arrow

अँग्रेजी माध्यमबाट पढाउँदैमा शिक्षाको गुणस्तर नसुध्रने निष्कर्ष

logo
र्इश्वरदत्त बडू,
प्रकाशित २०७४ वैशाख २० बुधबार
English_medium.jpg

कञ्चनपुर । कुनैपनि विद्यालयले अँग्रेजी माध्यमबाट पढायो भन्दैमा त्यो विद्यालयले गुणस्तरीय शिक्षा दिएको मान्न नहुने निष्कर्ष शिक्षा क्षेत्रका सरोकारवालाहरुले निकालेका छन् । उनीहरुले जिल्लाको शैक्षिक स्थिती खस्किँदै जानुमा जिल्ला शिक्षा कार्यालय नै मूल दोषी रहेको आरोप पनि लगाएका छन् । कञ्चनपुरमा मंगलबार जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले आयोजना गरेको शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवालाबीचको अन्तक्रिया कार्यक्रमका सहभागीहरुले उक्त कुरा बताएका हुन् ।


यसैगरी, अन्तक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले कञ्चनपुरमा शिक्षा क्षेत्रमा धेरै समस्या देखिनुमा शिक्षा कार्यालयको चरम लापरवाही रहेको बताउँदै समस्या समाधानमा जिल्ला शिक्षा कार्यालयले नै बढी ध्यान दिनुपर्ने कुरा औल्याएका छन् । 


कार्यक्रममा बोल्ने अधिकांश वक्ताले सामुदायिक विद्यालयले विभिन्न बहानामा शुल्क लिइरहेको भन्दै त्यसतर्फ विशेष ध्यान दिन शिक्षा कार्यालयलाई सुझाव दिएका छन् । यस्तै निजी विद्यालयहरुले चर्को शुल्क असुल्ने गरेपनि शैक्षिक विकासमा लगानी गर्नुका साटो व्यापारिक उद्देश्यबाट प्रेरित हुने भएकाले शिक्षाको गुणस्तर खस्कन गएको सहभागीको भनाइ छ ।

 

कार्यक्रममा बोल्दै शिक्षक नन्द रोकायाले सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाइदैमा शिक्षाको गुणस्तर नउकासिने बताए । ‘अंग्रेजी माध्यममा पढाइदैमा शिक्षाको गुणस्तर उकासिदैन, के हाम्रा बालबालिका अरु विषयमा सक्षम छन् त, यस बारेमा सोच्नु जरुरी छ’, उनले भने– ‘यो एउटा भ्रभमात्रै हो ।’ यस्तै जनज्योति माध्यमिक विद्यालय कलकत्ताका प्रधानाध्यापक टेकराज अवस्थीले शिक्षा कार्यालयले जनशक्ति ख्याल नगरी तह थप्दा शिक्षाको गुणस्तरमा सुधार गर्न नसकिएको बताए  । 


कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य विष्णु जोशीले कञ्चनपुरमा शैक्षिक क्षेत्रमा थुप्रै समस्या रहेकाले त्यसतर्फ जिल्ला शिक्षा कार्यालयले चासो नदेखाएको आरोप  लगाए । उनले कञ्चनपुरका सामुदायिक विद्यालयले विभिन्न बहानामा शुल्क लिइरहेको भए पनि शिक्षा कार्यालयले त्यस्ता विद्यालयलाई कारवाही नगरेको गुनासो गरेका छन् । ‘सामुदायिक विद्यालयले विभिन्न बहानामा शुल्क असुल्ने गरेका छन्, शिक्षा कार्यालयले त्यस्ता विद्यालयलाई कारवाही गर्न ससक्दा गरि किसानहरु मर्कामा परेका छन्’, उनले भने– ‘सरकारी विद्यालयका शिक्षकले अध्यापनभन्दा पनि राजनीतिमा बढी ध्यान दिएका छन् त निजी विद्यालयले शिक्षाको नाममा व्यापार गरिरहेका छन्, यस्तो अवस्थामा  कसरी शिक्षामा गुण्स्तर आउन सक्छ ।’ 


यस्तै अखिल क्रान्तिकारीका अध्यक्ष बिरेन्द्रराज विष्टले कञ्चनपुरमा मापदण्ड विपरीत निजी शैक्षिक संस्था खोलिएको बताए । ‘कुखुरा फर्म खोल्न पनि मापदण्ड चाहिन्छ तर यहाँ त विद्यालय जस्तो जनसरोकारको विषयमा समेत मापदण्ड पूरा गरेनगरेको अनुगमन नै नगरी अनुमती दिइन्छ’, उनले भने– ‘सरकारी विद्यालयका शिक्षक निजी विद्यालयको मालिक बन्दा झन समस्या उत्पन्न भएको छ ।’


यस्तै कार्यक्रममा अनेरास्ववीयु नेता गणेश ऐरीले समग्र शैक्षिक अवस्थाको अनुगमन गरेर प्रतिवेदन जिल्ला शिक्षा कार्यालयलाई बुझाएको भए पनि कार्यान्वयन नभएको  बताए । उनले शिक्षा कार्यालयले उक्त प्रतिवेदनलाई थन्क्याएर राखेको आरोप लगाएका छन् । उनले जिल्लामा शिक्षा नियमावलीको कडाईका साथ लागु नहुदा अहिले शिक्षा क्षेत्रमा समस्या देखिएको बताए । 


कञ्चनपुरका जिल्ला शिक्षा अधिकारी अमर प्रसाद भट्टले भने अन्तक्रियामा उठेका जिज्ञासाहरुको सम्बोधन गर्ने बताए । गत विहिबार कञ्चनपुरका क्रियाशिल विद्यार्थी सङ्गठनले निजी तथा आवासीय विद्यालयहरुले गरेको शुल्क बृद्धिको विरोधमा जिल्ला सदरमुकाम महेन्द्रनगरमा रहेका प्रमुख १ दर्जन विद्यालयहरुमा तालाबन्दी गरेका थिए । 


निजी तथा आवासीय विद्यालयहरुले मनोमानी रुपमा बढाइएको मासिक शुल्क घटाइनेपर्ने, एउटै विद्यालयमा अध्ययनरत विद्यार्थीबाट वर्षेनी लिइने भर्ना शुल्क खारेज गरिनुपर्ने, वैज्ञानिक शुल्क निर्धारण गर, निजी विद्यालयको अनुगमन गरिनुपर्ने, विद्यार्थीको सर्वाङ्गीण विकासमा उठाइने शुल्क खर्च गरिनुपर्ने जस्ता माग राखी तालाबन्दी गरेका थिए । सोही कुराको समाधानका लागि विद्यार्थी संगठनहरुसँग गरिएको सम्झौता अनुसार अन्तरक्रिया गरिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ