arrow

सत्तारुढ दलका शीर्ष नेताबीच छलफल

logo
प्रकाशित २०७४ वैशाख १६ शनिबार
baluwatar_baithak_news.jpg

काठमाडौँ। स्थानीय तहको निर्वाचन र संविधान संशोधन लगायतका विषयमा प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताबीच छलफल भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ भएको छलफलमा व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकका सम्बन्धमा सरकारमा रहेका दल र प्रमुख प्रतिपक्षी दलबीचमा भएको छलफल र बदलिँदो परिस्थितिका बारेमा कुराकानी भएको थियो । 

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै पक्षसँग भएको छलफल र प्रगतिका बारेमा शीर्ष नेतालाई जानकारी गराएका थिए । शुक्रबार भएको सर्वदलीय बैठक एवम् त्यसपछिका अनौपचारिक एवम् औपचारिक बैठकको प्रगतिका बारेमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । 

संविधान संशोधनका विषयमा सहमति जुटाउने लक्ष्यका साथ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसंग भएको छलफलका बारेमा प्रधानमन्त्री दाहाललाई जानकारी गराएका थिए । 

सबै दललाई विश्वासमा लिएर संविधान संशोधन प्रस्ताव अगाडि बढाउने र स्थानीय तहको निर्वाचन सम्पन्न गराउन सत्तारुढ दल एक भएर अगाडि बढ्ने निष्कर्ष बैठकले निकालेको र बहस तथा छलफललाई थप घनीभूत बनाउन दुवै दल लाग्ने र अरु दललाई समेत विश्वासमा लिने निर्णय भएको छ । 

नेकपा (एमाले) का अध्यक्ष ओलीसँगको छलफललगत्तै भएको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, निर्वाचनको तयारीलगायतका विषयमा कुराकानी भएको थियो । 

बैठकमा प्रधानमन्त्री दाहाल, नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री विमलेन्द्र निधिलगायतको उपस्थिति रहेको थियो । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ