arrow

दीप बस्न्यात अख्तियारको प्रमुख बन्ने, संवैधानिक परिषदबाट नाम सिफारिस

logo
प्रकाशित २०७४ वैशाख १९ मंगलबार
Deep-basnet.jpg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग अदुअआको प्रमुख आयुक्तका लागि कार्यवहाक प्रमुख आयुक्त दीप  बस्न्यातको नाम सिफारिस भएको छ ।

मंगलबार बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख आयुक्ति नियुक्तिका लागि बस्न्यातको नाम सिफारिस गरेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणी खनालले जानकारी दिए ।

निर्वाचनको मनोनयन दर्ता भइरहेकै दिन संवैधानिक परिषद्ले अख्तियारको प्रमुख आयुक्त सिफारिस गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग प्रस्ताव ल्याएको दुई दिन नवित्दै अख्तियार प्रमुखको नियुक्ति प्रक्रिया अघि बढाइएको हो ।

वर्तमान सरकार आएपछि संवैधानिक निकाय र न्यायलयमा उथलपुथल भएको छ । यसअघि माओवादी केन्द्रले एमालेसँग मिलेर तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाभियोग प्रस्ताव ल्याएको थियो । महाभियोग पुष्टी नहुँदै कार्कीलाई सर्वोच्च अदालतले पदमुक्त गरिदिएको थियो ।

लोकमानसिंह कार्कीलाई पदमुक्त गर्ने प्रधानन्यायाधीशलाई माओवादी र काँग्रेस एमालेका सांसदहरुले निलम्बनमा पारिदिए । कार्की निलम्बन भएको दुई दिन नपुग्दै अख्तियारमा प्रमुख नियुक्तिको प्रक्रिया अघि बढेको छ । लोकमानसिंह कार्की पदमुक्त भएपछि बस्न्यातले कार्यवहाक प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए । 

संवैधानिक परिषद्को बैठकमा प्रधानमन्त्री, विपक्षी दलको नेता र प्रधानन्यायाधीश रहने व्यवस्था छ । प्रधानन्यायाधीश कार्की निलम्बनमा परेकाले कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुली बैठकमा उपस्थित भए । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती र उपसभामुख गंगाप्रसाद यादव समेत सहभागि भए । संसदीय सुनुवाईपछि बस्न्यात राष्ट्रपतिबाट नियुक्त हुने छन् ।

आचारसंहिता गोलमाल
स्थानीय तहको निर्वाचनको आचारसंहिता जारी भएकाले संसदले सुनुवाई गर्ने हकमा आचारसंहिता लाग्ने निर्वाचन आयोगको तर्क छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारले संवैधानिक निकायको नियुक्तिमा आचारसंहिता नलाग्नु पर्ने हो, भने । यद्यपि, आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले अनुमति लिएको भए लाग्दैन अनुमति नलिएको भए  लाग्नु पर्ने हो, भनेका छन् । प्रवक्ता शर्माले यसबारे आयुक्तहरुलाई साधेर मात्रै भन्न मिल्ने बताए । संविधान अध्येयताहरुले महाभियोग र नियुक्ति जस्ता निर्णयहरु गर्दा आचारसंहिता लाग्ने बताउँदै आएका छन् ।

को हुन् बस्न्यात ?

दीप बस्न्यात निजामति सेवामा सचिवबाट अवकाश पाएका व्यक्ति हुन् । निजामति सेवामा रहँदा अतिरिक्त लाभ हुने कार्यालय भनेर चिनिएका कार्यालयहरुमा लामै समय बसेका थिए । आफ्नो निजामति सेवाकै अवधिमा बस्न्यात अख्तियारको छानविनमा परेका थिए ।

१३ वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको १५औं वार्षिक प्रतिवेदनमा उल्लेखित भ्रष्टाचारसम्बन्धी केही व्यक्तिका मुद्दा अहिलेसम्म मुल्तवीमा छन्, जसमा अख्तियार प्रमुख लोकमानसिंह कार्की र आयुक्त दीप बस्न्यातको समेत नाम छ ।

नेपाल सरकारले २०५८ सालमा सम्पत्ति न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो । आयोगको सो प्रतिवेदनमा वैध सम्पत्तिभन्दा बढी सम्पत्ति भएकाले छानविन हुनुपर्ने सूचीमा केही उच्च प्रशासकहरुको नाम उल्लेख गरेर सरकारलाई कारवाहीका लागि सिफारिस गरेको थियो ।

सम्पत्ति न्यायिक जाँचबुझ आयोगको प्रतिवेदनमा वैध सम्पत्तिभन्दा बढी सम्पत्ति देखिनेहरुको सूचीमा लोकमानसिंह कार्की र दीप बस्न्यातको समेत नाम थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ