arrow

मधेसकेन्द्रित दलहरु पनि निर्वाचनमा साझेदारी गर्ने तयारीमा 

logo
प्रकाशित २०७४ जेठ १२ शुक्रबार
madhesi_neta.jpg

काठमाडौँ । मधेसकेन्द्रित प्रमुख तीन दलले स्थानीय तहको निर्वाचनमा साझेदारी गर्नेबारे बहस सुरु गरेका छन् । 

आगामी जेठ ३१ मा हुने स्थानीय तहको निर्वाचनमा कसरी सहकार्य गरेर जाने भन्नेबारे राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल लोकतान्त्रिक फोरम र सङ्घीय समाजवादी फोरम नेपालबीच छलफल भएको हो । 

भक्तपुरको सानोठिमीस्थित राजपा नेता महन्थ ठाकुरको निवासमा बिहीबार अबेरसम्म भएको तीन शीर्ष नेताको छलफलले कुनै निष्कर्ष भने निकालेन । 

बुझिएअनुसार स्थानीय तहको निर्वाचनमा साझेदारी गर्न तयार रहेपनि राजपाको निर्वाचन चिह्न नभएकाले आवश्यक पहल गर्नेबारे कुराकानी भएको थियो । 

निर्वाचन र सङ्घर्षका कार्यक्रमलाई सँगै अघि बढाउनेबारे पनि नेताहरुबीच बहस चलेको थियो । 

तथापि, राजपाका नेताबीच नै निर्वाचनमा सहभागी हुने नहुनेबारे मतान्तर रहेकाले सहमति जुट्न कठिन भएको छ । 

उपेन्द्र यादव नेतृत्वको संघीय समाजबादी फोरमले पहिलो चरणको निर्वाचनमा नयाँ शक्ति पार्टीसँग साझेदारी गरिसकेको छ भने नेपाल लोकतान्त्रिक फोरमले पनि निर्वाचनमा भाग लिएको थियो । 

यी दुवै पार्टी दोस्रो चरणको निर्वाचनमा सहभागी हुनेछन् । 

यता राजपाभित्र पनि निर्वाचनमा सहभागी हुनुपर्ने दबाब बढेको छ । 

निर्वाचनबारे सकारात्मक देखिएका राजपा अध्यक्ष ठाकुरले मधेसकेन्द्रित शक्तिबीच सहकार्यका लागि नेता यादव र विजयकुमार गच्छदारसँग परामर्श गरे ।

यसअघि, राजपाको बिजुलीबजारस्थित कार्यालयमा दिउँसो बसेको बैठकले दुई पार्टीसँग कसरी साझेदारी अघि बढाउने भन्नेबारे छलफल गरेको थियो । 

यद्यपि, उक्त बैठक पनि निष्कर्षविहीन बनेको थियो । 

त्यहाँ निर्वाचन र सङ्घर्ष कसरी लैजाने भन्नेबारे छलफल भएको राजपाका नेता केशव झाले बताए । 

निर्वाचनमा जानेबारे बैठकमा अध्यक्ष मण्डलका छजना सदस्यबीच मत बाझिएको थियो । 

धेरैजना निर्वाचनका पक्षमा रहेको बताइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ