arrow

मतदातालाई निर्वाचन आयोगको अनुरोध : एक दिन कष्ट सहेर मतदानमा सरिक भइदिनुस्

ढुक्क हुनुस्, आफुले रोजेको नेतालाई मत खसाल्नुस्

logo
प्रकाशित २०७४ वैशाख ३० शनिबार
media-centre-election.jpg

काठमाडौं । निर्वाचन आयोगले पहिलो चरणमा तीनवटा प्रदेशमा हुन लागेको स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

आयोगले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै का प्रमुख आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था गरिएकाले हुँदा ढुक्क भएर मतदान प्रक्रियामा सहभागि हुन सबै मतदातालाई आह्वान गरे ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २ सय ८३ स्थानीय तहको भोलि अर्थात् २०७४ वैशाख ३१ गते आइतबार हुँदैछ । आइतबार मतदान विहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने, ‘आइतबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान केन्द्रमा प्रवेश गर्नुभएका मतदाताले मात्रै मतदान गर्न पाउनु हुने हुँदा सबै मतदाताले एक दिन राष्ट्रका लागि समय प्रदान गरी दुःख कष्ट सहेर भएपनि मतदानमा सरिक भई आफूले रोजेको योग्य उम्मेदवारलाई निर्वाचित गराउन म यहाँहरूलाई अनुरोध गर्दछु ।’

आयोगका अनुसार आइतबार चुनाव हुने क्षेत्रमा ४९ लाख ५६ हजार ९ सय २५ मतदाता छन् भने उनीहरुका लागि ६ हजार ६ सय ४२ मतदान केन्द्र तोकिएको छ । पहिलो चरणको चुनावले १३ हजार ५ सय ५६ स्थानीय जनप्रतिनिधि चयन गर्नेछ । निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ र निश्पक्ष बनाउन सबैलाई अपील समेत गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त यादवले मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षा कार्यक्रम पनि जारी रहेको बताए । परिचय पत्र छपाइमा केही त्रुटी भएको स्वीकार्दै प्रमुख निर्वाचन आयुक्त यादवले भने, ‘मतदाता परिचयपत्रमा त्रुटी भए नागरिकताको विवरणलाई मूल आधार मानेर मतदान गर्ने व्यवस्था गरिनेछ ।’ केही स्थानमा मतदाता परिचयपत्रमा त्रुटी भएको भन्दै जनगुनासाहरु आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ