arrow

गैरआवासीय नेपाली संघको सम्मेलन तयारी पुरा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
97920600.jpeg
काठमाठौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को सातौं अधिवेशन तथा विश्व सम्मेलन असोज २७ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ। ‘एनआरएनएः राष्ट्र पुनःनिर्माणको सच्चा साझेदार’ भन्ने नारासहित सुरु हुन लागेको यो सम्मेलन भूकम्पपछिको पुनःनिर्माणमा गैरआवासीय नेपालीहरुको सहभागीतामा केन्द्रीत हुने छ।
 
संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । असोज २७ र २८ गते संघको अधिवेशन हुनेछ भने २९ र ३० गते विश्व सम्मेलन आयोजना हुनेछ।
 
अधिवेशनले संघको नयाँ कार्यसमिति चयन गर्नेछ । यसका लागि २७ गतेदेखि चुनावी प्रकृया सुरु हुने संघले जानकारी गराएको छ। विश्व सम्मेलनको २९ गते राष्ट्रपति डा. रामवरण यादवले उदघाटन गर्ने संघका अध्यक्ष शेष घलेले जानकारी दिए । सम्मेलनमा भाग लिन ७१ देशबाट १५ सय जना सहभागी हुने उनको भनाई थियो ।
 
मुलुक भूकम्पले ग्रस्त भएको बेलामा यतिको सहभागिता रहनु उत्साहजनक रहेको अध्यक्ष घलेले बताए । सम्मेलनमा करिब १५ सयभन्दा बढी डेलिगेटहरु आउँदा होटल, पर्यटन तथा सेवा क्षेत्रमा प्रत्यक्ष सकरात्मक प्रभाव पर्ने उनको भनाई थियो।
 
सम्मेलन नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र एनआरएनको संयुक्त पहलमा आयोजना हुन लागेको हो । सम्मेलनको अध्यक्षता परराष्ट्रमन्त्रीले गर्ने संघका अध्यक्ष घलेले जानकारी दिए । सम्मेलन भूकम्पपछिको पुनर्निर्माणमा केन्द्रित हुने बताइएको छ। ‘आगामी दुई वर्ष हामी पुनर्निर्माणमा केन्द्रित हुनुपर्छ’ अध्यक्ष घलेले भने– ‘हामीले अधिवेशन र सम्मेलनबाट पैसा बचाएर पुनर्निर्माणमा लगाउने घोषणा गरेका छौं।’
 
सम्मेलनलाई सकेसम्म कम खर्चमा सम्पन्न गर्ने संघको तयारी छ । रजिष्ट्रेशन, प्रायोजक लगायतबाट करिव २ करोड आम्दानी हुने जानकारी दिँदै अध्यक्ष घलेले एक करोड रुपैयाँभन्दा बढी खर्च नगर्ने बताए। यस पटकको सम्मेलनमा अन्य महत्वाकांक्षी परियोजना घोषणा नगरिने अध्यक्ष घलेले स्पष्ट पारे । ‘विगतको अनुभवले धेरै महत्वाकांक्षी योजना घोषणा गर्न नहुने पाठ सिकाएको छ’ उनले भने– ‘जे जति काम गर्न सकिन्छ, त्यति मात्रै यस पटकको सम्मेलनमा घोषणा गर्छौं ।’
 
घोषणा भइसकेका परियोजनालाई निरन्तरता दिने र अधुरा कामहरु सम्पन्न गर्ने घलेले बताए । पुरा गर्न नसकिने परियोजना घोषणा गरेर त्यसको प्रतिफल अपेक्षित नआउने उनको भनाई थियो। संघले भूकम्पबाट घरबार बीहिन भएकालाई एक हजार घर निर्माण गरिदिने घोषणा गरेको छ । घर बनाउन आइतबार नेपाल सरकार र संघबीच सम्झौता भएको छ ।
 
आगामी दुई वर्षभित्र सम्पूर्ण घरहरु निर्माण गरेर हस्तान्तरण गरिसक्ने अध्यक्ष घलेले प्रतिवद्धता जाहेर गरे । साथै, संघको आफ्नै भवन निर्माणमा जोड दिइने उनको भनाई थियो। संविधानमा एनआरएनलाई बिशेष नागरिकता दिने व्यवस्था गरिएकोमा खुशी व्यक्त गरे । ‘संविधनमा उल्लेख भएर मात्र हुँदैन, कार्यान्वयनका लागि काननु चाहिन्छ, कानुन बनाउन अझै हामीले पहल गर्नुपर्ने देखिन्छ’ उनले भने– ‘नागरिकता पाएमा मुलुकमा ठूलो लगानीसमेत भित्रिने छ ।’
 
दोहोरो नागरिकताले भिषा प्रोसेसिङमा समेत सहजता हुने हुँदा पनि आवश्यक रहेको एनआरएनहरुको भनाई छ । अहिले आफ्नै मुलुकमा आउन पनि भिषा लगाउन निकै झण्झट हुने गरेको अध्यक्ष घलेले गुनासो गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ