arrow

राखेपले सर्वाधिक पुरस्कार राशीको क्रिकेट आयोजना गर्ने

logo
प्रकाशित २०७४ वैशाख २८ बिहिबार
sport_news.jpg

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) को व्यवस्थापनमा सर्वाधिक पुरस्कार राशीको प्रथम प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता जेठ ९ गतेदेखि सुरु हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्य–सचिव केशवकुमार विष्टले जानकारी िदए ।

पत्रकार सम्मेलनमा सदस्य–सचिव विष्टले नेपाल क्रिकेट संघ (क्यान) को आन्तरिक कारणले विगत ३ वर्षदेखि एक दिवसीय (५० ओभर) को क्रिकेट हुन नसकी रहेको अवस्थामा राखेपले प्रतियोगिताका लागि पहल गरेको बताए  ।

‘क्यानको आन्तरिक कारणले विगत ३ वर्षदेखि ५० ओभरको क्रिकेट भएको छैन । अहिले क्यान रहेको अवस्था छैन । त्यसैले केसीटीसीले व्यवस्थापन गर्ने गरी यो वर्ष हामीले प्रतियोगिता आयोजना गर्न लागेका हौं ।’ सदस्य–सचिव विष्टले भने– ‘पछि क्यान आएपछि क्यानकै प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन हुनेछ ।’

सदस्य–सचिव विष्टले प्रतियोगिता सञ्चालन गर्न करिब १ करोड १० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको र त्यसमा राखेपले ७५ लाख खर्च व्यहोर्ने र बाँकी केसीटीसीले विभिन्न श्रोतबाट सहयोग जुटाउने सहमति भएको जानकारी दिए । उनले परिषद्ले व्यहोर्ने कुल रकम मध्ये ५० लाखको व्यवस्था भइसकेको र बाँकी २५ लाख माग गरिएको बताउदै अर्को संस्करणका लागि १ करोड माग गरिएको अवगत गराए ।

प्रतियोगितामा ५ विकास क्षेत्र र तीन विभाग टोली नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब र नेपाल एपीएफ क्लब गरी ८ टिम सहभागी हुनेछन् । सहभागीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गराइनेछ । समूहको विजेता र उपविजेता सेमिफाइनलमा पुग्ने छन् ।

विजेताले २० लाख र उपविजेताले १० लाख नगद पुरस्कार पाउने छन् । सेमिफाइनलमा रोकिने टिमलाई समान ५० हजार नगद प्रदान गरिने छ भने प्रत्येक लिग खेलको विजेता २५ हजार नगदको हक्दार बन्ने छ । ‘म्यान अफ द सिरिज’ लाई १ लाख, उत्कृष्ट बलर र ब्याट्म्यानलाई ५०–५० हजार तथा उदीयमान खेलाडीलाई २५ हजार नगदबाट पुरस्कृत गरिने छ । ‘म्यान अफ द म्याच’ ले ५ हजार नगद पाउने छन् । पुरस्कार राशीका हिसाबले यो क्रिकेटको सर्वाधिक पुरस्कारको प्रतियोगिता हो । यसअघि सर्वाधिक पुरस्कार राशीको डिपीएल क्रिकेटको विजेताले १५ लाख र उपविजेताले ७ लाख नगद पुरस्कार पाएका थिए ।

क्रिकेट मुख्य प्रशिक्षक जगत टमाटाले लामो समयपछि ५० ओभरको म्याच हुनु खेलाडीका लागि राम्रो अवसर भएको बताउदै प्रतियोगिता आयोजनाका लागि खेलकुद मन्त्रालय र राखेपलाई धन्यवाद दिए । उनले यो प्रतियोगिता विश्व कप क्वालिफायरका लागि खेलाडीको छनोटको आधार समेत बन्ने बताए ।

केही समययता राष्ट्रिय क्रिकेट टोलीको कप्तानी सम्हालिरहेका ज्ञानेन्द्र मल्लले नेपाली क्रिकेट अन्योलको स्थितिमा रहेको बेला सरकारी पक्षले प्रतियोगिता आयोजना गर्नु खेलाडीका लागि सुखद पक्ष भएको धारणा व्यक्त गर्दै धेरै समयपछि ५० ओभरको म्याच हुन लागेकोमा उत्साहित भएको बताए । जेठ २४ गतेसम्म हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा जम्मा १५ खेल हुनेछन्  पत्रकार सम्मेलनमा प्रतियोगिताको विजेताले पाउने ट्रफी राखेप सदस्य–सचिव विष्टले अनावरण गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ