्याईने र सो पछि प्रमुख निर्वाचन अधिकृतले तोकेको समयमा तत्कालै मत गणना सुरु गरिने स्पष्ट पारे । 


यसरी एउटै प्रकृतिको निर्वाचनमा एउटा क्षेत्रको मत परिणामले अर्काे क्षेत्रकाहरुलाई मनोवैज्ञानिक प्रभाव पार्दैन त ? भन्ने प्रश्नमा प्रमुख निर्वाचन आयुक्त यादवले यसले केही प्रभाव पार्ने भएपनि त्यो खासै समस्याको विषय नभएको स्पष्ट पारे । अहिले भारतीय निर्वाचन प्रणालीको उदाहरण दिँदै भारतमा त एउटा प्रदेशभरीको जति चरणमा निर्वाचन गरेको भएपनि एकै पटकमा मत परिणाम सार्वजनिक गर्नेगरेको उदाहरण  पनि प्रसस्तै आउने गरेको छ । 


तर, यससँग जानकारहरु भने यत्ति लामो समयसम्म मत परिणाम त्यसै राख्ने हो भने यावत खालका शंका उपशंका सुरु हुने भएकोले र निर्वाचन नै बदर हुने सम्भावना समेत रहेकोले मतपत्र रोकेर राख्न नहुने बताउँछन् । 


पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले यति लामो समयसम्म कुनैपनि हालतमा मतगणना रोक्न नहुने स्पष्ट पारे । उनले भने ‘कुनै बदमासले केही सानो गल्ती गरिदियो भने पनि त्यो निर्वाचन नै रद्द हुनसक्छ । मतदाताको मत जस्तो संवेदनशील विषयलाई लामो समय कुराएर राख्नु हुँदैन ।’


‘जहाँसम्म भारतको दृष्टान्त छ त्यो विषय नेपालको परिप्रेक्षमा नित्तान्त भिन्न छ । हाम्रो अहिलेको स्थानीय तह शक्तिशाली छ र प्रत्येक स्थानीय तहमा छुट्टाछुट्टै स्वायत्त सरकार गठन हुनेछ । त्यसैले एउटा स्थानीय तहको निर्वाचनको परिणामले अर्काे स्थानीय तहलाई खासै प्रभाव पार्दैन’ उनले भने ‘प्रभाव पर्छ भने पनि पर्न दिनुपर्छ ।’ नेपालमा पनि प्रदेशको निर्वाचन र संसदीय निर्वाचनलाई दुई चरणमा गरेको हो भने चाहिँ एकै पटक मतगणना गर्नुपर्छ । 


त्यस्तै, अर्का पूर्व कार्यबाहक प्रमुख निर्वाचन आयुक्त दोलख बहादुर गुरुङले मतदाताको अमूल्य मतलाई धेरै दिन कुराएर राख्न नहुने तर्क गरेका छन् । उनले दोस्रो चरणमा हुने निर्वाचनलाई केही असर गर्छ कि भन्ने तर्क स्वभाविक रहेको भन्दै गुरुङले मत गणना तत्कालै नगर्दा झनै बढी घाटा रहेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ