arrow

प्रचण्डको निर्देशनपछि काठमाडौंका सडक पखाल्दै महानगर

logo
प्रकाशित २०७४ वैशाख १२ मंगलबार
Metropolitan_Office_KTM.jpg.jpeg.jpeg

काठमाडौं । काठमाडौं उपत्यकाको धुलो कम गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाका कर्मचारीलाई निर्देशन दिएपछि महानगरपालिकाले काठमाडौं सफाई अभियान सुरु गरेको छ ।

सोमबार बेलुकादेखि काठमाडौं महानगरपालिकाले दमकल प्रयोग गरी सडक सफा गर्ने अभियान सुरु गरेको हो । मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने क्रममा खनिएका सडकका कारण काठमाडौं उपत्यकाका अधिकांश सडक धुलाम्मे भए काठमाडौंबासीले सास्ती खेप्नु परेपछि प्रधानमन्त्री प्रचण्डले तत्काल र नियमित रुपमा सडक सफा गर्न मन्त्रालय र महानगरपालिकाका कर्मचारीलाई निर्देशन दिएका थिए ।

सरकारले ब्रुमर खरिद गर्न ९ करोड निकासा गरेपछि महानगरपालिकाले काठमाडौं उपत्यकाका सडकहरुमा पानीको फोहराले सडक सफा गर्न थालेको हो । अभियानअन्तर्गत सोमबार बेलुका काठमाडौंको कमलादी, पुतली सडक आसपासका क्षेत्रको सडक सफा गरिएको छ । सवारी साधनको चापलाई मध्यनजर गरी महानगरपालिकाले रातिको समयमा सडक सफा गर्न लागेको हो ।

प्रधानमन्त्रीले सफाई अभियानका लागि सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको तर अभियान छिटो सुरु गर्नुपर्ने निर्देशन दिएपछि महानगरपालिकाले अब नियमित रुपमा सडक सफा गर्न लागेको हो । पहिलो चरणमा मेलम्चीको पाइप बिच्छाएर पीच गरिएका सडकहरु सफा गरिने बताइएको छ । सडक सफा गर्न रातिको समयमा महानगरले दुई वटा दमकलसहित ४ वटा ट्यांकरको प्रयोग गर्नेछ । बालाजुबाट पानी ल्याएर सडक सफा गरिनेछ ।

दैनिक ४ देखि ६ किलोमिटर सडक सफा गर्ने महानगरपालिकाको तयारी छ । राति ९ बजेदेखि १२ बजेसम्म महानगरका सफाइ सेवाका कर्मचारी सडक पखाल्न खटिनेछन् । पानीको फोहोरा लगाएर सडकमा जमेको माटो र धुलो हटाइने बताइएको छ ।

प्रधानमन्त्रीको निर्देशनपछि काठमाडौं महानगरपालिकाका प्रमूख कार्यकारी ईश्वर पौडेल आफैं सडक सफाई अभियानमा खटिएका छन् । पौडेलको क्रियाशीलतापछि उपत्यकाको सफाई अभियानले गति लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ