arrow

मैले रोजेको परदेश

logo
दुसवि भट्टराई,
प्रकाशित २०७४ वैशाख २९ शुक्रबार
dusabi-sharma1.jpg

युएई । धेरैको रोजाई क्यानडा, अमेरिका,जापान जस्ता देशहरु हुने गरेको छ। यी मध्ये मेरो रोजाई हो खाडी मुलुकभित्र गनिने युएई । हिजोका दिनमा त्यो सुन्दर मेरो देशमा बसेर पत्रकारिता गर्दा धेरैजसो देशमै बसेर केही गरौ भन्ने सन्देशका लेखहरु पनि लेख्ने गरेकै हो ।

बर्षेनी हजारौको संख्यामा नेपाली युवाहरु परदेश जान्छन । त्यही परदेशिएकी नेपाली छोरी हु म । यथार्थ ओकल्नुपर्दा महिनाभरि परिश्रम गर्यो त्यसको रकम आउने बेलामा रोइकराई गर्नुपर्ने अवस्थाले म जस्ता धेरैले परदेशिनु परेको छ । कयौंले पढेर पनि रोजगारीको अवशर नपाएपछि घर परिवार चलाउन विदेशिएका छन् । कस्लाई रहर होला र दुखमा पढेर पार गरेका  डिग्रीका सर्टिफिकेट थन्क्याएर परदेशिने । सधै आफुले सोचेजस्तो समय अनुकुल भइदिने भए सायद कोही परदेशिने पनि थिएनन ।  

रोजगारीको लागि नै सही, आज म त्यस्तो देशमा छु जुन कुनै युरोपियन मुलुकभन्दा कम छैन । बिजुली बिनाका पल हुन्नन यहाँ किनकी ५० डिग्री सम्मको गर्मीमा पनि काम गर्ने वातावरण बनाउनु पर्छ त्यो एसी बिना सम्भब छैन । पानी तातो होस या  चिसो धाराभरिको आउँछ । केही गरी बिजुली र पानीमा समस्या आयो भने त्यो बनाउने छुट्टै कम्पनि छ । सबैभन्दा ठुलो कुरा यहाँ बस्ने  जति पनि व्यत्तिहरु छन् सबैको रोजगारी छ । बेरोजगार भएर बस्ने पारिवारिक भिषा लगाएर बसेका छन्। यथार्थमा मरुभुमि भएको ठाउलाई हजारौ युवाहरुको रोजगारीको थलो बनाउन सक्नु सानु कुरा होइन। जो कोहीले भन्ने  गर्छन आखिर दुबई त गएकी हो कत्ति न क्यानडा अमेरिका गएजस्तो । तर मैले रोजेको परदेश कुनै अन्य देशभन्दा कम छैन ।  

मेरो देश छोडेर विदेशिदैछु भन्दा धेरैले सोचे कोरिया,जापान वा  क्यानडा आदि । त्यो बेलामा मैले नकार्न सकिन होमा कुरो सकिदिए किनकी मेरो मानसिकता पनि खाडी मुलुक त हो के गएको भन्नु भन्ने थियो । आज आएर गर्वका साथ भन्छु म त्यहाँ छु जहाँ काम गरेर म पछुताउनु परेको छैन । मैले रोजेको परदेश बनाउन नेपालीहरुले पसिना बगाएका छन् । आफ्नो सुन्दर सपना सजाएर अर्काको मुलुकमा दुख गरिरहेका छन् । धेरैले सोच्ने गर्छन विदेश भएकाहरुसँग जति भनेनि रकम हुन्छ । जति लुटे नि हुन्छ ,किनकी हिजो म स्वदेशमा हुदा पनि त्यही लाग्थ्यो ।  आज आएर थाहा भयो यहाँ पैसा फल्ने रुख रहेनछ । महिनाभरि कडा मेहनत गर्दा तोकेको तलब आउछ बस त्यति हो । कतिले कम्पनिको काम गर्दा परिवार पाल्न धौधौ भएर रे यहाँ शरीर लुटाएर पनि परिवारलाई स्वदेशमा सुख दिनका लागि काम गरेका । यस्तो यथार्थ भन्न नै धेरै नराम्रो लाग्छ तर ती शरीर बेच्नेका कथा अझै भयानक छन् ।   

सुन्दा नमिठो लाग्छ तर छोरी चेलिले विदेश जान्छु भन्दा हामी परदेशको ठाउमा के होला कस्तो होला नभनी घरजग्गा धितो राख्छौ र त्रिभुवन विमानस्थलबाट ऋणको बोझ बोकाएर फुलमाला गरी विदाई गर्छौ । कयौ त लाश बनेर बक्सामा फर्किन्छन् , कयौ रोग बोकेर । यो गथार्थ बुझ्दाबुझ्दै पनि हामी आफ्ना सन्ततीलाई विदेश पठाउन आतुर छौ । पढायो भने रोजगारी पाउने अवस्था आफ्नो मुलुकमा छैन त्यसको परिणाम आज हामी धेरै युवा यसरी विदेशिएका छौ । अनेकौ रहर सपना तुन्दै थाप्लोमा ऋणको भारी बोकेर परिवारसँग बिछोडिएका छन् नै तर आफ्ना सपना बालुवामा पानी लगाए जस्तै भएका छन् । कतिले अकालमा ज्यान गुमाएर फर्किएका यथार्थबाट टाढा रहन सकिन्न । मृत्युसम्म पुग्दै गर्दा त्यो विरानो देशमा पिडा भोग्नेलाई कस्तो हुदो हो । न परिवारसँग सबै दुख बाढ्न सकिन्छ नत यो विरानो देशमा आफन्तको साथनै । 

म हिजो पनि परदेशी जीबनको पक्षमा थिइन र आज पनि परदेशिन सुझाब दिन सक्दिन किनकी आफु  रहे सपना साकार होला आफै नरहे के सपना के भविष्य । आज युनाइटेड अरब इमिरेट्सको एक कामदार हु म । काममा गयो आयो खाना खायो सुत्यो फेरी भोलिपल्ट उही काम यस्तै गरि बित्छन दिन । हरेक खाली रहेका पल परिवारका सदस्यको सामाजिक सञ्जाल हेर्यो कुरा गर्यो मन बुझायो । यति हुदाँहुदै पनि लाग्छ ज्यान छ, रोजगारी छ , दुरी टाढा भएर के भयो परिवार छ । यस्तो रोजगारी आफ्नै देशमा भएको भए, भन्यो कल्पना गर्यो मन स्वदेश तन परदेश । चित्त बुझाउनुको विकल्प पनि त छैन ।  

हिजो लेख लेख्दा अरुको अनुभव लेख्थे आज आफ्नै अनुभव लेख्दैछु देखेर लेख्नु र भोगेर लेख्नुमा धेरै अन्तर रहेछ । यति विकशीत खास हाम्रो देश भएको भए सम्झना गर्यो बस्यो । विपनामा त उही जे जस्तो छ यथार्थ मैले रोजेको परदेश विकशीत छ ।  

कयौ आर्थिक रुपले सक्षम भएका नेपाली सामाजिक सञ्जालमा कडा देश विकाशको दर्शन छाट्यो बस्यो गर्छन । व्यापारीक रुपमा अन्य देशमा बसेर आर्थिक अवस्था सुधार गरेकाहरु आज निश्वार्थ समाजसेवा भन्दा टाढा रहेर राजनीतिमा होमिएको अवस्था छ । त्यस्तै आर्थिक अभावले विदेशिएकाहरु मनका बह त्यही सामाजिक सञ्जालमा पोख्यो बस्यो । यो यथार्थ धेरै अगाडीबाट चल्दै आएको हो । त्यतिमात्र होइन हामी सम्पन्न नेपाली अन्य देश भ्रमणमा जान्छौ र विदेश गए भनेर फुरुंग हुन्छौ तर आन्तरिक पर्यटनलाई बढावा दिन्नौ ।  शान्तीका दुत बुद्ध जन्मेको देश, सीताको जन्मभूमि ,सगरमाथाको देश के छैन मेरो देशमा ? तर रोजगारीको लागि रोज्नुपर्छ यही विरानो परदेश ।  

यो विरानो देशमा जति काम गर्यो पारिश्रमिक त्यतिनै पाइन्छ । तर यो सबैका लागि भने सत्य छैन । कति नेपालीले महिनौबाट काम गरेको पारिश्रमिक नपाएका यथार्थ पनि धेरै छन् । मेनपावर र दलालीको पञ्जामा परेर विदेशिने रहरमा ठगीएका कयौ छन् यहाँ ।  

हुनत नेपालको विमानस्थलबाट सँगै यात्रा गरेका कति साथिले हवाइजहाजबाट विदेशी भूमि टेकेपछि नै परिवार भुलेको पनि देखियो । त्यतिमात्र होइन नेपाली चेली आएको थाहा पाएर नेपाली दलालहरु यो परदेशमा सलबलाएको पनि देखियो । नेपालमा हुँदामात्र संस्कार मान्ने हो विदेशिएपछि त केको वास्ता भन्दै नेपाली चेलिमाथि नेपालीकै गलत हेराई पनि देखियो तर सबैलाई त्यो दायरामा राख्न मिल्दैन । परदेश आएपछि नेपालीको धेरै परिचय देंखे । जस्तो देंखे बुझेपनि हामी नेपालीको परिश्रम लागेको छ त्यसैले त म आज भन्दैछु मैले रोजेको  परदेश जति कमाएपनि आखिर स्वदेश हुनै सक्दैन ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ