arrow

पौडेल पक्षको ठहर : कांग्रेस पराजित हुनुमा देउवाको कार्यशैली जिम्मेवार

logo
प्रकाशित २०७४ जेठ ९ मंगलबार
deuba-ramchandra.jpeg

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवाको गलत कार्यशैली र व्यक्तिगत स्वार्थकै कारण पार्टी दोस्रो स्थानमा पुगेको निष्कर्ष निकालेको छ । 

पौडेल समूहको सोमबार अनामनगरमा बसेको बैठकले सहरी क्षेत्रमा कांग्रेस पराजित हुनुमा पछिल्ला राजनीतिक घटनाक्रमलाई प्रमुख कारण मानिएको छ । बैठकमा सहभागि एक केन्द्रीय सदस्यका अनुसार राजदूत, प्रहरी महानिरीक्षक नियुक्ति र प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव दर्ता गर्नेलगायतका विवादस्पद निर्णयले पार्टी कमजोर भएको निष्कर्ष निकालिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए । 

बैठकमा पौडेलले परम्परावादी मतदाताकै कारण कांग्रेसले ग्रामीण इलाकामा चुनाव जिते पनि सचेत मतदाता रहेको सहरी इलाकामा पार्टी हार्नुका पछि नेतृत्वको गलत कार्यशैली नै मुख्य जिम्मेवार रहेको बताएका थिए ।

केन्द्रीय सदस्य गोविन्द भट्टराईले बैठकमा पहिलो चरणको चुनावको कमीकमजोरीको समीक्षा भएको बताए । ‘पछिल्ला विवादस्पद राजनीतिक घटनाक्रम र नेताहरूले टिकट वितरण गर्दा राम्रोसंँग नगरेकै कारण सचेत मतदातामा असर पुगेको निष्कर्ष नै हो,’ भट्टराईले भने, ‘भावनात्मक रूपमा पार्टी एक भएको सन्देश दिन नसक्नु पनि हारको कारण हो भन्ने विषय आएको छ ।’ 

पहिलो चरणको कमजोरीलाई सच्याएर दोस्रो चरणमा प्रभावशाली र जित्न सक्ने उम्मेदवारलाई टिकट दिनुपर्ने माग पौडेल पक्षले नेतृत्वसँग राख्ने भएको छ ।

पौडेल पक्ष चुनावको मुखमा सरकार परिवर्तन गर्दा पनि पार्टीलाई असर गर्ने निचोडमा पुगेको छ । सरकार परिवर्तनले निर्वाचनको माहोललाई अलमल्याउने भन्दै पौडेल पक्षले दोस्रो चरणको चुनावपछि मात्रै सरकार परिवर्तन गर्न उपयुक्त हुने सुझाव सभापति देउवालाई दिने भएको छ । 

पौडेलले भने सरकार परिवर्तनका विषयमा कुरै नउठेको दाबी गरे । ‘आलोपालो सरकार चलाउने समझदारी कांग्रेसका पार्टी सभापति र प्रधानमन्त्रीबीच भएको हो । यो पार्टीमा सल्लाह भएर भएको होइन,’ पौडेलले भने, ‘उक्त समझदारीमा प्रवेश भएको पनि छैन । यो दुई नेताबीचको कुरा हो । हामीले बोलेका छैनौं ।’

बैठकमा काठमाडौं महानगरपालिका र पोखरा महानगरपालिकाजस्ता ठूला सहरमा कांग्रेसको सम्भावित पराजयलाई सामान्य रूपमा लिन नहुने भन्दै दोस्रो चरणको चुनावपछि आलोचनात्मक समीक्षा हुनुपर्नेमा सहभागी सदस्यहरूले जोड दिएका थिए । बैठकमा पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहित राजधानीमा उपलब्ध पौडेल निकट केन्द्रीय सदस्यहरू थिए ।(कान्तिपुर)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ