arrow

राजीनामा दिएर पनि कसरी फेरि फर्किए निधि, यस्तो छ कारण

logo
प्रकाशित २०७४ वैशाख २२ शुक्रबार
bimalendra-nidhi.png

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहपछि विमलेन्द्र निधिले उपप्रधानमन्त्री एवं गृहमन्त्रीबाट दिएको राजीनामा फिर्ता गरेका छन् ।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउँदा आफूसँग छलफल नभएको भन्दै निधिले १७ वैशाखमा राजीनामा दिएका थिए । 

तर, निधि भड्किँदा पार्टीभित्रको समीकरण, मधेसी मोर्चासँग सहमतिको प्रयास र भावी सरकार बन्ने प्रक्रियामै असर पुग्ने आन्तरिक मूल्यांकनपछि देउवाले निधिलाई फिर्ता गरेका हुन् ।

आफ्ना दूतको प्रयासपछि आफैँ र प्रधानमन्त्रीसहित बिहीबार बालुवाटारमा छलफल गरेपछि देउवाले निधिलाई उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा पुनः फर्काएका हुन् ।

निधिले पदबाट राजीनामा दिए पनि प्रधानमन्त्रीले स्वीकृत गरेका थिएनन् । संविधान संशोधनमा अझै निधिको सक्रियता खाँचो रहेको र निर्वाचनको मुखैमा गृहमन्त्री फेर्दा अव्यावहारिक हुने निष्कर्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र देउवा पुगेपछि उनलाई फर्काइएको हो ।

निधिले बिहीबारदेखि पुरानै पदमा फर्किएको उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

यसरी बिग्रँदै गयो देउवा–निधि सम्बन्ध

प्रहरी महानिरीक्षकमा पार्टी सभापति शेरबहादुर देउवाले डिआइजी जयबहादुर चन्दलाई बनाउन खोजे पनि गृहमन्त्री विमलेन्द्र निधि भने नवराज सिलवालको पक्षमा थिए । 

देउवाको अडानपछि निधिको केही लागेन । सरकारले चन्दलाई नै आइजिपीमा नियुक्त गर्यो । 

तर, पछि सर्वोच्च अदालतले रोकिदियो । सरकारले अर्का डिआइजी प्रकाश अर्याललाई आइजिपी नियुक्त गर्‍यो ।

यसैगरी, सरकारमा उपप्रधानमन्त्रीको पहिलो वरीयता नपाएपछि निधि झन् बिच्किए । 

जसले गर्दा उनले दुईवटा मन्त्रिपरिषद् बैठक बहिष्कार गरे । यसबीचमा पार्टीभित्र पर्याप्त छलफल नगरी प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएपछि निधि देउवासँग झन् भड्किए । 

आफैं मातहतको आइजिपीको विषयलाई देखाउँदै महाअभियोग लगाए पनि आफूलाई थाहा नदिएको भन्दै निधिले चार दिनअघि राजीनामा दिएका थिए ।

आफ्नो क्याम्पमा चिन्ता छाएपछि नरम भए देउवा

निधिले राजीनामा दिएपछि देउवालाई मात्र होइन, उनको क्याम्पमा निकै चिन्ता छायो । १३औं महाधिवेशनमा कोइरालाहरूको वर्षौको विरासत तोडे पनि अहिले असन्तुष्टि बढे आफ्नो पक्ष थप कमजोर हुने निष्कर्षमा पुगेपछि देउवा निधिप्रति लचक भएका हुन् । 

प्रधानन्याायधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्तापछि राजीनामा दिने मनस्थिति बनाएर प्रधानमन्त्रीलाई जानकारी गराएलगत्तै देउवाले निधिलाई फोन गर्न खोजेका थिए, तर उनले कुरा गर्नै चाहेनन् ।

 ‘पार्टी सभापति देउवाका पिए भानुले फोन गरेर सभापतिले कुरा गर्न चाहेको बताएका थिए, तर, निधिले म अहिले सभापतिसँग कुरा गर्दिनँ, आवश्यक छैन,’ निधिको भनाइ उधृ गर्दै उनी निकट स्रोतले भन्यो । 

त्यसपछि दुई दिनसम्म निधिसँग देउवाको संवाद हुन सकेन । त्यसपछि केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद र प्रदीप गिरीले मिलाउने प्रयास गरेको स्रोत बताउँछ ।

देउवाको तर्फबाट नेता साउद बुधबार निधिलाई भेट्न मन्त्रीक्वार्टर पुल्चोक पुगेका थिए । त्यहाँ उनले एक घन्टाभन्दा बढी छलफल गरेका थिए ।

त्यसपछि देउवा र निधिबीच टेलिफोनमा कुरा भएको स्रोत बताउँछ । सोही टेलिफोन वार्तापछि उनीहरूले बुधबार साँझ पार्टी कार्यालय सानेपामा भेटेर अब एक अर्कालाई सहयोग गरेर जाने निर्णय गरेका थिए । 

असमझदारी बढ्दै जाँदा दुवैलाई फाइदाभन्दा बेफाइदा हात लाग्ने आफ्नो पक्षका नेताहरूको रिपोर्टिङपछि देउवाले निधिलाई मिलाएर अगाडि जाने निधो गरेका हुन् ।

‘सामान्य कुरामा भित्तामा पुर्‍याए चुप लागेर बस्दिनँ’

नेता साउदसँगको भेटमा निधि कडा रूपमा प्रस्तुत भएका थिए । ‘देउवाजीलाई नेविसंघको अध्यक्ष बनाउने बेलादेखि गिरिजाप्रसादको अगाडि कसैले बोल्न नसक्ने समयसम्म साथ दिंदै आएँ,’ निधिको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘तर अहिले आएर सामान्य कुरामा भित्तामा पुर्‍याउने र अपमान गरिन्छ भने म पनि चुप लागेर बस्दिनँ ।’

ओली नेतृत्वको सरकारबाट माओवादीलाई अलग्याएर निधिकै पहलमा प्रचण्ड नेतृत्वको सरकार गठन भएको थियो । प्रचण्डपछि प्रधानमन्त्री बन्ने यसअघिको सहमति भएकाले देउवाले पुनः निधिलाई भड्काउन नचाहेको स्रोत बताउँछ ।

 ‘निधिलाई भड्काउँदा आफूलाई प्रधानमन्त्री बन्न गाह्रो पर्ने बुझाईमा सभापति पुग्नु भएपछि नेताहरू नै खटाएर उहाँलाई मनाएको देखिन्छ,’ देउवा निकट स्रोत भन्छ ।

देउवा–निधि सम्बन्धलाई पुनर्स्थापित गर्न खटिएका नेता एनपी साउदले केही नेताले सहजीकरण मात्रै गरेको बताए । ‘दुवै राजनीतिमा घनिष्ठ नेता हुन् । उहाँहरूको आफ्नै सम्बन्ध छ,’ साउदले भने, ‘केही साथीहरूले सहजीकरण गर्ने काम गर्नुभएको हो । यसमा दुवैले चित्त बुझाउनुभयो । अरु केही भएको छैन ।’

उपसभापतिको आवश्वासन र वरीयता

सभापति देउवाले अब आफू प्रधानमन्त्री बनेपछि निधिलाई उपसभापति बनाउने आश्वासन दिएका छन् । उपसभापति पाउने र पहिलेको जस्तो वरीयता विवादमा कमल थापासँग अल्झन नपर्ने भएपछि निधिलाई पुनः यही पदमा फर्कन सहज भएको छ । 

राप्रपाले प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि सरकारबाट बाहिरिएको घोषणा गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

 ‘आफू प्रधानमन्त्री भएपछि उपसभापति बनाउँछु भनेर सभापतिले वाचा नै गर्नुभएको छ,’ देउवा निकट स्रोतले भन्यो, ‘सरकारबाट कमल थापा फिर्ता भएपछि वरीयताको किचलो पनि अब भएन, यसले थप सजिलो भएको छ ।’

३१ वैशाखको निर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले राजीनामा दिने र ३१ जेठको स्थानीय तहको निर्वाचन आफूले गराउने पक्षमा सभापति देउवा छन् ।

सभापतिसँग सम्बन्ध सुधारपछि राजीनामा फिर्ता

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पार्टी सभापति शेरबहादुर देउवासँग सम्बन्ध सुधार भएपछि राजीनामा फिर्ता लिएको बताएका छन् । 

जनकपुरमा कांग्रेसको जिल्ला कार्यकर्ता भेलालाई बिहीबार सम्बोधन गर्दै उनले प्रहरी महानिरीक्षक नियुक्ति र प्रधानन्यायाधीशविरुद्धको महाअभियोगको विषयलाई लिएर केही मतभिन्ता उत्पन्न भएको बताए ।

 ‘स्थानीय तहको निर्वाचनमा पार्टीलाई सहयोग गर्न राजीनामा दिएको थिएँ, तर सभापतिले गृहमन्त्रीको पद तपाईले नै सम्हालेर चुनाव गराउनुस् भनेपछि राजीनामा फिर्ता लिएँ,’ उनले भने ।

राजीनामा विषयमा सप्तरीदेखि पर्सासम्मका कांग्रेस नेता तथा कार्यकर्ताहरूले आफूलाई सहयोग गरेको उनले बताए । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ