arrow

पहिलो ९ महिनामा बैदेशिक व्यापार निराशाजनक, आयात बढ्यो ३८ प्रतिशत 

logo
प्रकाशित २०७४ वैशाख २७ बुधबार
TEPC.jpeg

काठमाडौं । नेपालको बैदेशिक व्यापार आर्थि वर्षको पहिलो नौ महिनामा निराशाजनक रहेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याक अनुसार समीक्षा अवधिमा नेपालको कुल निकासी ९.९ प्रतिशतले वृद्धि भई ५५.२६ अर्व रुपैयाँ पुग्दा कुल पैठारी ३८.४  प्रतिशतले वृद्धि भई ७२६.०२ अर्व रुपैयाँ पुगेको केन्द्रका वरिष्ठ तथ्यांक अधिकृत कृष्ण बजगाईँले जानकारी दिए । 


को अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५.९ प्रतिशतले वृद्धि भई ७८१.२८ अर्व रुपैयाँ पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ७.१ प्रतिशत र ९२.९ प्रतिशत रहेको छ । आ.व. २०७२÷७३ को प्रथम नौ महीनाको अवधिमा निकासी— पैठारी व्यापारको अनुपात १ः१०.४ भएकोमा आ.व. २०७३÷७४ को सोही अवधिमा निकासी— पैठारी व्यापारको अनुपात १ः१३.१ रहन आएको केन्द्रले जानकारी दिएको छ । 
    

उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादनहरु, हस्तकलाका सामानहरु, चाउचाऊ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिवुटी लगायत छन् । 


समीक्षा अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ऊनी गलैंचाको निर्यातमा ५.४ प्रतिशतले ह्रास आई रु. ५.६६ अर्व, तयारी पोशाकको निर्यातमा ९.६ प्रतिशतले ह्रास आई रु. ३.९७ अर्व पुगेको छ ।  यसैगरी फलाम तथा स्टील र तिनका उत्पादनहरुको निर्यातमा २०.० प्रतिशतले वृद्धि भर्ई रु. ४.२७ अर्व, पोलिष्टर तथा अन्य धागोमा ३२.० प्रतिशतले वृद्धि भई रु. ४.८१ अर्व, मुसुरोको दालमा ४.० प्रतिशतले वृद्धि भई रु ६३ करोड  पुगेको छ । 


समीक्षा अवधिमा रु. ५२ करोड छाला, रु. ३.०८ अर्वको  अलैंची, रु. १.८८ अर्व चिया, रु. १९ करोडको अदुवा,  रु. ६४ करोडको चाऊचाऊ, रु. ५८ करोड जडिवुटी, रु. ५० करोडको टुथपेष्ट, रु. ३.८५ अर्बको टेक्सटाइल, रु. १.८९ अर्वको पश्मिना सल, रु. ४५ करोडको हस्तकलाका सामानहरु, रु. ५३ करोडको नेपाली हातेकागज निकासी भएको देखिन्छ । नेपालको निकासी  व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, टर्की, जर्मनी, युके, चीन, फ्रान्स, इटाली, जापान, क्यानडा,  वंगलादेश,  अष्ट्रेलिया, नेदरलेण्ड्स र भियतनाम  आदि प्रमुख रुपमा रहेका छन् । 


पैठारीतर्फ, आ.व. २०७३÷७४ को प्रथम नौ महीनाको अवधिमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको  तुलनामा फलाम तथा स्टील र तिनका उत्पादनहरुको आयातमा ४९.९ प्रतिशतले वृद्धि भई रु. ७६.९० अर्ब, पेट्रोलियम पदार्थमा ११२.३ प्रतिशतले वृद्धि भई  रु. ८७.३९ अर्ब, यातायातका साधन र तिनका पार्टपुर्जामा ५९.७ प्रतिशतले वृद्धि भई रु. ६३.३० अर्ब, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामाग्रीहरुमा २५.३ प्रतिशतले वृद्धि भई रु. २९.४७ अर्ब, औषधीमा १३.६ प्रतिशतले ह्रास आई रु. १७.४२ अर्ब, मशिनरी तथा पार्ट्समा ७१.१ प्रतिशतले वृद्धि भई  रु. ६१.०२ अर्ब, पोलिथिन ग्रेन्युल्समा ९.३ प्रतिशतले वृद्धि भई रु. ११.८९ अर्ब, कच्चा पाम आयलमा ७८.१ प्रतिशतले वृद्धि भई रु. ३.५६ अर्व , दुरसञ्चारका सामाग्रीहरुमा ४२.३ प्रतिशतले वृद्धि भई रु. २२.८९ अर्ब, रसायनमा ६.१ प्रतिशतले वृद्धि भई रु. ७.०८ अर्ब भएको छ । 


यसैगरी समीक्षा अवधिमा रु. १९.२५ अर्ब बराबरको सुन, रु. ६.७० अर्व बराबरको चाँदी,  रु. ६.५३ अर्ब बराबरको रासायनिक मल  तथा रु. १७.७० अर्व बराबरका हवाईजहाज तथा हवाईजहाजका पार्ट्स  पैठारी भएका छन् । साथै सो अवधिमा सिमेन्ट क्लिङ्कर (रु. १४.६१ अर्ब ), भटमासको कच्चातेल ( रु. ९.९० अर्व ), तयारी पोशाक (रु.९.८७ अर्व ), अन्न ( रु. २९.४२ अर्व ), ऊन ( रु. २.५० अर्व ) पनि उल्लेख्य रुपमा पैठारी भएको देखिन्छ ।  


नेपालको पैठारी व्यापारमा भारत, चीन, युएई, फ्रान्स, इण्डोनेशिया, थाइलेण्ड, अर्जेन्टिना, संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, साउदी अरेविया, क्यानडा, जापान, मलेशिया र  भियतनाम प्रमुख रुपमा रहेका छन् । 


चालु आर्थिक वर्ष २०७३÷७४ को समीक्षा अवधिमा समग्र निकासीमा सामान्य सुधार भएतापनि पैठारीमा देखिएको अत्यधिक वृद्धिका कारण व्यापारघाटामा ४१.४ प्रतिशतले वृद्धि भई रु. ६७०.७६ अर्व पुगेको छ ।


नेपालका प्रमुख व्यापारिक साझेदार देशहरु मध्ये निर्याततर्फका प्रमुख गन्तव्यहरुमा भारततर्फ अलैंची, जुस, कपडा, धागो, चिया, फलाम तथा स्टीलका उत्पादनहरु, जुत्ता, रोजिन र रेजिन एसिड, जुटका बोरा तथा झोला एवम् पिना प्रमुख रुपमा निर्यात भएको देखिन्छ । यसै गरी संयुक्तराज्य अमेरिकातर्फ उनी गलैंचा, तयारी पोशाक, काँचका सामानहरु, पश्मिना सल, फेल्टका सामानहरु छुर्पी हस्तकलाका सामानहरु सारतेल सुतीका झोलाहरु प्रमुख रुपमा निर्यात भएका छन् । 


जर्मनीतर्फ पनि कार्पेट, तयारी पोशाक, पश्मिना, फेल्टका सामानहरु, चिया टोपी सुतीका झोला, हस्तकलाका सामानहरु कागजका उत्पादनहरु र ट्रान्सफरमरहरु निर्यात भएको पाइन्छ । यता नेपालको प्रमुख साझेदार मध्ये एक युके तर्फ भने ऊनी गलैंचा, पश्मिना, तयारी पोशाक, फेल्टका सामानहरु, कागजका सामानहरु, टोपी, हस्तकलामा सामानहरु, सुती झोला र तयारी चाऊचाऊ  उल्लेख्य मात्रमा निर्यात भएका छन् । त्यसै गरी नेपालको अर्को महत्वपूर्ण निर्यात गन्तव्यका रुपमा रहेको टर्कीतर्फ भने धागो, छाला, ऊनी गलैंचा, टोपी, औषधी  र हस्तकलाका सामानहरु निर्यात भएको पाइन्छ । 


यता नेपालको आयातको प्रमुख श्रोत मध्ये अग्रस्थानमा रहेको भारतबाट  पेट्रोलियम पदार्थ, फलाम तथा तिनका उत्पादनहरु, यातायातका साधनहरु, मेशिनरी तथा पाटपुर्जा र अन्न प्रशस्त मात्रामा आयात भएको देखिन्छ । यसै गरी नेपालको आयात व्यापारमा दोश्रो स्थानमा रहेको उत्तर तर्फको छिमेकी मुलुक चीनतर्फबाट हुने आयातमा दुरसञ्चारका सामाग्रीहरु, विद्युतीय उपकरणहरु, मेशिनरी तथा पार्टपुर्जा, स्याऊ तथा रासायनिक मलले प्रमुख स्थान हासिल गरेका छन् । अर्को प्रमख आयातको श्रोत मुलुक युएईबाट भने सुन, चाँदी, प्लाष्टिकको कच्चापदार्थ, लुव्रिकेटिङ तेल र चकलेट आयात भएको पाइन्छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ