arrow

एमालेद्वारा सिरहा नपा र गाउँपालिकामा उम्मेदवार सिफारिस

logo
प्रकाशित २०७४ वैशाख १५ शुक्रबार

लहान। स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले)ले सिरहाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । सप्तरीको मलेठमा गत फागुन २३ गते भएको झडपपछि सिरहामा अन्य दल जस्तो निर्वाचनको तयारी गर्न नपाएको एमालेले आफ्ना दलका तर्फबाट हुने उम्मेदवारको नाम सिफारिस गर्न सुरु गरेको छ । पार्टीले आफ्नो तल्लो कमिटीलाई सम्भावित उम्मेदवारको नाम सिफारिस गर्न दिएको निर्देशनबमोजिम उम्मेदवारको नाम जिल्ला कमिटीमा आउन थालेको एमाले सिरहाका अध्यक्ष प्रमोद यादवले जानकारी दिए । 

 

नेकपा (माओवादी केन्द्र)बाट केही साताअघि मात्र पार्टी प्रवेश गर्नुभएका मुनि साहलाई लहान नगरपालिका प्रमुखमा उम्मेद्वार सिफारिस गरिएको एमाले सिरहाका सचिव योगेन्द्रप्रसाद सिंहले जानकारी दिए । एमालेले धनगढीमाई नगरपालिका प्रमुखका लागि उत्तरबहादुर जर्घा मगर, शिवशङ्कर महतो र भगलु महतोको नाम सिफारिस गरेको छ । 

 

यस्तै सिरहाकै गोलबजार नगरपालिका प्रमुखका लागि योगेन्द्रप्रसाद सिंह, धर्मनाथ महतो र श्याम श्रेष्ठको नाम सिफारिस भएको एमालेका नेताले बताएका छन् । त्यसैगरी सुखीपुर नगरपालिका प्रमुखका लागि रामऔतार यादव र कल्याणपुर नगरपालिका प्रमुखका लागि रामपुकार साहको नाम सिफारिस भएको पार्टी सचिव सिंहले जानकारी दिए । सिरहा नपामा पार्टीका जिल्ला अध्यक्ष प्रमोदकुमार यादवको नाम चर्चामा रहे पनि अझै टुङ्गो लाग्न नसकेको बताइएको छ । 

 

त्यस्तै भगवानपुर गाउँपालिकाको अध्यक्षमा एमालेले उग्रनारायण यादव र उपाध्यक्षमा शीला यादवको नाम सिफारिस गरिएको छ भन्ने नवराजपुर गाउँपालिकामा अध्यक्षका लागि सुरेन्द्र यादव र उपाध्यक्षमा सङ्गीता यादवलाई सिफारिस गरिएको छ । 

 

यसैगरी लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्षका लागि देवनारायण साह र उपाध्यक्षका लागि गीता चौधरी, नरहा गाउँपालिका अध्यक्षका लागि रामशरण यादव र उपाध्यक्षमा गुलाबदेवी चौधरीलाई सिफारिस गरिएको एमाले सिरहाले जनाएको छ । 

 

कर्जन्हा गाउँपालिका अध्यक्षमा रामदयाल महतो र उपाध्यक्षमा अन्जु राईलाई उम्मेद्वार बनाउने तथा विष्णुपुर गाउँपालिका अध्यक्षमा सत्यनारायण यादव र उपाध्यक्षमा ममता सिंहलाई सिफारिस गरिएको एमाले सिरहाले जनाएको छ । 

 

अन्य बाँकी गाउँपालिकाबाट पनि उम्मेदवारको नाम आउनेक्रम जारी रहेको पार्टी सचिव सिंहले बताए। वडा, गाउँपालिका र नगरपालिकाबाट आएको उम्मेदवारको सिफारिस जिल्ला कमिटीले सुझावसहित प्रदेश कमिटीमा पठाउने र प्रदेश कमिटीले त्यसको अन्तिम निर्णय गर्ने प्रावधान रहेको जनाइएको छ । सात नगरपालिका र १० गाउँपालिका रहेको सिरहामा तीन लाख ३१ हजार पाँच सय ९६ मतदाता छन् । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ