arrow

महन्थलाई उपेन्द्रको झटारो : आफैले आफैलाई गठबन्धनको संयोजक घोषणा गर्नु हास्यास्पद

logo
प्रकाशित २०७४ वैशाख २३ शनिबार
upendra-yadav-600x0.jpg.jpeg

काठमाडौं । उपेन्द्र यादव संयोजक रहेको संघीय गठबन्धनले आफैलाई हटाएको वक्तव्यपछि यादवले स्वघोषित संयोजक बनेको भन्दै महन्थ ठाकुरलाई झटारो हानेका छन् । महन्थ ठाकुरले संघीय गठबन्धनको बैठक बसेर उपेन्द्र यादवलाई कारबाही गरेको भनि निकालेको विज्ञप्तीको जवाफमा यादवले झटारो हानेका हुन् ।

प्रतिक्रियामा उपेन्द्रले भनेका छन्, ‘ गठबन्धनको बैठक नै नबसी राष्ट्रिय जनता पार्टीका नेताहरुले षड्यन्त्रमूलक ढंगले गठबन्धनको नाम दुरुपयोग गरी विज्ञप्ति जारी गरेको देखेर हामी सबैलाई आश्चर्यचकित बनाएको छ । राजपाका कुनै एक नेताले एकल हस्ताक्षर गरी आफैले आफैलाई संयोजक घोषणा गर्नु आफैमा हास्यास्पद छ । उक्त विज्ञप्ति संघीय गठबन्धनको आधिकारिक हुनै सक्दैन ।’

उनले अगाडि भनेका छन्, ‘ठाकुरजीको एउटा विज्ञप्तिले गर्दा सहकर्मी दल र नेताहरुबीचको भावी सम्बन्ध कस्तो हुनेछ अनुमान गर्नु भएको छ ? मधेशका जनताले यसलाई कुन रुपमा लिनेछन् ? राजपाको यस्तो अप्रत्यासित हर्कतसँगै केही प्रश्न पनि जन्मिएका छन् । जसको जवाफ राजपा अध्यक्ष महन्थ ठाकुरले दिन जरुरी छ । गठबन्धनमा आवद्ध घटक दल, प्रादेशिक र जातीय मोर्चालाई खबर नै नगरी राजपा अध्यक्ष ठाकुरले कुन नैतिकताले विज्ञप्ति जारी गरेका हुन् ? आखिर संघीय गठबन्धनको बैठक बोलाउँछ कसले ? राजपा अध्यक्ष ठाकुरलाई गठबन्धनको बैठक बोलाउने अधिकार कसले दियो ? संघीय गठबन्धनको नाममा विज्ञप्ति निकाल्ने अधिकार उनलाई कसले दियो ? पर्दा पछाडि यसभित्र गम्भीर डिजाइनले काम गरेको हाम्रो ठम्याई छ ।’

मोर्चा सम्मिलित संघीय गठबन्धनले गएको वैशाख ९ गते एक महिने आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । तर, वालुवाटारमा सहमति गरेर राजपा नेताहरुले आन्दोलन किन फिर्ता लिए ? आन्दोलन स्थगित गरेर राजपाले चुनाव चिन्ह माग्न निर्वाचन आयोग किन गएको थियो ? यादवले विज्ञप्तिको प्रतिक्रिया दिँदै भनेका छन् । संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका यादवले आफ्ना प्रेस सल्लाहकार महेश चौरसिया मार्फत विज्ञप्तिको जवाफमा वक्तव्य जारी गरेका हुन् । 

वक्तव्यमा ‘मधेस विरोधी शक्तिहरुलाई बलियो बनाउन राजपाले यस्तो षड्यन्त्र गरेको छ । मधेश आन्दोलन र संविधान संशोधनलाई कमजोर पार्न यस्तो सुनियोजित षड्यन्त्र रचिएको हाम्रो ठहर छ’–भनिएको छ । थप प्रतिक्रिया संघीय समाजवादी फोरमको बैठक पछि आउने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ