arrow

नवजात शिशु बचाउन भरतपुर अस्पताल

logo
प्रकाशित २०७४ जेठ ९ मंगलबार
Bharatpur-hospital-nea.jpeg

चितवन। यहाँको सरकारी अस्पतालमा शिशु सघन उपचार कक्ष स्थापनासँगै नवजात शिशुको अकालमै मृत्यु हुने दर घटेको छ। काठमाडौँको थापाथली प्रसूतिगृहपछि धेरै प्रसूति गराउने अस्पतालका रुपमा रहेको भरतपुर अस्पतालमा एक वर्षमा सरदर १२ हजार शिशु जन्मने गर्छन्।

अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा श्री अधिकारीका अनुसार नवजात शिशुमध्ये पाँचदेखि १० प्रतिशतलाई शिशु सघन उपचार कक्ष आवश्यक पर्छ। यसकै अभावमा विगतमा कतिपयको अकालमै ज्यान जाने गरेको छ। 

अस्पतालमा रहेको शिशु सघन उपचार कक्षमा आवश्यक सम्पूर्ण औषधि निःशुल्क हुन्छ। निजी अस्पतालमा श्ययाको मात्रै दैनिक रु पाँच हजार पर्छ भने औषधि जोड्दा दैनिक रु १० हजारको हाराहारी खर्च हुन्छ।

डा अधिकारीका अनुसार अर्थाभावकै कारणले गर्दा शिशु सघन उपचार कक्षमा उपचार गराउन नसकेर शिशुको मृत्यु हुने गथ्र्ये। सरकारी अस्पतालले सो सेवा दिएसँगै समय नपुग्दै कम तौलमा जन्मिएका शिशुहरुको मृत्यु हुनबाट बचेको उनले बताए। अस्पतालका वरिष्ठ बालरोग विशेष डा युवानिधि बसौलाका अनुसार गत एक वर्षमा अस्पतालको शिशु सघन उपचार कक्षमा पाँच सय ४० नवजात शिशुले उपचार पाएका छन्। तीमध्ये ३४८ बालक र १९२ बालिका छन्। 

डा बसौलाका अनुसार सो अवधिमा ४८७ जनालाई चिसोबाट बचाउने काम गरिएको तथा ३५ जना कमलपित्त भएकालाई सेकेर उपचार गरिएको छ। कम समयमा जन्मिएका आठ जनालाई आवश्यक तापक्रममा इन्कुभेटर र १० जनालाई मेकानिकल भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । उहाँका अनुसार महिना नै नपुगी जन्मिएका ४७, कम तौलका ५८ र कमलपित्त भएका ३५ जनालाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको छ। 

रगतमा सङ्क्रमण भएका, सास फेर्न गाह्रो भएका, दिमागको सङ्क्रमण भएका, जन्मिँदा निस्सासिएका र जन्मिँदै मुटु रोग भएका शिशुको पनि सघन उपचार कक्षमा राखेर उपचार गरिएको डा बसौलाले बताए। 

अस्पतालले एक वर्षमा ३८३ जनाको पूर्ण रुपमा उपचार गराएको, ८३ जनालाई बाहिर पठाएको, अभिभावकका आग्रहमा २१ जना घर गएको र २७ जना जबर्जस्ती अभिभावकले लगेको जनाएको छ। उपचारमा रहेकामध्ये २६ जना अर्थात् ४ दशमलब ८१ प्रतिशतको मृत्यु भएको डा बसौलाले बताए। 

अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा विश्व बगालेले यहाँको शिशु सघन उपचार कक्ष कान्ति बाल अस्पतालपछिको नेपालकै सुविधासम्पन्न भएको जिकिर गरे। उनका अनुसार सो कक्षमा दुई दुई इन्कोभेटर र भेन्टिलेटर छन् जसबाट तापक्रम मिलाएर कृत्रिम शवासप्रश्वास दिन सकिएको छ। 

कक्षमा आठ सामान्य शय्या छन्। कक्षमा श्वासप्रश्वास गाह्रो हुँदा उपचार गर्न सिपिएसी उपकरण जडान गरिएको छ। डा बगालेले अरु उच्च गुणस्तरको उपकरण भित्र्याएर दक्ष जनशक्ति थप्न सके यस क्षेत्रका शिशुको उपचार सहज गर्न सकिने बताए। 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनीले सघन उपचार कक्षको अभावमा अकालमै धेरै शिशुको ज्यान जाने गरेकामा अस्पतालले बचाउन सफल भएको बताए। अस्पतालमा जन्मिएका सबै नवजात शिशुलाई सुविधा दिन अझै नसकिएको बताउँदै उनले उच्च गुणस्तरको उपकरण र जनशक्ति भित्र्याएर सेवा दिने सोचमा अस्पताल रहेको जानकारी दिए। 

अस्पतालका अध्यक्ष राजकुमार राजभण्डारीले शिशु सघन उपचार कक्षको क्षमता विस्तारका लागि मन्त्रालयमा पहल भइरहेको बताए। उहाँका अनुसार पूर्वमा वीरगन्ज र पश्चिममा बुटवलसम्मका नवजात शिशुलाई सेवा दिइँदै आएको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ