arrow

देउवाले जारी गरे जनताका नाममा सन्देश (पूर्ण पाठसहित)

logo
प्रकाशित २०७४ वैशाख ३० शनिबार
sher-bahadur-deuba-new-fnl.jpg.jpeg

काठमाडौं । दुई दशकपछि हुन लागेको स्थानीय तह निर्वाचनको पूर्व सन्ध्यामा काँग्रेस सभापति शेरबहादुर देउवाले जनताका नाममा एक सन्देश जारी गरेका छन् ।देउवाले आइतबार हुने पहिलो चरणको निर्वाचनको पूर्वसन्ध्यामा शनिबार जनताका नाममा सन्देश जारी गरेका हुन् ।

सन्देश जारी गर्दै सभापति देउवाले ‘मुलुक संविधान कार्यान्वयनको ऐतिहासिक चरणमा प्रवेश गरेको छ । २०७४ साल बैशाख ३१ गते संविधानको नयाँ व्यवस्था अनुरुप स्थानीय तहको पहिलो निर्वाचन हुदैछ । नागरिकको अधिकार नागरिककै तहमा लैजान यो निर्वाचनको ऐतिहासिक महत्व छ ।

संविधानले परिकल्पना गरेको स्थानीय तह, प्रदेश र केन्द्रीय तहलाई व्यवहारमा नागरिकले अनुभूत गर्न पाउने यो पहिलो खुड्किला हो । तसर्थ यो निर्वाचनलाई आम नेपाली नागरिकले उल्लासमय पर्वका रुपमा लिएर शान्तिपूर्ण रुपमा सफल बनाउन हार्दिक आह्वान गर्दछु । साथै निर्भयका साथ मतदान गर्ने पाउने नागरिक अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गर्दछु’ भनेका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सन्देश
आदरणीय दाजुभाइ दिदिबहिनीहरु,
मुलुक संविधान कार्यान्वयनको ऐतिहासिक चरणमा प्रवेश गरेको छ । २०७४ साल बैशाख ३१ गते संविधानको नयाँ व्यवस्था अनुरुप स्थानीय तहको पहिलो निर्वाचन हुदैछ । नागरिकको अधिकार नागरिककै तहमा पुर्‍याउने यो निर्वाचनको ऐतिहासिक महत्व छ । संविधानले परिकल्पना गरेको स्थानीय तह, प्रदेश र केन्द्रीय तहलाई व्यवहारमा नागरिकले अनुभूत गर्न पाउने यो पहिलो खुड्किला हो । तसर्थ यो निर्वाचनलाई आम नेपाली नागरिकले उल्लासमय पर्वका रुपमा लिएर शान्तिपूर्ण रुपमा सफल बनाउन हार्दिक आह्वान गर्दछु । साथै निर्भयका साथ मतदान गर्ने पाउने नागरिक अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गर्दछु ।

यो निर्वाचनलाई संविधानसभा मार्फत नेपाली नागरिक आफैंले लेखेको संविधानलाई पूर्णता दिने अभियानका रुपमा बुझ्नु आवश्यक छ । लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र संघीय राज्यको परिकल्पना पूरा गर्ने यो महत्वपूर्ण अवसर हो । सुशासन, पारदर्शिता, जवाफदेहिता र जनसहभागिता जस्ता लोकतन्त्रका आधारभूत मूल्य मान्यतालाई स्थापित गर्दै सुदृढ लोकतन्त्रका पक्षमा यो निर्वाचन कोशेढुंगा सावित हुने बिश्वास मैले गरेका छु ।

आम नेपाली नागरिकको शान्तिपूर्ण जीवनयापन गर्ने र विकासलाई तीव्र गतिमा अघि बढाउने चाहना पूरा गर्न यो निर्वाचन सशक्त साधन पनि हो । स्थानीय तह विकासको आधारशीला हो । जनसहभागिता जति बढि हुन सक्छ, आमनागरिकमा उति नै धेरै अपनत्वको भावना जागृत हनेछ । यो निर्वाचनमा सहभागी हुन आम मतदाताले देखाउनु भएको उत्साह र उमंगले लोकतन्त्रको भविष्यलाई थप सुदृढ बनाउन सघाएको छ । तसर्थ यस निर्वाचनमा आफ्नो मताधिकारको सदुपयोग गर्न र लोकतन्त्रको सुदृढीकरण अभियानमा सहभागी हुन म आम नेपाली दाजुभाइ दिदिबहिनीलाई हार्दिक अपील गर्दछु ।
जय नेपाल ।
२०७४ बैशाख ३०



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ