arrow

कास्कीका नवनिर्वाचित अध्यक्षको योजना : प्राकृतिक स्रोतसाधनले गाउँपालिका समृद्ध बनाउने

logo
वासुदेव पौडेल,
प्रकाशित २०७४ जेठ १० बुधबार
pokhara-elected-president.png

पोखरा। कास्कीका नवनिर्वाचित गाउँपालिका प्रमुखले प्राकृतिक स्रोतसाधनको उपयोगमार्फत गाउँपालिकालाई समृद्ध बनाउने योजना बनाएका छन्। चुनावी घोषणापत्रमा बाटोघाटो, खानेपानी, शिक्षा स्वास्थ्यको उचित प्रबन्ध गर्दै गाउँपालिकालाई समृद्ध बनाउने योजना सार्वजनिक गरिएकोमा निर्वाचित भएसँगै ती प्रतिवद्धतालाई कार्यान्वयनमा लैजाने उनीहरुले बताएका छन्।

नयाँ संरचना अनुसार पोखरा लेखनाथ महानगरपालिकासहित अन्नपूर्ण, माछापुच्छे, रुपा र मादी गरी चार गाउँपालिका छन्। भौगोलिक अवस्थितिका कारण विशेषतः पर्यटन, कृषि र जलविद्युत् नै यहाँको आर्थिक विकासको प्रमुख आधार बन्नसक्ने देखिएको छ।

यस क्षेत्रमा रहेका स्रोतसाधनको अधिकतम परिचालन गर्दै अन्नपूर्ण गाउँपालिकालाई समृद्धिको मार्गमा लैजाने धेरै सम्भावना रहेको गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष युवराज कुँवर बताउछन्।

विकासका लागि सर्वप्रथम गाउँबस्तीका बाटोघाटो निर्माण तथा स्तरोन्नति आवश्यक रहेको उनको भनाइ छ। अन्नपूर्ण गाउँपालिकामा आफूले बाटोघाटो निर्माणका साथै प्रत्येक बस्तीमा खानेपानीको सहज व्यवस्थापनको विषयलाई प्राथमिकतामा राखेको कुँवरले बताए।

“अन्नपूर्ण बेसक्याम्पमा वार्षिक ५५ हजार पर्यटक आउने गर्दछन्,” उनले भने, “सुधारिएका सडक, खानेपानी, शिक्षा स्वास्थ्यलगायत अत्यावश्यकीय विषयलाई प्राथमिकतामा राखी तत्काल योजनासहित अघि बढ्छौँ।”

अन्नपूर्ण गाउँपालिकामा पर्यटनको विकासका साथै जलविद्युत् आयोजनाको विकास, जडिबुटीको उपयोग आदिले यही स्वरोजगार अभिवृद्धि गर्न सकिने सम्भावना रहेका कारण यी विषयलाई प्राथमिकताका साथ अघि बढाउने उनले बताए। विश्वकै उत्कृष्ट राउन्ड अन्नपूर्ण पदमार्गको अधिकतम भू–भागमा पर्ने उक्त गाउँपालिकामा नयाँ पुलदेखि बिरेठाँटी, तिखेढुङ्गा घोडेपानी मुक्तिमार्ग निकै चर्चित पदमार्ग हुन्।

यहाँका अन्य पदमार्गका साथै घान्द्रुक, छोम्रोङ, झिनु, लान्द्रुक, वीरेठाँटी, नयाँ पुल, ताञ्चोक, लुम्ले, ठूलाखर्क, पोथना जस्ता ठाउँ तथा गाउँ पर्यटकलाई लोभ्याउने खालका छन्। चार हजारदेखि आठ हजार मिटर माथिसम्मका यहाँका अन्नपूर्ण पहिलो, अन्नपूर्ण साउथ, हिउँचुली, बराहचुली, सिन्गुचुली, पातलचुली, टेन्ट पिक (थर्पुचुली), खयर बराहलगायत हिमालको उपयोग गर्न सके पनि सो गाउँपालिका समृद्ध बन्नसक्ने देखिन्छ।

जडिबुटीको प्रचुर सम्भावना युक्त यहाँ पाँचऔंले, सतुवा, वन लसुनलगायत जडिबुटी पाइन्छन् भने डाँफे, मुनाल, घोरलजस्ता चरा र जीवजन्तु पाइन्छन्।

यस्तै कास्कीको प्राकृतिक स्रोत साधनले सम्पन्न अर्को गाउँपालिका मादी हो। यहाँको विकासका लागि बाटो तथा पुल–पुलेसा निर्माण गर्नु अपरिहार्य भएको गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम)ले बताए।

“बाटोघाटो नहुँदा गाउँपालिकाका सबै वडाबाट सेवा केन्द्रमा आउन समस्या छ,” उनले भने, “बढीमा एक घन्टाभित्रमा केन्द्रमा आउनसक्ने गरी बाटो निर्माण तथा स्तरोन्नतिलाई प्राथमिकतामा राखेको छु।”

गाउँपालिकाभित्रका कतिपय ठाउँमा सोलारका साथै साना जलविद्युत् आयोजना प्रयोगबाट विद्युत् सञ्चालन भएको छ। सबै गाउँ तथा बस्तीमा केन्द्रिय प्रशारण लाइनबाट विजुली दिने, सूचना र प्रविधिको सहज पहुँच उपलब्ध गराउने योजना उनको छ।

पर्यटन र जलविद्युत्को पर्याप्त सम्भावना रहेको यस गाउँपालिकाभित्र सिक्लेस, ताङतिङ, याङजाकोट, नागिधार, बारचोक, भाचोक, तप्राङलगायत पर्यटकीय गाउँ छन्।

कास्की र लमजुङको सिमानास्थित तमुको उद्गमस्थल क्होला सोंथर यसै गाउँपालिकामा पर्छ भने पर्यटकीयस्थल दूधपोखरी पनि यही गाउँपालिकामा पर्छ। सिक्लेसदेखि मनाङसम्म र लमजुङ, नागिधार, भाचोक, बारचोक, याङजाकोट, ताङतिङदेखि सिक्लेससम्मको पदमार्ग यहाँको विशिष्ट पद्मार्ग हो भने विश्वकै सबैभन्दा होचो स्थानमा रहेको कफुचे हिमताल पनि यतै पर्छ।

गाउँपालिकाको सबै वडा भएर बग्ने मादी विद्युत् निकाल्नका लागि अत्यन्त सम्भावना युक्त नदी हो। गाउँपालिकाभित्र पाँचऔंले, नीरमसी, सतुवा, वन लसुनजस्ता जडिबुटीको अधिकतम उपयोग पनि यहाँको आर्थिक समृद्धिका लागि महत्वपूर्ण सहयोगी बन्ने देखिन्छ।

पोखराको विशिष्ट आकर्षण माछापुच्छे हिमाल अवस्थित माछापुच्छे गाउँपालिकाको समृद्धिका लागि यहाँको पर्यटन, जलविद्युत्, कृषि आदिको विकासलाई प्राथमिकतामा राख्ने अध्यक्ष कर्ण गुरुङको लक्ष्य छ।

गाउँपालिकामा बाटोघाटो निर्माणका साथै खानेपानी प्रमुख समस्या रहेका कारण यस विषयलाई आफूले पहिलो प्राथमकितामा राखेको बताउँदै गुरुङले उपलब्ध प्रकृतिप्रदत्त सम्पदालाई उपयोग गर्दै विकासका योजना अघि बढाउने बताए।

“दुई वर्षभित्रमा एक घर एक धाराको अभियानलाई सफल बनाउँछौँ,” उनले भने, “स्थानीयवासीलाई सक्षम बनाउनका लागि मानव स्रोत विकासका योजनासहित कृषिको व्यवसायीकरण र विकासका योजना अघि बढाइने छ।” सो गाउँपालिमा रहेका मिर्सागाउँ र धम्पुसको हेमजाकोट तथा घाचोक गाविसका केही गाउँ होम स्टेका लागि प्रख्यात छन्।

यहाँका घाचोक–कोर्जा, रिभान–कोर्जा, धम्पुस–अष्ट्रेलियन क्याम्प हुँदै अन्नपूर्ण बेस क्याम्प जस्ता पदमार्ग आम्दानीको महत्वपूर्ण आधार बन्नसक्ने देखिन्छ। यहाँका घाचोक, माछापुच्छ्रे, ल्वाङघलेल, धम्पुस र सार्दीखोला जडिबुटीका लागि प्रख्यात छन्। मार्दी, सेती र लस्ती तीनवटै खोलाबाट विद्युत् उत्पादन गर्न सकिन्छ।

रुपा तालबाट नामाकरण भएको रुपा गाउँपालिका जिल्लाकै सानो गाउँपालिका हो। गाउँपालिकामा बाटोघाटोका साथै खानेपानीको चरम समस्या रहेको अध्यक्ष नवराज ओझा बताउछन्। “गाउँपालिकाको केन्द्रसम्म जोड्ने बाटो तत्काल निर्माण गर्नु अपरिहार्य छ, यहाँ खानेपानीको पनि उस्तै समस्या छ, ”– उनले भने,“उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्दै गाउँपालिकालाई समृद्ध बनाउने सोचमा छु।”

कृषिको व्यवसायीकरण गर्नु आवश्यक रहेको बताउँदै उहाँले गाउँपालिकाभित्र पशु बिमा कार्यक्रम अघि बढाउने बताए। तुलनात्मक रूपमा जिल्लाका अन्य गाउँपालिका भन्दा स्रोतसाधन कम भए पनि पर्यटन र कृषिका माध्यमबाट यसको विकास गर्न सकिन्छ।

रूपा ताललाई पर्यटकीय रुपका साथै माछापालन, जलविद्युत् आदिमा उपयोग गर्ने पर्याप्त सम्भावना छ। उपलब्ध वन पैदावरको अधिकतम उपयोगका साथै यहाँस्थित चिसापानीको देवी मन्दिर, हङ्सपुरको स्याक्लुङकोट, इन्द्रगुफा, रूपाकोटको चिसापानी, भीरचोक कोट, बराहाथोकको काल भैरव मन्दिर आदि स्थललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने सम्भावना छन्। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ