arrow

रोल्पामा पूर्ण सरसफाइ अभियानको थालनी

logo
प्रकाशित २०७२ पुष १६ बिहिबार
sarsafai.jpg.jpeg

रोल्पा । यही पुस ९ गते रोल्पा जिल्ला खुला दिसामुक्त घोषणा भए लगत्तै जिल्लामा पूर्ण सरसफाइको अभियान थालनी भएको छ ।  जिल्ला खुला दिसामुक्त घोषणा भएपछि सरसफाइ तथा स्वच्छता सम्बन्धी गतिविधिहरु अगाडि बढाउनका लागि जिल्ला विकास समितिले बिभिन्न सूचकहरु मार्फत जिल्लामा पूर्ण सरसफाइको अभियान संचालन गर्न लागेको हो ।

एक घर एक चर्पी रोल्पाबासीको सान, पूर्ण सरसफाइयुक्त जिल्ला हाम्रो पहिचान भन्ने जिल्लाको सरसफाइको नारालाई सार्थकता दिन चर्पीको नियमित प्रयोग, साबुन पानीले हातधुने, पानीको सुद्धीकरण, भान्छाकोठाको व्यवस्थापन, घर आँगनको सरसफाइ र वातावरणीय सरसफाइ जस्ता गतिविधि संचालन गरी जिल्लाका नगरपालिका र गाविसहरुमा पूर्ण सरसफाइका गतिविधिहरु संचालन गरिने भएको छ । जिल्लाको मुटु मानिएको नगरपालिकाको बजार क्षेत्रमा फोहोर मैलालाई व्यवस्थित गर्न लिबाङ नगरपालिकाले बिभिन्न टोलहरुमा डस्टवीनहरु राखी फोहोरमैला व्यवस्थित गर्न मंगलबार टोल विकास संस्थाहरु मार्फत डस्टविन वितरण गरेको छ ।

घरायसी फोहोरमैलालाई आआफ्नै घरहरुमा व्यवस्थापन गर्ने र नगरपालिकाले विहिबार र शुक्रबार फोहोर संकलन गरी त्यसलाई व्यवस्थापन गर्ने काम नियमित रुपमा हुँदै आएकोमा आगन्तुकहरुले फोहोर विसर्जन गर्नका लागि टोलटोलमा नगरपालिकाले प्रदान गरेको डस्टविन प्रयोग गरिने भएको हो । मंगलबार नगरपालिकाको समन्वयमा विभिन्न ठाउँहरुमा स्थानीय विकास अधिकारी गेहेन्द्रबहादुर डाँगीको उपस्थितिमा डस्टबीन वितरण गरिएको हो ।

नगरपालिकाका कार्यकारी अधिकृत निमबहादुर केसी र नगर व्यवस्थापन समितिका संयोजक फविन्द्र आचार्य सहितको एक टोलीले डस्टवीन वितरण गर्दै आगन्तुकहरुका लागि व्यवस्था गरिएको डस्टवीनमा फोहोर संकलन गर्न अनुरोध गरिएको छ । नगर सफा गर्नु सबैको दायित्व भएकोले वितरण गरिएका डस्टविनहरुको उचित सदुपयोग गर्न नगरपालिकाले सबै नगरबासीहरुमा अनुरोध समेत गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ