arrow

चुनावको ‘सुरक्षा’ले सरकार र ठूला दल आतंकित

प्रहरी भन्छ–घुसपैठको कुनै जानकारी आएको छैन

logo
प्रकाशित २०७४ वैशाख १५ शुक्रबार
Mahila-myadi-prahari-toli-duty.jpeg

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताले सरकार र ठूला राजनीतिक दलले आफुहरुबारे अनर्गल प्रचार गरेर द्वन्द्व बढाउन खोजेको बताएका छन् ।

नेकपाका नेता धर्मेन्द्र बास्तोलाले हाम्राकुरासँग भने, ‘सरकार र ठूला राजनीतिक दलहरुले विप्लव नेतृत्वको नेकपाले म्यादी प्रहरी भर्नाका बेला घुसपैठ गरेको भन्दै अनर्गल प्रचार गरिरहेका छन् । यो द्वन्द्व बढाउने खेल हो । हामीले पनि बुझेका छौँ द्वन्द्व अहिलेको आवश्यकता होइन ।’   

गृहमन्त्रालयले विप्लव नेतृत्वको नेकपा र मधेसी मोर्चाका कार्यकर्ताको घुसपैठ भएको भन्दै त्यसमाथि नै कडा निगरानी गर्न थालेको बताइँदै छ ।

बास्तोलाले भने, ‘ कि सरकार आतंकित भइरहेको छ, कि राजनीतिक दलहरु । यो डर र अनर्गल प्रचार हो ।’ तपाईहरुले शंकास्पद गतिविधि किन गरी राख्या त ? जवाफमा उनले भने, ‘हामीले कुनै शंकास्पद गतिविधि गरेका छैनौँ । पोलिटिकल एक्पोज गर्ने भनेका छौँ । चुनाव खारेजी हाम्रो मूख्य लाइन हो । हामीले चुनाव खारेज गरिसकेका छौँ ।’

आफुहरुले अहिले चुनाव हुन लागेका स्थानीय तहमा समानान्तर सरकार गठन गर्ने अभियान सुरु गरेको बास्तोलाले बताए । उनले अगाडि थपे, ‘समानान्तर सरकार अहिले पनि गठन भइरहेका छन् । भोलि चुनाव भएपछि पनि हुन्छ ।’ स्थानीय तहका उम्मेदवारलाई उठाएर लैजाने भन्ने विषय पनि प्रचार गरिएको बास्तोलाको भनाई छ ।

स्थानीय तहको निर्वाचन सुरक्षाका लागि भर्ना भएका म्यादी प्रहरीमा निर्वाचन विरोधीको घुसपैठ भएको हुन सक्ने भन्दै म्यादी प्रहरीमाथि कडा निगरानी गर्न थालिएको अधिकारीहरुको भनाई छ ।

म्यादी प्रहरीमा चुनावविरोधी राजनीतिक दलका कार्यकर्ताको घुसपैठ भएको सूचना पाएपछि उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले म्यादी प्रहरीका गतिविधि नजिकबाट निगरानी गर्न सुरक्षा निकायलाई निर्देशन दिएको बताइएको छ ।

यद्यपि, नेपाल प्रहरीका प्रवक्ता एवं एसएसपी सर्वेन्द्र खनालले प्रहरीले गृहमन्त्रालयमा त्यस्तो रिपोर्टिङ नगरेको र गृहमन्त्रालयले कुनै निर्देशन दिएको छैन, भने । उनले भने, ‘गृहको प्रवक्ता र म अहिले सँगै छलफल गरिरहेका छौँ । त्यस्तो कुनै निर्देशन वा जानकारी आएको छैन ।’ यद्यपि, सरकारले सुरक्षा सर्तकताका लागि कडा निर्देशन दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ