arrow

भरतपुर अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्न प्रस्ताव

logo
प्रकाशित २०७४ जेठ ६ शनिबार
bharatpur-aspatal-news.jpeg

चितवन । चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई अति विशिष्ट सेवासहितको एक हजार श्ययाको शिक्षण अस्पतालको रुपमा विकास गर्न प्रस्ताव गरिएको छ । 

अस्पताल विकास समितिको हालै सम्पन्न बैठकले अस्पतालको गुरुयोजना पारित गरेर स्वास्थ्य मन्त्रालयमा पेस गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीका अनुसार १४ बिगाहा १० कठ्ठा जग्गामा छुट्टाछट्टै अस्पताल भवन, शैक्षिक भवन, आवास भवन, पार्किङग, फूलबारीलगायतका संरचना निर्माण गरिने छ । 

शुद्ध खानेपानीको सुविधा हुने छ, भने अस्पताल आफैँले अक्सिजन प्लान्ट निर्माण गर्ने छ । फोहोर व्यवस्थापनका लागि विशेष योजना अगाडि सारिएको छ । ६ अर्ब ५४ करोडको लागतमा गुरुयोजना अनुरुपको काम सम्पन्न गर्न सकिने अध्यक्ष राजभण्डारीले बताए । 

हाल अस्पतालको दुईवटा भवन निर्माण भइसकेका छन् । यसअघि अस्पतालका पूर्व अध्यक्ष स्व नरबहादुर खाँडले गुरुयोजना निर्माण गरी काम गर्नुपर्ने भन्दै सोहीअनुरुप भवन निर्माणको कार्य अघि बढेको थियो । यद्यपि मन्त्रालयबाट स्वीकृति गराइएको थिएन । सो पश्चात अस्पतालमा निर्माण गरिएका संरचना दीर्घकालीन काम गर्ने खालका रहेका छन् । 

गुरुयोजना सम्बन्धित मन्त्रालयले स्वीकृत गर्नुपर्ने हुन्छ । अस्पतालको भरतपुर आँखा अस्पतालको नजिकको क्षेत्रमा आवास, सोही क्षेत्रमा व्यावसायिक भवन, हाल मुख्य प्रवेशद्वार रहेको पूर्वी क्षेत्रमा शैक्षिक भवन निर्माण गर्ने प्रस्ताव गरिएको छ । 

अस्पतालको आफ्नै ३१ बिगाहा जग्गा रहे पनि अन्य सङ्घ संस्थालाई भाडामा र भोगचलनका लागि दिएकाले हाल ११ बिगाहा मात्र बाँकी रहेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले उपयोग गर्दै आएको तीन बिगाहा १० कठ्ठा जग्गा समेतलाई समेटेर गुरुयोजना निर्माण गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनिले जानकारी दिए  । 

सरकारले बजेट दिन सकेमा पाँच वर्षभित्रमा गुरुयोजनाअनुरुपको काम हुनसक्ने मरासिनिले बताए । भरतपुर अस्पतालमा चितवन र छिमेकी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । गत आर्थिक वर्षमा एक लाख ५३ हजार बिरामीले बहिरङ्ग सेवा लिएका थिए । 

राजधानी बाहिर ठूलो सङ्ख्यामा बिरामीलाई सेवा दिने अस्पतालको रुपमा भरतपुर अस्पताललाई लिइन्छ । अस्पतालमा हाल तीन सय श्यया सरकारी र तीन सय श्यया अस्पताल विकास समितिको स्रोतमा सञ्चालनमा रहेको छ । यद्यपि बिरामीको चाप उच्च भएकाले भूइँमा सुतेर उपचार लिन बाध्य छन् । 

शिक्षण अस्पतालको रुपमा विकास गर्न सकेमा न्यून शुल्कमा विद्यार्थीले एमविविएस सहित अन्य स्वास्थ्य शिक्षा पढ्न पाउने छन् । हाल अस्पतालमा प्रविणता प्रमाणपत्र तह र स्नातक तहको नर्सिङ् कार्यक्रम सञ्चालनमा रहेको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ