arrow

पाँच दलको बालुवाटार बैठक, के पाक्यो खिचडी ?

logo
प्रकाशित २०७४ वैशाख १२ मंगलबार
baluwatar_baithak_news1.jpg

काठमाडौं । प्रमुख पाँच राजनीतिक दल काँग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) को बैठकले राजनीतिक सम्वादलाई जारी राख्दै सहमतिबाटै अगाडि बढ्ने निर्णय गरेको छ ।

मंगलबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारले  संसदमा प्रस्तुत गरेको संविधान संशोधन विद्येयक, सदनको सहज सञ्चालन, सरकारले घोषणा गरेको दोस्रो चरणको निर्वाचन र बजेटमा केन्द्रित भएर छलफल चलेको थियो । बैठकमा सत्ता पक्ष र प्रतिपक्षका नेताहरुले प्रधानमन्त्रीले प्रस्तुत गरेका एजेण्डामाथि आफ्ना धारणा राखे ।

बैठकले राजनीतिक सम्वादलाई जारी राख्ने, दुईपक्षीय र बहुपक्षीय छलफललाई निरन्तरता दिँदै संविधान संशोधन, सदन सञ्चालन, दोस्रो चरणको निर्वाचन र बजेटबारे सहमतिमा पुग्ने र राजनीतिक दलहरु मिलेरै अगाडि बढ्ने निर्णय भएको माओवादी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

प्रधानमन्त्री दाहालले बैठकमा परिमार्जन सहितको संविधान संशोधन ल्याएको, आन्दोलनरत मधेसी मोर्चाका नेताहरुसँगको छलफलपछि निर्वाचन आयोगको परामर्शमा दास्राे चरणकाे निर्वाचन मिति घोषणा गरेको र बजेट ल्याउने तयारी गरेकोबारे विषयगत एजेण्डाहरु राखे ।

यस्तै, प्रधानमन्त्री दाहालले विपक्षी दलले सदन अवरुद्ध गरेको र कसरी खोल्ने भन्नेबारे समेत कुराहरु राखे । प्रमुख विपक्षी एमालेका नेताहरुले आफुहरुलाई सरकारले सहमतिबाट टाढा राख्न खाजेको भन्दै असन्तुष्टि जनाए । यस्तै, लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले सबैलाई मिलाएर निर्वाचनमा जानुपर्ने बताए ।  

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापा, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदार लगायत पाँच दलका शीर्ष नेताहरु उपस्थित थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ