arrow

एमालेका विष्णु पौडेलकै बजेट दोहोर्‌‍याउने तयारीमा प्रचण्ड सरकार

logo
प्रकाशित २०७४ जेठ ४ बिहिबार
kp_budjet_prachanda.JPG

काठमाडौं । संवैधानिक संकट र निर्वाचन आचारसंहिताको चेपुवामा परेर बजेट ल्याउने विषयमा अन्योलमा परेको सरकारले अघिल्लो सरकारले ल्याएको नीति तथा कार्यक्रमहरुलाई नै निरन्तरता दिने तयारी गरेको छ । नेपालको संविधानले तोकेको मिति जेठ १५ गतेको नयाँ कार्यक्रम सहितको बजेट ल्याउन दोस्रो चरणको निर्वाचन आचारसंहिताले अवरोध गर्ने भएपछि बजेट कसरी ल्याउने भन्ने विषयमा सरकार अझै पनि निर्णयमा पुग्न सकेको छैन । 

निर्वाचन आचारसंहिता अनुसार आचारसंहिता लागू अवधिभित्र सरकारले कुनैपनि नयाँ योजना, कर्मचारी सरुवा बढुवा लगायतका काम गर्न पाउँदैन । तर, सरकारले नयाँ नीति तथा कार्यक्रम सहितको बजेट ल्याएको खण्डमा सरकारको यो कदमले निर्वाचन आचारसंहिता उल्लंघन गरेको ठहर हुने र संविधानको व्यवस्था हटाउनको लागि संविधान नै संशोधन गर्नुपर्दा त्यसको लागि प्रतिपक्षीको समेत सहमति चाहिने भएकोले सरकार अफ्टेरोमा परेको हो । 

उता, अर्थमन्त्रीको प्रेस सल्लाहकार त्रिभुवन पौडेलले यस विषयमा बिहीबार मन्त्रालयमा छलफल चलिरहेको जानकारी दिए । उनले काम चलाउ बजेट ल्याउने तयारी चलिरहेको तर्फ संकेत गर्दै आजको बैठकबाट केही निर्णय हुनसक्ने जानकारी दिए । उनका अनुसार शुक्रबार अर्थमन्त्रालयका कर्मचारीहरु सहित योजना आयोगका प्रतिनिधिहरुबीच छलफल चलिरहेको छ । उनले बजेट यही सरकारले ल्याउने भएकोले अर्थमन्त्री महराले नै बजेटको तयारी गरिरहेको बताए । 

योजना आयोगले पनि आउँदो वर्षको बजेटमा निर्वाचनलाई प्रभाव पार्ने खालका योजनाहरु नसमेटिएको स्पष्ट पारे । आयोगका प्रवक्ता तुलसी गाैतमले योजनाहरु सबै नयाँ हुने भन्दै यस वर्ष पपुलिष्ट योजना नराखिएको स्पष्ट पारे । उनका अनुसार अहिले योजनाआयोगले निर्वाचनसँग कसैगरी पनि सम्बन्धित नरहेका कार्यक्रमहरुमा मात्रै बजेट तयार पारिरहेका छन् । बजेट कामचलाउ वा कस्तो ल्याउने भन्ने कुरा भने अर्थमन्त्रालयको क्षेत्राधिकार हो । 

उता, अर्थमन्त्रालय बजेट महाशाखाका एक एक उच्च अधिकारीले भने सरकारले कामचलाउ बजेटको मात्रै तयारी गरिरहेको जनाउ दिए । उनले कर्मचारीहरुलाई काम चलाउ बजेटको लागि मात्रै निर्देशन दिईएको भन्दै भित्रभित्रै नयाँ योजना ल्याउने तयारी भईरहेको भए आफूहरु जानकार नभएको बताए । उनले अब नयाँ योजना सहितको बजेट तयार पार्न सरकारलाई पनि कठिन अवस्था रहेको जानकारी दिए । यसरी तयार पारिने बजेटमा कुनैपनि पपुलिष्ट योजना नल्यार्इने र पपुलिष्ट योजनाहरु पुरानैलार्इ निरन्तरता दिने तयारी सरकारको रहेको अर्थमन्त्रालय स्राेतले जानकारी दियो । 

प्रचण्ड सरकारले अघिल्लो वर्ष केपी ‌‌ओली नेतृत्वको सरकारले ल्याएको बजेटलार्इ अस्वीकार गरेर पुरक बजेटको समेत तयारी गरेको थियो । तर, परिबन्धमा परेको यो सरकारले काम चलाउ बजेटको नाममा केपी ओली नेतृत्वको सरकारले ल्याएको पुरानै कार्यक्रम समेटेर बजेट ल्याउने तयारी सरकार को छ ।

के हो काम चलाउ बजेट ? 
योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्र बहादुर क्षत्रीले नयाँ नीति तथा कार्यक्रमहरु नसमेटी पुरानै नीति तथा कार्यक्रममा अत्यावश्यक खर्चको लागि मात्रै बजेट तयार पारेर ल्याईने बजेट नै काम चलाउ बजेट रहेको जानकारी दिए । यस्तो बजेट आफूले जानकारी पाएसम्म अहिलेसम्म नल्याईएको पनि उनले दाबी गरे । संविधानको प्रावधानको सम्मान गर्नु राम्रो कुरा रहेको भन्दै क्षत्रीले व्याङ्यात्मक रुपमा २५ सदस्यीय मन्त्री मण्डल बनाउने बेलामा पनि संविधानको सम्मान गर्नुपर्ने तर्फ संकेत गरे । 

यद्यपि नयाँ नीति तथा कार्यक्रम नल्याएर बहुवर्षीय आयोजनाहरु, राष्ट्रिय गौरबका आयोजनाहरु लगायतका सीधा रुपमा जनतालाई प्रभाव नपार्ने खालका बजेट मात्रै ल्याउनु नै काम चलाउ बजेट हो । यसमा पछि पुरक बजेट ल्याएर सरकारले आफ्नो नीति तथा कार्यक्रम अनुसार कार्यान्वयन गर्ने छ । अहिले भने सरकारले पुरानै बजेटका योजनालाई स्वीकारेर अघिबढ्नुपर्ने हुन्छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ