arrow

मौन अवधिमा एमालेको पत्रकार सम्मेलन : ओलीले भने–बम पड्काउनुमा सरकारकै हात

चुनावमा सरकार तमासा गर्ने भविष्यवाणी

logo
प्रकाशित २०७४ वैशाख ३० शनिबार
ghosanashabha_uml.jpg

काठमाडौँ । स्थानीय तह पहिलो चरणको निर्वाचनको पूर्व सन्ध्यामा प्रमुख विपक्षी एमालेले सरकारले विभिन्न खालको षड्यन्त्र गरेको भन्दै चुनावको निष्पक्षतामाथि नै प्रश्न उठाएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी एमालेले निर्वाचनमा धाँधलीको प्रयास भएको आरोप लगायो ।

पत्रकारमाझ एमाले अध्यक्ष केपी शर्मा ओलीले भने, ‘निर्वाचन हुँदैछ भनेर हामी खुसी छौँ । तर, निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित बन्न नदिने कयौँ प्रयास भएका छन् । ती प्रयास नगन्य, निर्लज्ज, सत्ताको दुरुपयोग गरी, भ्रष्ट तरिकाले भएका छन् । यो दुःखलाग्दो र चिन्ताको विषय हो ।’

मंसिरमा नै गर्न सकिने स्थानीय तहको चुनाव वैशाखमा गरेर सरकारले धाँधलीका अनेकौँ प्रयास गरेको नेता ओलीको आरोप छ । ‘मंसिरमै स्थानीय तहको चुनाव गर्न सकिन्थ्यो । चैत्र वैशाखमा प्रादेशिक चुनाव गर्न सकिन्थ्यो, ओलीले थपे, ‘गलत नजर र नियतका कारण अन्तिम समयमा निर्वाचन गरियो । वैशाख ३१ पछि घोषणा गरेपछि धाँधलीका अनेक प्रयास गरिए । त्यसभित्र अनेकन् मनशाय छन् ।’

यस्तै, ओलीले दुई चराणमा निर्वाचन गर्नुमा पनि सरकारको स्वेच्छाचारी र गलत नियत रहेको टिप्पणी गरे । ओलीले सरकारलाई दोस्रो चरणको निर्वाचनको छेकोमा मुस्लिम समुदायको पर्व रहेको बताउँदै निर्वाचन सार्न आग्रह गरिरहेपनि सरकारले नटेरेको आरोप लगाए ।

शुक्रबार सरकारले टिकापुर घटनाका पीडितलाई रकम बाँड्ने निर्णय गरेकोप्रति संकेत गर्दै अध्यक्ष ओलीले सरकारले आचारसंहिता विपरीत रकामान्तर गरेर चुनाव प्रभावित पार्न खोजेको आरोप समेत लगाए । ओलीले यसरी किन पैंसा बाँड्न लागियो, म आश्चर्य परेको छु–ओलीले भने ।

यसैबीच, ओलीले विभिन्न ठाउँमा बम पड्काउने गतिविधिमा समेत सरकारकै हात रहेको बताए । ‘काँग्रेस र माओवादी देशलाई कता लैजान चाहन्छन् ? यसरी हुन्छ स्वतन्त्र निर्वाचन ? यसरी हुन्छ, जनताको सावैधौम सत्ता ? समाजमा आतंक मच्चाउने ? यही हो उहाँहरुको प्रजातान्त्रिक संस्कार र प्रजातन्त्रका लागि गरेको योगदान ? ओलीले प्रश्नै प्रश्न तेर्स्याए ।


विभिन्न ठाउँमा बम विस्फोट गराउनमा पनि सरकारको हात रहेकोमा शंका गर्दै ओलीले भने, ‘मलाई आशंका छ । विस्फोटहरु कसले गराएको छ । जिम्मा लिने समूह मात्र हुन् कि जिम्मा नलिने पनि छन् । यसमा केही गर्न बाँकी राखिएको छैन ।’ यस्तै, ओलीले आइतबार पहिलो चरणको निर्वाचनमा पनि सरकारले तमासा गर्ने भविष्यवाणी समेत गरे ।
ओलीले अगाडि थपे, ‘सरकार तमासा गर्दैछ । धेरै ठाउँमा तोडफोड गर्दैछ । जित्ने गरी तोडफोड गर्दैछ । यस्तो निर्लज्ज सरकार हुनु हुँदैन । यो खालको तमासा पञ्चायतमा पनि हुँदैनथ्यो ।’

माओवादी कार्यकर्ताले एमाले कार्यकर्तामाथि आक्रमण गरेको र मन्त्री पैंसा बाँड्न हिँडेको भन्दै ओलीले सरकारलाई निष्पक्ष चुनाव गर्न अनुरोध समेत गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले मौन अवधि रहेकै बेला पत्रकार सम्मेलन गरेर चुनावी मसला फ्याँकेको भन्दै टिप्पणी समेत भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ