arrow

नवराज सिलवालको बचाउ गर्दै ओलीले भने– यो सरकार आतंककारी हो

‘सिलवालको कागज किर्ते गर्ने सरकार’

logo
प्रकाशित २०७४ वैशाख १४ बिहिबार
KP-_OLI_news.jpg

काठमाडौँ । प्रमुख विपक्षी एमालेका अध्यक्ष केपी ओलीले सरकारले अनेकन बहाना बनाएर स्थानीय तहको निर्वाचन भाड्न खोजेको आरोप लगाएका छन् ।

विहीबार पार्टीको केन्द्रीय प्रचार भेला उद्घाटन गर्दै अध्यक्ष ओलीले स्थानीय निर्वाचन भाड्न सरकारले संविधान संशोधनका नाममा अनेक जाल थापिरहेको आरोप लगाए ।

ओलीले सिंगो मुलुक निर्वाचनमय भइसकेको अवस्थामा सरकारले स्थानीय तहको संख्या थप्न ११ जिल्लाका स्थानीय विकास अधिकारीहरुलाई परिपत्र गरेर घातक काम गरेको बताए । अध्यक्ष ओलीले एमाले निर्वाचनका लागि पूर्ण रुपमा तयार रहेको भन्दै दोस्रो चरणको निर्वाचन जेठ ३१ मा हुन नसक्ने जिकिर गरे ।
 

यो सरकार आतंककारी
ओलीले भने, ‘म मरे पनि निर्वाचन गर्छु भन्नेहरुले नै अहिले निर्वाचन विथोल्ने षडयन्त्र गरिरहेका छन् ।’ त्यतिबेला नै हामीलाई शंका लागेको थियो । किन यस्तो चर्को स्वर आयो भनेर,’ ओलीले थपे,  ‘अहिले त्यो विस्तारै खुल्दै गएको छ । सीमा हेरफेर गर्ने, स्थानीय निकाय नै हेरफेर गर्ने धादलीपूर्ण र वदनियतपूर्ण कदमहरु चालिन थालेका छन् ।’

यस्तै, ओलीले निर्वाचन मिति घोषणा भएपिछि रातीराती विजुलीका पोल बाँड्ने, प्रहरीभित्र आतंक मच्याउने काम भएको पनि आरोप लगाए । ‘डीआइजीलाई घरमै लगेर अपहरण गरिन्छ,’ उनले भने, ‘मैले प्रधानमन्त्रीलाई सोध्दा अपहरण गरेको होइन भन्छन् । यो आतंक सिर्जना गर्ने काम हो । जीआइजीलाई यसो गरिन्छ भने देशको अवस्था कस्तो छ भनेर भन्न सकिन्छ ?’

मुस्लिमहरुतिर कुरा तान्दै ओलीले भने, ‘रमजानको बीचमा दोस्रो निर्वाचनको घोषणा गरिएको छ । धार्मिक आस्थामा पानी पनि खान नमिल्ने अवस्थामा कसरी निर्वाचनको प्रचारमा हिड्छन् ?’ उनले थपे, ‘मैले त्यो प्रस्ताव पाँच दलको बैठकमा राख्दा काँग्रेस सभापति शेरबहादुर देउवाले जानुहोस न प्रचार गर्नुहोस भनेर हल्का रुपमा लिए ।’

सरकार जेठ १५ मा लोकप्रिय बजेट ल्याउने र १५ दिन प्रचार गर्ने अनि निर्वाचनमा जाने तयारीमा रहेको आरोप समेत ओलीले लगाए ।

‘अहिले काँग्रेसले ल्याएको घोषणापत्रमा वृद्धभत्ता पनि काँग्रेसले दिएको भनेको छ,’ ओलीले भने, ‘यस्ता हावादारी कुराको हामीले भण्डाफोर गर्नुपर्छ ।’
 

नवराज सिलवालको बचाउ
एमाले अध्यक्ष ओलीले विवादमा आएका प्रहरी नायव महानिरीक्षक डीआईजी नवराज सिलवालको बचाउ गरेका छन् ।

ओलीले डीआईजीहरुको कार्यसम्पादन मूल्यांकन रिपोर्टमा नवराज सिलवालले नभई सरकारले कीर्ते गरेको आरोप लगाए । सिलवालले अदालतमा पेश गरेको कार्यसम्पादन मूल्यांकन सही भएको जिकिर गर्दै ओलीले भने, ‘कहाँबाट प्राप्त भयो त्यो बग्लै कुरा हो । कसरी लिकेज भयो, त्यो सरकारले छानविन गरोस् ।’
उनले अगाडि भने, ‘यो सरकार धाँदलीबाज हो, कीर्ते हो । फटाह हो । यसको प्रमाण हो त्यो । किनभने नवराज सिलवालले अदालतमा पेश गरेको र त्यसपछि सरकारले नवराजको त्यो चाहिँ होइन, यो चाहिँ हो भनेर पेश गरेको उही छ ।’

सरकारमा बसेर घटिया काम गरेको भन्दै  ओलीले भने, ‘डीआईजीलाई ज्यानमा खतरा छ भन्न सक्छ भने त्यो भन्दा तल के होला ?’ वहालवाला डीआईजीलाई विना पक्राउ पुर्जी गैरकानुनी रुपमा पत्रलाउ गरिएको भन्दै ओलीले सरकारमाथि प्रहरीमार्फत आतंक सिर्जना गरेको आरोप लगाए । ओलीले भने, ‘डीआईजीलाई चियापानीसम्म खान नदिएर थुनियो । सरकारी दस्तावेजलाई हेरफेर गर्ने तमासा देखाइरहेको छ, यो सरकार । हामी कुनै अलमलतमा पर्नु हुँदैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ