arrow

काठमाडौंको मेयरको उमेद्वार बन्न मन्त्रीहरु अनिच्छुक, काँग्रेसलाई सकस  

प्रवल दावेदार को को

logo
प्रकाशित २०७४ वैशाख १३ बुधबार
congress-123.jpg.jpeg

काठमाडौं । स्थानीय तहको निर्वाचनको तयारी व्यापक रुपमा चलिरहेको छ । अन्यौलकाबीच दुर्इ चरणमा स्थानीय निर्वाचन गर्ने सहमति भएसँगै निर्वाचन हुने सम्भावना पनि बढ्दै गएको छ ।

तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने विश्वास बढ्दै जाँदा पहिलो चरण आगामी बैशाख ३१ गते हुने स्थानीय निर्वाचनमा दलगत रुपमा बनाउने उमेद्वारको बारेमा दलभित्र मात्र हैन आम मतदातामाझ पनि चर्चा शुरु भएको छ । ३ नं प्रदेशमा पर्ने काठमाडौं महानगरपालिकाको मेयर तथा उममेयरमा उम्मेदावारीको लागि कतिपय नेताहरुलाई पार्टीभित्रैबाट र मतदाताबाट जनदबाब परेको छ । कतिपयले भने आकाँक्षा पनि देखाइरहेका छन्।
 
व्यवस्थापिका संसद्को पहिलो ठूलो दल तथा काठमाडौंको १० मध्ये ८ क्षेत्रमा विजय हाँसिल गरेको नेपाली काँग्रेसबाट काठमाडौंको मेयरमा कसलाई उम्मेदवार बनाउने भन्ने विषय अहिले धेरैको चासोको विषय भएको छ। स्थानीय तहको पहिलो निर्वाचनमा अन्य पार्टीहरुबाट सेलिब्रेटी उम्मेदवार खडा गरेको बेलामा नेपाली काँग्रेसलाई भने काठमाडौंमा जित्ने नै उमेद्वार बनाउनु पर्ने दबाब बढेको छ । त्यसको लागि चर्चित र लोकप्रिय अनुहारलाई उठाएर निर्वाचन जित्नुपर्ने दबाब काँग्रेसमा बढेको छ । 

अहिले आफूलाई बैकल्पिक शक्ति भन्दै चुनावी प्रचारमा होमिएको विवेकशील नेपाली दलले २१ वर्षीया रञ्जु दर्शनालाई उम्मेदवार बनाएको छ । नयाँ पार्टीको रुपमा चर्चामा आएको साझा पार्टीले पूर्व सचिव किशोर थापालाई उम्मेदवार बनाईरहँदा संसदको दोस्रो ठूलो दल एमालेले भने पूर्व मेयर केशव स्थापितलाई उठाउने चर्चा छ । यद्यपी उनको बारेमा पार्टीले निर्णय लिने सम्भावना कम रहेको बताइन्छ । उनको ठाउँमा जीवनराम श्रेष्ठको चर्चा छ । राप्रपाबाट भने राजाराम श्रेष्ठ मेयरको उमेद्वार बन्ने तय भएको छ । 

काँग्रेसमा भने मेयरको चर्चा चलेसँगै धेरैले लिने नाम बनेको छ गगन थापा र नवीन्द्रराज जोशी । धेरैको चाहना अनुसार पार्टीले पनि दुवैजना मन्त्री रहेकाहरु मध्ये एकलाई मेयरको उमेद्वार बनाएको खण्डमा काठमाडौंमा जीत हाँसिल गर्न सकिने विश्वास आम काँग्रेस कार्यकर्ता र मतदातामा रहेको बुझ्न सकिन्छ । तर, स्वास्थ्य मन्त्री समेत रहेका गगन थापा र उद्योग मन्त्री समेत रहेका नविन्द्रराज जोशीले आफूहरु मेयरमा नउठ्ने घोषणा गरेका कारण पार्टी पनि दवावमा परेको छ । पार्टीको तल्लो तहबाट भने गगन थापा उठेको खण्डमा वडामा पनि कूल ३२ मध्ये ३० वटासम्म जीत्न सकिने भन्दै स्थानीय स्तरबाट गगनलाई जसरी पनि उमेद्वार बनाउन दवाव बढेको छ। गगन नउठे जोशीलाई उठाउनुपर्ने दवाव छ । पार्टी सभापतिकहाँ पनि काठमाडौंका नेताहरुले गगन र जोशीमध्ये एकलाई चुनावमा उठाउनुपर्ने भन्दै व्रिफिङ भएको छ । तर दुबैले सार्वजनिक रुपमै आफूहरु मेयरका लागि अनिच्छुक भएको बताएका छन्। उनीहरुले स्थानियस्तरमा काम गरिरहेका र लोकप्रिय व्यक्तिहरुलाई मेयरको उमेद्वार बनाउन पार्टीस्मग आग्रह गरिरहेका छन्। 

मेयरका लागि पटक पटक चर्चामा तानिएका जोशीलाई मेयर बन्न पार्टीका विभिन्न तप्काबाट दबाब आएको बुझिएको छ । उद्योगमन्त्री हुँदा राम्रो काम गरेर चर्चामा आएर लोकप्रिय भएका मन्त्री जोशीलाई अहिले उद्योगमन्त्रीबाट राजीनामा दिन लगाएर मेयरमा उम्मेदवारी दिन लगाउने तयारी समेत भईरहेको बुझिएको छ । ८ महिना मन्त्री बन्दा उनले गरेको कामका कारण उनी क्षमताबान् रहेको बुझेर उनको स्थानीय तह र नेतृत्व तहमा चर्चा चुलिएको छ ।  

थापा र जोशी बाहेक मेयरको उम्मेदवारका आकांक्षीहरुमा पूर्व राज्यमन्त्री तीर्थराम डंगोल, पशुपति क्षेत्रविकास कोषका पूर्व कोषाध्यक्ष नरोत्तम बैद्य र यूवा नेता प्रगतिमान रञ्जितको नाम चर्चामा छ । माथिका २ उम्मेदवारहरुले उम्मेदवार बन्न इच्छा नगरेको खण्डमा यी तीन उम्मेदवारहरुमध्ये एकको सम्भावना रहेको बुझिएको छ । यद्यपी चर्चा नविन्द्रराज जोशीका दाई राजुराज जोशीको पनि छ। मेयरको दौडमा इन्जिनियर सुसन बैद्य र समाजशास्त्री सुरज काफ्लेको नाम पनि चर्चामा छ । 

काठमाडौं महानगरपालिकाको उपमेयरको लागि काँग्रेसबाट महिलाहरुको नै बढी चर्चा चलिरहेको छ । काँग्रेसबाट अहिले उपमेयरको लागि कल्याणी रिजाल, हरिप्रभा खड्गी , जीवन डंगोल र समिता खड्गी श्रेष्ठको नाम चर्चामा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ