बदर नभएको मत तर सदर पनि भएन

प्रकाशित मिति : २०७४ जेठ ६ शनिबार , ६,४२० पटक हेरिएको

काठमाडौँ । ललितपुर महानगरपालिकाको जारी मतगणनामध्ये २० हजार मत गणना भइसक्दा उपप्रमुखमा एमालेको चुनाव चिह्न सूर्यमा छ हजार १२६ मत खस्यो ।  

चितवन भरतपुर महानगरपालिकाको प्रमुखमा काँग्रेसको चुनाव चिह्नमा खसेको मत के गर्ने भन्ने विषयलाई नै मुख्य मुद्दा बनाएर मतगणना सुरु गर्न ढिलाइ भयो । 

विवाद यतिमै सीमित छैन ।  काठमाडौँ महानगरमा एमाले चुनाव चिह्न सूर्यमा खसेको मत पनि आफूले पाउनुपर्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका उपप्रमुखका उम्मेदवार राजाराम श्रेष्ठले निर्वाचन आयोगविरुद्ध कानुनी उपचार खोज्ने नै बताउनुभएको छ ।  

सूर्य, रूख वा गाईमा आएका यस्ता मतपरिणाम अर्का दलका उम्मेदवारले दाबी गर्नुभएको एउटै आधार हो, चुनावमा भएको दलीय तालमेल ।  

चुनावी तालमेलका कारण दलहरूले प्रमुख उपप्रमुखमध्ये एक÷एक पद बाँडेर उम्मेदवार खडा गरे ।  

तर, तालमेलमा रुष्ट मतदाताले सहमतिअनुसार उम्मेदवारलाई मत दिएनन् बरु आस्था अनुुसारका चिह्नमा मतदात गरे ।  फलस्वरूप उम्मेदवार नै नभएका चिह्नमा मत प¥यो ।  

ललितपुरमा एमालेको उपप्रमुखको उम्मेदवार छैन ।  तर, सूर्य चिह्नमा दस हजार मत गन्दासम्म सूर्यमा छ हजारभन्दा बढी मत पाइएको छ ।  

यस्तै, काठमाडौँमा पनि एमालेको उपप्रमुखको उम्मेदवार छैन तर काठमाडौँमा पनि उपप्रमुखमा सूर्यले मत पाएको छ ।
  
ललितपुर, काठमाडौँमात्र हैन निकै चासोपूर्वक हेरिएको सत्तारूढ दलहरूको गठबन्धन भरतपुर महानगरपालिकामा पनि प्रमुखमा नेकपा माओवादी केन्द्र र उपप्रमुखमा कांग्रेसको मात्र उम्मेदवार छन् ।  तर, भरतपुरमा पनि प्रमुखमा रूखमा समेत मत परेको छ । 

पोखरा महानगरमा समेत काँग्रेसको चिह्न रूख र माओवादी केन्द्रको चिह्नमा पनि मत परेको छ ।  

पोखरामा प्रमुखमा काँग्रेस माओवादीमा पनि मत क्रस भएको छ ।  माओवादीको उम्मेदवार नभए पनि गोलाकार भित्रको हँसिया हथौडामा पोखरामा मत खसेको छ ।  

मनोनयन दर्ताको अन्तिम समयमा दलहरूबीच भएको चुनावी तालमेललाई अधिकांश राजनीतिक दलका कार्यकर्ताले सहजतासाथ लिएन् ।  

दलीय समीकरणको सामाजिक सञ्जालमा विरोध गरेका कार्यकर्ताका भनाइलाई क्षणिक आवेग भनियो । 

तर, जारी मतगणनाले भने दलीय सहमतिलाई कार्यकर्ताले अटेर गरेको प्रमाणित गरेको छ ।  

क्रस भोटका कारण बदर मतको प्रतिशत पनि ह्वात्तै बढेको छ ।  निर्वाचन आयोगले भने मत सङ्केत गर्न नजानेर भएको बदर प्रतिशत कुल सदर मतको दुई प्रतिशतमात्र भएको दाबी गरेको छ ।  
तर, आयोगले दाबी गरे पनि उम्मेदवार नभएको चिह्नमा पाएको सदर मतसमेत खेर जाने अवस्थामा छ । 

आयोगले भने दलीय तालमेलपछि उचित मतादाता शिक्षा दलहरूले पु¥याउन नसक्दा उम्मेदवार नभएको चिह्नमा मत गएको अनुमान गरेको छ । 

निर्वाचन आयोगले बिहीबार विज्ञप्ति प्रकाशन गरी बदर मत दुई प्रतिशत हाराहारीमा मात्र रहेको जनाएको थियो । 
 
के हुन्छ मतको हैसियत ?

उम्मेदवार नै नभए पनि परेको मत बदर हुने अवस्थाको छैन ।  तर, त्यस्तो मत अर्को गठबन्धनको उम्मेदवारले पाउने अवस्था पनि छैन ।  स्थानीय तह निर्वाचन निर्देशिकाअनुसार यस्तो मत पनि बदर नै हुन्छ ।  

आयोगले तयार पारेको निर्देशिकाले उम्मेदवार नभएको चिह्नमा मतदान गरेमा पनि मत बदर हुने व्यवस्था गरेको छ । 

यसका आधारमा उम्मेदवार नभएका चिह्नमा परेको मतमा गठबन्धनको अर्को उम्मेदवारले दाबी गर्ने आधार रहने छैन । (गोरखापत्र दैनिक)

नयाँ