arrow

गृहले भन्यो -‘टीकापुर घटनामा संलग्नलाई उन्मुक्ति दिने निर्णय भएको छैन’ 

logo
प्रकाशित २०७४ जेठ १० बुधबार
Home_ministry_nepal.jpg.jpeg

काठमाडौं । गृह मन्त्रालयले टीकापुर घटनामा संलग्न व्यक्तिहरूलाई उन्मुक्ति दिने किसिमको कुनै निर्णय नभएको स्पष्ट पारेको छ ।  मधेस तथा थरुहट आन्दोलनका नाममा २०७२ साल भदौमा सातजना सुरक्षाकर्मीसहित एक बालकको बीभत्स हत्या गरिएको थियो । 

सो घटनामा संलग्न रहेको अभियोगमा २३ जनालाई पक्राउ गरी पुर्पक्षपछि कारागार पठाइएको छ भने ३३ जना अभियुक्त फरार छन् ।  गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले टीकापुर घटनामा संलग्न व्यक्तिहरूको मुद्दा फिर्ता लिने किसिमको निर्णय भएको आधिकारिक पत्र मन्त्रालयले प्राप्त नगरेको बताए। गम्भीर प्रकृतिको अपराधमा संलग्न व्यक्तिको मुद्दा फिर्ता नहुने पनि बताउँदै उनले भने, “टीकापुर घटनाका विषयमा सञ्चारकर्मीको बुझाइ र लेखाइ गलत भएजस्तो लाग्छ ।  त्यसैले सत्यतथ्य बुझेर लेख्न आग्रह गर्छु।”  

यही जेठ ४ गते बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णयले थरुहट र मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गरी घटनामा संलग्न व्यक्तिविरुद्ध लगाइएका मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । “गृह मन्त्रालयसँगको छलफल तथा परामर्शबिना कुनै पनि मुद्दा फिर्ता लिने सम्भावना हुँदैन र टीकापुर घटनामा संलग्नको मुद्दा फिर्ता हुँदैन”, उनले भने। 

यता प्रहरी प्रधान कार्यालयले पनि टीकापुर घटनामा संलग्न व्यक्तिको मुद्दा फिर्ता नलिन सरकारसँग आग्रह गरेको छ ।  “मधेस र थरुहट आन्दोलन भनेको छ”, एकजना वरिष्ठ प्रहरी अधिकारीले भने, “कुन घटनामा संलग्न व्यक्तिको मुद्दा फिर्ता लिने भनिएको हो, हामी पनि बुझ्दैछौँ । ” “सरकारले टीकापुर घटना भनेर स्पष्ट रूपमा उल्लेख नगरी थरुहट तथा मधेस आन्दोलनका क्रममा मात्र भनेका कारण ‘शङ्का’ पैदा हुनु स्वाभाविक हो”, ती अधिकारीले भने, “गृह मन्त्रालयले नै टीकापुर घटनाको मुद्दा फिर्ता हुँदैन भनेपछि सत्य त्यही नै होला । ” 

कैलालीको टीकापुरमा सातजना सुरक्षाकर्मीको ज्यान लिने गरी भएको गम्भीर र जघन्य प्रकृतिको अपराध घटनामा संलग्न व्यक्तिमाथिको मुद्दालाई राजनीतिक रूप दिएर फिर्ता गर्दा सुरक्षाकर्मीको मनोबल गिर्नुका साथै पीडितमाथि अन्याय हुने भनाइ अधिकारकर्मीको छ ।  प्रहरी प्रधान कार्यालयले मधेश र थरुहट आन्दोलनका क्रममा तराई मधेशका अन्य जिल्लाको भन्दा टीकापुर घटनालाई गम्भीर रूपमा लिएको छ ।  

यो अपराधमा संलग्न कुनै व्यक्तिले पनि उन्मुक्ति नपाउने भनाइ प्रहरीको छ ।  २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनका नाममा हिंसा मच्चाइरहेको समूहलाई नियन्त्रणमा लिन गएका सेती अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, प्रहरी हवल्दार लक्ष्मण खड्का र जवान लोकेन्द्र चन्दको हत्या गरिएको थियो । सोही समूहले सशस्त्र प्रहरी बलका हवल्दार रामबिहारी चौधरी र सहायक हवल्दार ललित साउद र सशस्त्र प्रहरी बलका सहायक निरीक्षक नेत्र साउदका दुई वर्षका छोरालाई आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा गोली प्रहार गरी हत्या गरेको थियो ।  (गोरखापत्र)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ