arrow

चुनाव लगत्तै प्रचण्डको समर्थनमा देउवा प्रधानमन्त्री 

जेठ १५ गते नै बजेट ल्याउनेगरी गृहकार्य 

logo
प्रकाशित २०७४ वैशाख २० बुधबार
deuba-dahal-dosti-new.jpg.jpeg

काठमाडौं । चुनाव लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको समर्थनमा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री हुने भएका छन् । नेकपा माओबादी केन्द्र तथा नेपाली काँग्रेसका नेताहरुले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा यस्तो दाबी गरेका हुन् । 

 

कार्यक्रममा प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै सहमति अनुसार नै जेठको पहिलो साता काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने स्पष्ट पारे । 

 

सल्लाहकार खनालले स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि पनि अहिलेकै काँग्रेस–माओवादी केन्द्रको वर्तमान गठबन्धन नै कायम रहने विश्वास दिलाए । उनले भने, ‘जेठको पहिलो साता काँग्रेस सभापति देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ, काँग्रेस र माओवादीवीच भएको भद्र सहमति तोडिँदैन् ।’ उनले विगतमा सत्ता समीकरणहरु भद्र सहमतिका कारण तोडिएका थुप्रै उदाहरण भएकोले अहिले त्यस्तो फोहोरी प्रवृत्ति नदाहोरिने स्पष्ट पारे । 

 

उनले प्रचण्ड–देउवावीचको वर्तमान गठबन्धन नतोडिने स्पष्ट पार्दै भने, ‘हामीबीच भएको सहमति अनुसार स्थानीय तहको बैशाख ३१ गतेको पहिलो चरणको निर्वाचन लगत्तै देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ, ढुक्क भएहुन्छ।’ उनले बजेट र अर्को चुनावको तालमेल कसरी मिलाउने भन्नेबारेमा गम्भीर छलफल भैरहेकोले सहमति अनुसार नै यसमा निर्णय लिईने बताए । खनालले जेठ १५ गते नै बजेट ल्याउनेगरी सरकारले गृहकार्य थालेको समेत जनाए । 

 

खनालले सरकारले परिमार्जनसहित संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावलाई पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै सहमतिमा नै पारित गराउन गृहकार्य गरिरहेकोले संशोधन प्रस्ताव पारित हुने विश्वास दिलाए । उनले भने,‘मधेशलाई पनि विश्वासमा लिएर जानुपर्छ, यो पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि दुई वटा चुनावको मिति पनि चाँडै अब बन्ने सरकारले घोषणा गर्छ।’ उनले यही ०७४ माघ ७ गतेभित्रै तीन तहकै निर्वाचन गर्नुपर्ने भएकोले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने दाबी गरे । उनले भने,‘अब संसदको म्याद थपिँदैन्, माघ ७ गतेभित्रै तीन तहकै निर्वाचन सम्पन्न हुन्छ।’

 

खनालले राप्रपाले सरकार छोड्नुमा पार्टीको आन्तरिक कारण भएको समेत जिकिर गरे । उनले भने,‘सामन्तवाद र राजतन्त्रका अवशेषहरुले राप्रपा फुटाउने भएपछि उहाँ पार्टी एकता जोगाउनको लागि सरकारबाट बाहिरिनुभएको भन्ने कुरा आएको छ, यो हो भने अत्यन्तै स्वागतयोग्य कुरा हो, फेरि पनि उहाँ सरकारमा सहभागी हुन सक्नुहुन्छ।’ उनले पार्टी एकता बलियो बनाएर पूनः काँग्रेस–माओवादी केन्द्रको गठबन्धनमा सहभागी भए कमल थापालाई आफूहरुले जहिलेपनि स्वागत नै गर्ने स्पष्ट पारे । 

 

त्यस्तै खनालले स्थानीय तहको निर्वाचनमा एमालेका सचिव योगेश भट्टराईले ६० प्र्रतिशतभन्दा बढि स्थानमा चुनाव जित्ने दाबी गरेकोप्रति टिप्पणी गर्दै भने,‘हामी पनि कम्बल ओढेर बसेका छैनौं र बस्दैनौं ।’ खनालले नेपालको इतिहासमै पहिलोपटक जनताको अधिकार घरदैलोमा जाने भएकोले स्थानीय तहको निर्वाचनमा जनताको उल्लेखनीय सहभागिता हुने विश्वास व्यक्त गरे । 

 

फरक प्रसँगमा उनले हालै सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रका सांसदहरुले प्रधानन्यायाधिश सुशिला कार्कीविरुद्ध दर्ता गराएको महाअभियोग प्रस्ताव स्वाभाविक प्रक्रिया भएको टिप्पणी गरे । उनले भने,‘व्यवस्थापिका संसदले आफ्नो अधिकार प्रयोग गरेको हो, व्यक्ति महत्वपूर्ण कुरा होईन, व्यक्ति स्वेच्छचारी भएकोले यो स्वभाविक प्रक्रियामा आएको हो, त्यसैले महाअभियोग प्रस्ताव प्रक्रियामा जान्छ।’

 

खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काले स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै काँग्रेस सभापति शेरबहादुर देउवा मुलुकको प्रधानमन्त्री बन्ने स्पष्ट पारेका छन् । उनले भने, ‘पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै जेठको पहिलो हप्ताभित्रै हाम्रो पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ, अहिलेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको समर्थनमा देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ ।’
मन्त्री खड्काले सरकारले संसदमा दर्ता गराएको परिमार्जनसहितको संशोधन प्रस्तावलाई पारित गराएरै छाड्ने उद्धघोष गरे । उनले भने, ‘मधेशको मुद्दा सम्बोधन गरेर नै जानुपर्छ, संशोधन प्रस्ताव पारित हुन्छ, सरकारको पूर्ण प्रयत्न नै यसमा छ ।’

 

खड्काले स्थानीय तहको निर्वाचन २० वर्षपछि हुन गैरहेकोले सरकारले स्वच्छ र निर्भिक वातावरणमा चुनाव गराउने बताउँदै भने, ‘यो सरकार निर्वाचन गराउन सक्षम छ, शंका गर्नुहुँदैन्, निर्वाचनमा भाग लिनको लागि म सम्पूर्ण नेपाली दिदिबहिनी तथा दाजुभाइहरुलाई आग्रह गर्दछु ।’ 
उनले स्थानीय तहको निर्वाचनमा ठूला महानगरपालिकामा एमाले र राप्रपाले तालमेल गरेको विषयमा टिप्प्णी गर्दै भने,‘उहाँहरुले तालमेल त गर्नुभयो, तर खोई त महिला उम्मेद्धवार ?’ उनले एमाले–राप्रपा तालमेललाई सत्तामा पुग्नको लागि संख्या बढाउने खेलको संज्ञा दिए । 

 

उनले राप्रपा वर्तमान सरकारबाट बाहिरिनुको प्रमुख कारण नै राप्रपाभित्रको समस्या भएको जिकिर गरे । मन्त्री खड्काले भने,‘तपाईहरुलाई थाहा नै छ, राप्रपाका सांसदहरु हराएका खबरहरु बाहिर आएका थिए, राप्रपा फुटाउन पूर्वराजा नै सक्रिय भएको कुरा पनि हामीले गाँईगुँई सुन्यौं, त्यसैले आन्तरिक कुरा जे जे भएपनि राप्रपालेपनि चुनावमा भाग लिन्छ।’ राप्रपाले छोड्दैमा सरकारमा भुईँचालो भयो भन्ने कुरामा कुनै सत्यता नभएको समेत स्पष्ट पारे । 

 

उनले मुलुकको परिवर्तन र अग्रगामी विकासमा काँग्रेस, माओवादी केन्द्र र मधेशवादी दलहरुको ठूलो योगदान रहेकोले आगामी दिनमा पनि तालमेल गरेर नै अघि बढ्नुपर्नेमा जोड दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ