arrow

बुटवल पावरको लापरवाहीले स्याङ्जामा लोडसेडिङ, स्थानीय हैरान

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ वैशाख १५ शुक्रबार
BPC_transmition_line.jpg

स्याङ्जा । नेपालमै धेरै विद्युत उत्पादन गर्ने जिल्ला स्याङ्जा भएर पनि लोडसेडिङ्को मार खेप्न बाध्य भएका छन् । पानीको सहत कम भएर लोडसेडिङ भएको होइन बुटवल पावर कम्पनी(विपिसि)को लापरवाहीका कारण लोडसेडिङ भोग्न सर्वसाधरण बाध्य भएका हुन् । 

 

गएको आर्थिक बर्ष २०७२÷०७३ साउनदेखि लागु हुने गरी विद्युत महशुलमा भारी बृद्धि गरेपछि रुष्ट बन्दै आएका सर्वसाधरण फेरि लोडसेडिङ्को मारमा परेका छन् । लामो समय विद्युत महशुल घटाउनुपर्ने माग राख्दै आन्दोलन गरेका सर्वसाधारणले विपिसिले महशुलमा थोरै पैसा घटाएर आन्दोलन फिर्ता लिएको ४ महिना नबित्तै फेरि लोडसेडिङ्को मार खेप्न बाध्य भएका छन् । दुईहप्तादेखि वालिङका केही क्षेत्र, छाङ्छाङ्दी, भीरकोट र स्वरेकको केही भागका जनता दिनको ४ घण्टा देखि ६ घण्टा सम्म लोडसेडिङ खेप्न बाध्य भएका हुन् । 

 

रातको समय मात्र विद्युत सेवा प्रवाह गर्दै आएको विपिसिले वालिङ स्थित कालिमाटीमा रहेको सवस्टेसनबाट सप्लाई हुने केही ठाँउमा समस्या आएको जनाएको छ । विद्युत अवरुद्ध हुदा सरकारी काम देखि बैकिङ सेवा, उद्योग कलकारखाना तथा विद्यालयमा सेवा प्रवाहामा समेत समस्या भएको छ । वालिङ ८ मा सबै सरकारी कार्यालय रहेको र बैकिङ सेवा रहेको ठाँउमा दिनभरी जसो विद्युत अवरुद्ध भएपछि सेवालिन आएका सेवाग्राहीलाई समेत हैरानी भएको छ । 

 

बुटवल पावर कम्पनी वालिङ शाखाका प्रमुख याम समशेर रेग्मीका अनुसार अझै यो समस्या एक साता झेल्नु पर्ने बताएका छन् । वालिङमा रहेको सव स्टेशनबाट प्रसारण भएको लाईनका ट्रान्सफर्मर जलेकाले यसको मर्मतमा लागेका छौं रेग्मीले भने । एकैपटक पाँच ओटा ट्रान्सफर्मर जले रेग्मीले भने,“नयाँ उपकरण समयमानै आइनपुग्दा अझै एक साता समस्या झेल्नु पर्ने हुन्छ ।” नयाँ ट्रान्सफर्मर काठमाण्डौ आइपुगेकोले केही दिन भित्र यसको सुचारु हुने उनले भने ।

 

मिर्दिको सवस्टेशन बाट सुर्कौदी, तल्लो वालिङ, आमडाली, वालिङ मोड, छाङ्छाङ्दी, वानेथोक लगायतका ठाँउहरुमा विद्युतको लोडसेडिङ हुदै आएको छ । प्राविधिक कारण र हुरीबतासका कारण ट्रान्सफर्मरमा आएको समस्याले सेवाग्राहीमा असुविधा भएको प्रति विपिसि गम्भिर भएर लागेको कार्यलयले जनाएको छ । करिव एक हप्ता सम्मपर्न जाने असुविधा प्रति विपिसले क्षमा समेत मागेको छ । यता सर्वसाधरणले भने विना सुचना विद्युत अवरुद्ध गर्दा आक्रोशित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ