arrow

देउवा नेतृत्वको सरकारका सम्भावित सारथीहरु

logo
प्रकाशित २०७४ जेठ ११ बिहिबार
deuba-ganeshmanko-batoma.jpeg

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारको नेतृत्वबाट राजीनामा दिए लगत्तै सत्ता साझेदार दल नेपाली काँग्रेसका सभापति तथा संसदीय दलका नेता शेर बहादुर देउवालाई सरकार गठनको बाटो खुलेको छ।

नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया अनुसार देउवालाई देशले जेठभित्रै नयाँ प्रधानमन्त्रीको रुपमा पाउने छ। नेकपा एमालेले खडा गरेको अनेक अड्चन र वाधालाई पार गर्दै सत्तारुढ दलहरु जारी गठवन्धनलाई अझ मजवुत बनाउँदै जान समेत सहमत भएका छन्। यो सहमतिसँगै अब बन्ने सरकारमा कुन कुन दल सहभागि हुने र को को मन्त्रीमण्डलमा सहभागि हुने भन्ने गृहकार्य पनि दलहरुले शुरु गर्न थालेका छन्। 

नेपाली काँग्रेसको नेतृत्वमा बन्ने सरकारमा अहिले सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र मुख्य साझेदार हुनेछ। प्रचण्ड नेतृत्वको सरकारको उत्तरार्द्धतिर सरकारमा आएको विजय गच्छेदार नेतृत्वको फोरम पनि सरकारको अर्को हिस्सा रहनेछ। केहि दिन मात्र सरकारमा रहेर बाहिरिएको राप्रपा पनि स्थानिय तहको पहिलो चरणको चुनाव पछि आत्मसमिक्षा गर्दै फेरि सरकारमा आउन सक्ने आँकलन  सत्तारुढ गठवन्धनको छ। दोस्रो चरणको चुनावपछि मधेश केन्द्रीत दलहरु पनि सरकारमा सहभागि हुनसक्ने विश्लेषण काँग्रेस माओवादीका नेताहरुको छ। 

सरकारमा सहभागि हुने दलका बारेमा चर्चा भइरहँदा काँग्रेसबाट सरकारमा जानेहरुको नाम पनि लिन शुरु भएको छ। माओवादी नेतृत्वको सरकारमा जाँदा धेरै मन्त्रालय पाएको काँग्रेसले आफै नेतृत्वको सरकारमा अरुलाई ल्याउँदा अरुलाई मनाउनुपर्ने वाध्यता आउने छ। यो अवस्थामा पनि सरकारमा पठाउने मन्त्रीहरुको टुङगो लगाउनुपर्ने वाध्यतामा भने काँग्रेस छ। 

केहि मन्त्रीलाई दोहोर्‍याउन दवाव :
प्रचण्ड नेतृत्वमा रहेको सरकारमा राम्रो काम गरेको भनेर जनस्तरमा समेत लोकप्रियता कमाएका उद्योगमन्त्री नविन्द्रराज जोशी, स्वास्थ्यमन्त्री गगन थापा र उर्जामन्त्री जनार्दन शर्मालाई सोहि मन्त्रालयमै दोहोर्‍याउन सम्वन्धित पार्टीमा नागरिकस्तरबाट दवाव छ। उनीहरुको बारेमा काँग्रेस र माओवादीले के निर्णय लिन्छन त्यसको बारेमा केहि दिनमा थाहा लाग्ने नै छ। उनीहरुलाई नदोहोर्‍याएको अवस्थामा पनि ती मन्त्रालयमा उनीहरुले तय गरेको मापदण्डमा काम गर्न नयाँ अनुहारहरुलाई सहज हुने छैन। नयाँ मन्त्रीले त्यहाँ खरो उत्रनु पर्ने हुन्छ। 

सरकार र पार्टी पदाधिकारीका लागि जेलिएको माखेसाङलो :
काँग्रेसको नेतृत्वको सरकार भएपनि अन्य राजनीतिक  दलले  उपप्रधानमन्त्री पाउँदा आफ्नो दलबाट काँग्रेसले पनि उपप्रधानमन्त्री राख्न सक्छ। त्यसो गर्दा काँग्रेस सभापतिलाई पार्टीभित्रको आन्तरिक समिकरण मिलाउन सजिलो समेत हुने आँकलन छ। यसरी पार्टीबाट उपप्रधानमन्त्री बनाउनु पर्दा देउवासामु केहि विकल्पहरु छन्। 

देउवासँगै चुनाव लडेपनि दोस्रो चरणमा देउवालाई सहयोग गरेका कृष्ण प्रसाद सिटौला उनको पहिलो रोजाइको उपप्रधानमन्त्री बन्न सक्छन। आफूसँग रहेकाहरु र पार्टी सभापतिमा आफूसँगै लडेका रामचन्द्र पौडेल समुहसँग नजिक भएकाहरु मन्त्रीमा धेरै पर्ने हुँदा देउवाले उपप्रधानमन्त्रीमा सिटौलालाई लैजान सक्ने देउवा निकट स्रोतले जनाएको छ। तर सरकारमा जाने नजाने बारेमा सिटौलाले अहिलेसम्म मुख खोलेका छैनन्। पहिले नै उपप्रधानमन्त्री भइसकेका सिटौलालाई उपप्रधानमन्त्री र उनी निकट रहेका एक जनालाई राज्यमन्त्रीमा देउवाले सरकारमा सहभागि गराउन सक्ने गरि गृहकार्य गरेका छन्। 

देउवाको अरु विकल्पहरु पनि छन्। उनले गोपालमान श्रेष्ठलाई पनि उपप्रधानमन्त्री बनाएर सरकारमा लैजान सक्छन। नेपाली काँग्रेस प्रजातान्त्रिकका तत्कालिन उपसभापति रहेका श्रेष्ठ बेलाबेलामा वरियता विवाद निकालिरहन्छन। उनी पार्टीको पदाधिकारी हुने नहुने बीचमा उनको सरकारमा आउने नआउने कुराको टुङगो लाग्नेछ। 

उपप्रधानमन्त्रीका लागि काँग्रेस नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमानसिंह र काँग्रेस नेता रामशरण महत पनि अगाडी सारिएका नाम हुन्। तर सबै पक्षलाई सन्तुलन मिलाएर लाने क्रममा देउवाले कसलाई उपप्रधानमन्त्री बनाउँछन त्यो हेर्न वाँकी छ। तर उपप्रधानमन्त्री र उपसभापति बन्ने कुराको बीचमा अन्तरसम्वन्ध हुने कारणले तथा पार्टीमा सन्तुलन कायम गर्नुपर्ने कारणले यो बिषय सभापति देउवाको लागि पेचिलो बन्ने पक्का छ। उपप्रधानमन्त्रीबाटै वाहिरन लागेका विमलेन्द्र निधी पनि पार्टीका उपसभापतिका आकाँक्षी हुन्। विशेषगरि क्षेष्ठ र निधीबीच निर्णय गर्न देउवालाई गाह्रो समेत भएको छ। अर्का आकाँक्षी खुम बहादुर खड्का कानुनी हिसावले पदाधिकारी हुन नसक्ने भएपछि दुई आकाँक्षीको व्यवस्थापन कसरी गर्छन र सरकारलाई पनि सहजताका साथ लैजान्छन त्यो धेरैको कौतुहलताको विषय रहेको छ।  

पार्टी सभापति देउवाका लागि मन्त्री बनाउने कुरा र पार्टीका पदाधिकारीमा मनोनयन हुन वाँकी पदको सामञ्जस्य मिलाउन पनि चुनौतिपूर्ण रहेको छ। पार्टी पदाधिकारी मध्येको महामन्त्री र सहमहामन्त्री पनि मनोनयन हुन बाँकी छ। यसमा धेरै नेताहरु आकाँक्षी छन्। पदाधिकारीकै आकाँक्षी पूर्ण बहादुर खड्काको प्राथमिकतामा अहिले पनि सरकार छैन। उनी महामन्त्रीका बलिया आकाँक्षी हुन्। अर्का आकाँक्षी नेता हुन ज्ञानेन्द्र कार्की। दुई मध्ये कार्कीलाई सरकारको महत्वपूर्ण मन्त्रालय दिएर देउवाले आफूसँगै सरकारमा लैजान सक्छन्। देउवा निकट स्रोत भन्छ त्यसो हुँदा सभापतिले खुमबहादुर खड्का सहितका नेताहरुलाई पार्टीमा चित्त बुझाउन सक्नेछन्। यि दुई नेताको व्यवस्थापन पनि देउवाको लागि अर्को टाउको दुखाई हो। 

प्रचण्ड सरकारमै रहेका प्रकाशशरण महतदेखि बालकृष्ण खाँडहरु पनि पदाधिकारीको आकाँक्षी छन्। उनीहरु सरकारबाट वाहिरनुपर्दा पार्टीको पदाधिकारीमा वढुवा चाहन्छन। पौडेल निकटहरुबाट पनि कम्तिमा सहमहामन्त्रीसम्मको दावी रहने अवस्था छ। देउवाले उपसभापति र महामन्त्री चयन गर्दै गर्दा सहमहामन्त्रीमा पौडेल समुहले पाउनुपर्ने चर्को दवाव उनीहरुले देउवालाई दिन सक्छन्। सहमहामन्त्रीमा पठाउने अनुहारका बारेमा खासै चर्चा नभएपनि मिनेन्द्र रिजाल लगायतका नेताहरु  अगाडी सारिन सक्ने सम्भावना रहेको छ। यसो हुँदा यो पटक सरकारमा रिजालहरु नपठाइन सक्छन।


काँग्रेसका सम्भावित अनुहारहरु :
आफ्नो नेतृत्वको सरकार बनेपछि देउवा अघिल्लोपटक समेट्न नसकेका थुप्रै अनुहारहरुलाई समेट्नुपर्ने दवावमा छन् । जतिसुकै नकारेपनि काँग्रेसभित्रका समुहहरुको व्यवस्थापन गर्दै अघी बढ्नुपर्ने वाध्यतामा देउवा हुनेछन् । देउवालाई सरकार बनाउँदा समुहका अतिरिक्त भुगोल, जात, जाती, लिङग, समुदाय सबैलाई मिलाउनु पर्ने दवाव पर्नेछ। 

देउवाको रोजाइ :
देउवाको रोजाइमा मन्त्री बन्नेहरुमा उदयपुरका डा नारायण खड्का पर्न सक्छन्। पाँचथरबाट भिष्म आङदेम्वे यो पटक देउवाको नछुट्ने नामावलीमा पर्ने देखिन्छ । मिन विश्वकर्मा दलित अनुहार भएका कारण मात्र नभइ हर अप्ठ्यारोमा साथ दिदै आएका कारण देउवाको गुड लिष्टमा उनको नाम रहने पक्का छ। देउवाका पुराना विश्वासी इलामका केशव थापा मन्त्रीमा पर्ने सम्भावना छ। फरमुल्लाह मन्सुर पनि मुसलमान अनुहार भएका कारण मात्र नभइ महाधिवेशनमा साथ दिएका र तराईको चेहरा भएका कारण पनि यो पटक मन्त्रीको लिष्टमा पर्ने लगभग पक्का छ। उपत्यकाबाट ध्यानगोविन्द रञ्जित र प्रदेश ५ बाट भरत शाह मन्त्री बनाइने चर्चामा छन्। देउवाले प्रदेश ४ बाट तनहुँका ध्रुव वाग्लेलाई मन्त्री बनाउन सक्छन। मन्त्रीमा तरुण दलका पूर्व अध्यक्ष तथा सांसद उदय शमशेर राणा देउवाको मन्त्रिपरिषदमा यूवा चेहरा बन्न सक्छन। खुम बहादुरको समेतको सिफारिसमा सिन्धुपाल्चोकका मोहन बस्नेत मन्त्रीमण्डलमा पर्न सक्छन्। कर्णालीबाट जुम्लाका सांसद ललित शाही पनि देउवाको मन्त्रीको लिष्टमा पर्ने सम्भावना छ।

चल्तीको भाषामा सुप भनिने प्रदेश नम्वर ७ बाट डोटीका वीर बहादुर बलायर यो पटक मन्त्रीमा नछुट्ने नामावलीका रुपमा हेरिएको छ। रमेश लेखक निवर्तमान हुँदै छन्। एनपी साउद पनि अघिल्लो सरकारमा थिए। सुपमा नयाँ अनुहारका रुपमा विद्यार्थी राजनीति हुँदै आएका  वलायर अगाडी ल्याउने सम्भावना अत्यधिक छ। कञ्चनपुरबाट बहादुर थापा पनि मन्त्रीमण्डलमा राज्यमन्त्रीमा पर्न सक्छन। राज्यमन्त्रीमा चयन हुँदा लैङगिक र भेगीय अनि जातीय सन्तुलन मिलाउने गृहकार्यमा देउवाको टीम छ। 

पौडेलले पठाउनेहरु :
वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा आफ्नो समुहको तर्फबाट समान हैसियतमा मन्त्रीको संख्या मागे पनि यसअघी पाएका थिएनन। यो पटक पनि सोहि हैसियतमा पाउने सम्भावना भने नरहेको बताइन्छन। देउवा निकट स्रोत भन्छ तर महत्वपूर्ण मन्त्रालय र महत्वपूर्ण व्यक्तिहरु पौडेल समुहको सिफारिसमा छुट्दैनन्। यो पटक पौडेल समुहबाट अर्थमन्त्रीमा महेश आचार्यको नाम चर्चामा छ। पटकपटक अर्थ मन्त्री बनेका रामशरण महतका ठाउँमा यो पटक पौडेलले आचार्यलाई पठाउन चाहेका छन्। आचार्यलाई पठाउँदा मोरङ र कोइराला परिवारको पनि प्रतिनिधित्व हुने बुझाइमा देउवा समेत छन्। महोत्तरीकी किरण यादव मन्त्री बन्नेमा पर्छिन भने सोलुखुम्बुका बल बहादुर केसी पनि पौडेल समुहबाट पर्न सक्छन। कास्की पोखराबाट दलित समुदायको प्रतिनिधित्व गर्दै पौडेल समुहबाट जीवन परियार मन्त्रिमण्डलमा पठाइन सक्छन। स्याङजाका धनराज गुरुङ पनि अर्का सम्भावित मन्त्री हुन्। 

सिटौला समुहबाट को जाला ?
सिटौला समुहबाट उपप्रधानमन्त्री भएर सिटौला आफै वा मन्त्रीमा भिमसेनदास प्रधानलाई उनले सरकारमा पठाउन सिफारिस गर्न सक्छन्। गगन थापालाई दोहोर्‍याउन जनस्तरमा माग भएपनि उनको सम्भावना कमै मात्र रहेको बताइन्छ। सिटौला उपप्रम भए उनी सहित एक राज्यमन्त्री नभए एक मन्त्री सहित एक राज्यमन्त्री उनको समुहले पाउने छ। 

शेखर समेटिएलान की नसमेटिएलान ?
कोइराला परिवारकै सदस्य शेखर कोइराला अघिल्लो सरकारमै परराष्ट्र मन्त्री पाए मात्र सरकारमा जाने नत्र नजाने भए। उनलाई देउवाले समेट्न सकेनन् पौडेलहरुले पठाएनन्। त्यसयता संगठनका काममा लाग्ने बताउँदै आएका शेखर आफ्ना विचारका कारण चर्चामा रहँदै आएका छन्। पौडेलसँग दुरीमा रहेका उनी पार्टी सभापतिसँग समेत रुष्ट देखिएका छन्। उनलाई सरकारमा समेटिने नसमेटिने बारेमा अझै टुङगो लागेको छैन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ