मेरो गाँउको चुनाब

डा.निरजमान श्रेष्ठ । प्रकाशित मिति : २०७४ बैशाख २९ शुक्रबार , ४,९३५ पटक हेरिएको

ताइवान । २० बर्षपछि हुनलागेका स्थानिय चुनाबको रौनकले सिंगो देशको सबै तहतप्कालाई छोएको मात्र होईन भिजाएकै छ । कयौं मान्छेहरु उम्मेद्वारको रुपमा होमिएका छन् भने कयौं मान्छेहरु प्रचार सहयोगीका रुपमा लागेका छन् । जे होस् कुनै भबितब्य भएन भने  एक महिना पछि नेपाली जनताले स्थानिय सरकार पाउनेछन् ।

राजनैतिक पार्टी, उम्मेद्वारहरु  र उसका कार्यकर्ताहरु घोषणा पत्र बोकेर लोकगीत घन्काउदै गाउँ पसिसकेका छन् ।  गत संबिधान सभाको चुनाबमा आश्वासनका पोकाहरु बाडेर निर्बाचित मान नभएका मेरा माननीयहरुसँगै सुकिलामुकिला बाबुसाहेबहरु भिमकाय शरीर घिर्सादै, पसीना काढ्दै, स्वास्वा गर्दै, बिजुली निकाल्न पुग्ने स्वास निकाल्दै मेरो हटियामा बर्षौ पछि फेरी पर्दापण गर्नेछन् र पिछडीएको मेरो बस्तिलाई पबित्र बनाइदिनेछन् । 

एक हिसाबले अबको केहि हप्ता मेरो  गाउँको सान, मान र दैनिकी बदलिनेछ । भञ्ज्याङ्गको चौतारीको बुढो वरपिपलको जोडी आफ्नो पेटीमा सीतल ताप्नेहरुको भिड देखेर दङ्ग पर्नेछन्, स्वच्छन्द रुपमा गीत गाएर शान्तपूर्बक बसेका चराचुरुङ्गीहरुलाई भने आफ्नो स्वतन्त्रता खोसिएको महशुश हुनेछ । कान्छि दीदीको भट्टी र रामे दाईको चिया पसलले भने अग्रगामी छलाङ मार्नेछ अबको केही समय, यो स्थान ग्रामीण बिकासको खाका कोर्ने स्थानिय संसद भवन बन्नेछ । गाउँको बीच भएर बहने प्याउदी खोलाले ३ बर्ष अघि स्कूले बच्चा बगाएको घटना स्मरण गराउदै त्याहाँ पूल हाल्ने योजना बनाइनेछ, टारीफाँटमा यूवाहरुकोलागी खेलमैदानको नक्सा कोरीनेछ, साईली भाउजुको मृगौला सम्बन्धि पुरानो रोगको उपचार गर्न बिदेशलाने सम्मका आश्वाशन दिईनेछ तर ५ बर्ष अघि पनि यस्तै  आश्वासन पाएको तर चुनाब पछि वास्ता नगरेको भन्दै साईला दाईले असहमती जनाउनु हुनेछ । 

भड्कनै लागेको परिस्थिती सम्हाल्न मानवीयता स्वरुप भन्दै रु १० हजार तत्कालै  साईला दाईको गोजीमा राखिनेछ । २ बर्ष अघि भूकम्पले भत्काएका घर तथा स्कूल भवनहरु बनाइसक्न ६ महिने योजना पूस्तिका तयार गरिनेछ । क्षेत्री गाउँको पुछारमा प्याउदी खोलामा बाँध  बाँधेर ५ मेघावाट बिजुली निकाली त्यही पानीले छरछरे, कुमाल गाम लगायतका खेतहरु सिँचाइ गर्ने र बनेको तालमा मोटरबोट चलाएर  गाउँलाई पर्यटकिय केन्द्र बनाउने,  डाँडामा वीण्ड टर्वाइन जोडेर हावाबाट बिजुली निकाल्ने, बोहोरी भञ्ज्याङ्ग जोड्ने सडक यसै बर्ष ग्राबेल गर्ने आदी जस्ता योजनाहरु बुनिनेछन् । 

चुनाबको वास्तविक प्रतिस्पर्धा बिहान पख पँधेरामा पँधेर्नीहरु बिच देखिनेछ । आफ्नो पार्टीले चुनाब जिते अर्को  हिउँददेखि पानी भर्न पँधेरा आउनु नपर्ने घरघरमा नै पानी लगिने तल्लाघरे काकीको दाबी प्रति माथ्लो घरे फुपूले ओठ लेप्र्याएर असहमती जनाउदै गाउँ देखि काठमाण्डौं सम्म रेल चलाउने उहाँको पार्टीको घोषणा पत्र कण्ठस्त बक्नुहुनेछ । गाईको गोठमा बसेकी मेरी ठुली आमालाई नमस्कार फर्काउदा फर्काउदै गोबर सोहोर्ने फूर्सद हुनेछैन, दैनिक भोट माग्न आउने दशौं टोलीहरुको गफमा गोठालो गएको कान्छा हजुरवुवा यसरी भूल्नेछन कि उँहाको कैले गोरुले जिम्मुवालको वारीमा पसेर बाली नष्ट गर्नेछ तर पनि यसपटक  उहाँले कूत तिर्नु पर्ने छैन । जिम्मुवालको भाई (जो वडा अध्यक्षमा उठेकाछन् ) लाई भोट दिने सर्तमा उहाँलाई माफ गरिनेछ । स्कूल पढ्न गएको मेरो कान्छा भाई घर फर्कदा झोलाभरी पर्चा र पमल्पेट बोकेर फर्कनेछ र आपनो कोठाका भित्तामा पर्चा टासेर कोठाको इन्टेरियर डेकोरेसन गर्नेछ ।  

गाँउको राजनिती धानेका शिक्षकहरु स्कूलमा देखिने छैनन् र खाली समयको सदुपयोग गर्दै मेरा भाईहरु कोही मस्र्याङ्गदीमा पौडी खेल्न जानेछन् भने कोही महिला साथि लिएर सिनेमा घरको फन्को मार्नेछन, जे होश उनीहरुले स्थानिय चुनाबको भरपूर फाईदा उठाउनेछन् । शहरबाट आएकाहरु, उम्मेद्वारहरु र जान्नेबुझ्ने भनाउदाहरुले दिएको सम्मान, महत्व र अपनत्वले मेरा गाँउलेहरुले अध्यारो बिगत भूसूक्कै बिर्सनेछन् , घरभरी थुप्रिएका राता झण्डाहरु देखेर  फेरी सार्वभौम सत्ता आपनै हातमा आएको भ्रम पाल्नेछन् । त्यसैले आफ्नो पार्टीलाई सर्मथन  नगरेको झोकमा साँधसीमाना  जोडिएको दाजुभाई बिच मनोमालिन्य बढ्नेछ । 

काकाले अब कहिल्यै ठूलाबाबाको हातबाट टिका नलगाउने भिष्म प्रतिज्ञा गर्नेछन् र ठूलाबाबा पनि चानचुने कहाँ हुन र? जीन्दगी भर भाईको मूख नर्हेने ओठे जवाफ फर्काउनेछन् । दाईको मेख मार्न काकाले आफ्नो पार्टीका मान्छेहरु बोलाएर भोज खुवाउनेछन् र ठूलाबाबाले पनि भाईलाई फूर्ति देखाउदै छोरीको बिहेलाई भनेर पालेर राखेको खशी, ठूलीआमाको बिरोधका बाबजुद, ढाल्नेछन । यस्तै यस्तै प्रतिस्पर्धाहरु देखिनेछन मेरो गाउँमा । यसरी नै आपसी मनमुटाब र खिचातानीका बीच चुनाब सकिनेछ ।

जित्नेले हार्नेको घरको आगनबाट बिजय जुलुस लानेछ, हार्नेको घरका झ्यालबाट छिराएर नरसिङ्गा बजाउनेछ र संसार जीतेको महशुश गर्दै बिश्राम गर्नेछ । तर जब अर्को दिन रविले त्यस गाउँमा पाइला राख्नेछ,  हिजोका बिजयी नेताहरु पजेरो चढेर शहर भासिइसकेको हुनेछ बाँकी रहनेछ त केवल धेरै दिनसम्म भरपेट खान नपाएका गाई बाख्राहरु, आगन्तुकले फोहर गरेको आँगन र रित्तिएको भकारी । बल्ल काकाको जीन्दगीको रथ वास्तबिक धरातलमा ओर्लनेछ । जति रिसाए पनि एैचोपैचोको लागी हिजोको बिशाल समूह बाँकि रहने छैन । ठूलाबाबाको घरमा पुगेर काकाले टाउको कन्याउदै भन्नेछन् “हैन हो दाई ! धान त सबै सकिएछ”। भकारीबाट धान झिकेर दिदै ठूलाबाबाले पनि मुस्कुराउदै बेदना पोख्नेछन “हैन कान्छा ! खशि त एउटा खोज्नै पर्‍यो” ।  
 

नयाँ