arrow

सभापति देउवाको कारण स्थानिय तहमा काँग्रेस दोस्रो हुनुपरेको पौडेल पक्षको आरोप

logo
प्रकाशित २०७४ जेठ ८ सोमबार
Ram-Chandra-poudel-news-aa.jpeg

काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरुको भेलाले पहिलो चरणको स्थानीय तह निर्वाचनमा नेतृत्वको कमजोरीका कारण अपेक्षा अनुसार परिणाम नआएको निष्कर्ष निकालेको छ ।

अनामनगरस्थित वरिष्ठ नेता रामचन्द्र पौडेलको सम्पर्क कार्यालयमा सोमबार भएको पौडेल पक्षीय नेताहरूको गुटको भेलाले पार्टी सभापतिको काम गर्ने शैलीका कारण पहिलो चरणको स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा चित्तबुझ्दो परिणाम नआइ दोस्रो हुनुपरेको निष्कर्ष निकालेको हो । 

बैठकमा पौडेल पक्षीय नेताहरूले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पार्टी नेतृत्वबाट गम्भीर गल्ती भएको भन्दै आउँदो निर्वाचनमा त्यसलाई नसुधार्ने हो भने झनै अप्ठ्यारो स्थिति आउने बताए ।

बैठकमा नेताहरूले प्रहरी महानिरीक्षक नियुक्ति प्रकरण र सर्वोच्च अदालतकी प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोगको विषयले काँग्रेसले स्थानीय तह निर्वाचनमा असहज परिणाम भोग्नुपरेको समिक्षा गरेका थिए । 

बैठकमा सहभागी नेता बलबहादुर केसीले स्थानिय तहको चुनावमा अपेक्षाअनुसारको परिणाम नआएको विषयमा छलफल भएको बताए । ‘परिणाम अपेक्षा भन्दा फरक भो, सरकारका पछिल्ला गतिविधिले असर गर्‍यो भन्ने निष्कर्ष हो ।’ केसीले भने । 

केसीका अनुसार बैठकमा  समयमा नै उम्मेदवार चयन नहुँदा र चितवनमा माओवादीसँग भएको तालमेलका कारण पनि देशभरका आम कार्यकर्तामा निराशा फैलियो भन्ने बैठककले निष्कर्ष निकालेको छ । 

बैठकमा पहिलो चरणको निर्वाचनको समीक्षा गर्दै दोस्रो चरणको निर्वाचनको तयारीमा जुट्ने बारेमा छलफल भएको थियो । 

सहभागी अधिकांश केन्द्रीय सदस्यहरूले सभापति देउवाले पार्टीलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि उपयोग गरेको आरोपसमेत लगाएका थिए । 

पहिलो चरणको निर्वाचन परिणामलाई गम्भीर रूपमा नलिए आउँदो परिणाम पनि राम्रो नहुने समुहको तर्फबाट सभापतिलाई चेतावनी दिनुपर्ने उनीहरूले नेता पौडेललाई सुझाएका छन् ।

बैठकमा सहभागी नेता गोविन्द भट्टराईले पार्टीलाई एकताबद्ध बनाउँदै अघि नबढे ३१ जेठमा हुने निर्वाचनको परिणाम पनि असहज हुने बताए । उनले पार्टी नेतृत्वले टिकट वितरण गर्दा समेत ध्यान दिनुपर्ने बताए । 

बैठकमा सहभागीले तालमेलका नाममा सभापतिले स्थानीय तहको भावना बुझ्न नसकेका कारण सिंगो चितवन जिल्ला कांग्रेसको हातबाट गुमेको, आफ्ना उम्मेदवार भएका स्थानमा सभापतिले तालमेलपछि आवश्यक पर्ने रणनीति अपनाउन नसकेको, माओवादीलाई तालमेलअनुसार सँगै लिएर हिँड्न नसकेकोलगायतका आरोप पौडेल पक्षीय नेताहरूको छ । 

बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू बल बहादुर केसी, दिलेन्द्र बडू, धनराज गुरुङ, कल्याण गुरुङ, हृदयराम थानीलगायत सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ