arrow

देउवाको निर्वाचन क्षेत्र रहेको कैलालीमा पुरुषभन्दा महिला मतदाता बढी

logo
प्रकाशित २०७४ जेठ ११ बिहिबार
kailali-district.png

धनगढी  । काँग्रेस सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र रहेको कैलालीमा पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या सात हजार ४ सय ९९ ले बढी छ ।

क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका अनुसार जिल्लाको कुल मतदाता चार लाख तीन हजार २८० मध्ये पुरुष एक लाख ९७ हजार ८८७ र महिला दुई लाख पाँच हजार ३८६ मतदाता रहेका छन् । यस्तै सात जना तेस्रो लिङ्गी मतदाता छन् ।

सबैभन्दा बढी मतदाता १९ वटा वडा रहेको धनगढी उपमहानगरपालिकामा ७६ हजार ४३० र सबैभन्दा कम मतदाता सात वटा वडा रहेको चुरे पहाड क्षेत्रको मोहन्याल गाउँपालिकामा नौ हजार २१७ मतदाता रहेका छन् ।

कैलाली जिल्लामा एक उपमहानगर धनगढी, ६ नगरपालिका र ६ गाउँपालिकसहित १३ स्थानीय तह कायम गरिएकोमा पछिल्लो पटक सरकारको निर्णयअनुसार यसअघि बनाइएको जानकी गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गरिएको र कैलाली गाउँपालिका र गौरीगङ्गा नगरपालिकाको केही वडालाई समेटेर छुट्टै मोहना गाउँपालिका बनाइएको छ ।

यद्यपि यसको आधिकारिक जानकारी नआएको निर्वाचन कार्यालयका प्रमुख मोहनप्रसाद अर्यालले बताउनुभयो । नयाँ बनाइएको भनिएको गाउँपालिकाबाहेक कैलालीका १३ स्थानीय तहमा जम्मा ६५६ जना जनप्रतिनिधि चुनिन लागेका छन् ।

यीमध्ये ६३० जना वडा अध्यक्ष र महिला पुरुष सदस्य, १२जना गाउँपालिका प्रमुख उपप्रमुख र १४ जना नगरपालिका प्रमुख उपप्रमुख चुनिन लागेका छन् । यो निर्वाचनमा पहिलो पटक ठूलो सङ्ख्यामा महिला स्थानीय तहको जनप्रतिनिधिको रुपमा चुनिन लागेका छन् ।

निर्वाचनका लागि २३१ मतदानस्थल र ४९० मतदान केन्द्रको व्यवस्था गरिएको छ । निर्वाचन सम्पन्न गराउन सुरक्षाकर्मीबाहेक झन्डै तीन हजार २०० कर्मचारी आवश्यक पर्ने देखिएको अर्यालले बताए ।

दोस्रो चरणको निर्वाचन प्रक्रिया सुरु भएसँगै निर्वाचन कार्यालयले तयारी समेत तीव्र पारेको छ । तीन हजार २३५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कैलाली जिल्लामा मुख्यरुपमा बाहुन, क्षेत्री, ठकुरी, दलित, राना थारु, डगौरा थारु र कठरिया थारुको बसोबास रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ