arrow

पृथ्वीनारायण शाह दरिलो शासक थिए

logo
प्रकाशित २०७२ पुष १८ शनिबार
pritivi-narayan-saha.jpg.jpeg
काठमाडौँ । बाइसे र चौबिसे राज्यमा टुक्रिएको नेपाल एकीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका पृथ्वीनारायण शाहको योगदानलाई बिर्सन नहुनेमा विभिन्न विधाका व्यक्तित्वले जोड दिनुभएको छ । दुईसय चौरानब्बेऔँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक मूल समारोह समितिले आज यहाँ आयोजना गरेको ‘श्री ५ पृथ्वीनारायण शाह र देशको वर्तमान अवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रमका वक्ताले यस विषयमा जोड दिनुभएको हो । 
 
कार्यक्रममा इतिहास विषय प्राध्यापक सङ्घका अध्यक्ष प्रा डा सुरेन्द्र केसीले पृथ्वीनारायण शाहले एकीकरणको नेतृत्व गरेर बनाएको संसारका १७ प्राचीनतम् देशमध्ये नेपाल एक भएको बताउनुभयो । “पृथ्वीनारायण शाहले दरबारभन्दा रैती बलियो हुनुपर्छ भनेको उपदेश उनका उत्तराधिकारीले बुझ‍्न नसकेकाले नेपालमा राजसंस्थाको अन्त्य भएको हो, अहिलेका शासकले यो विषयलाई बिर्संदै ४० सदस्यीय मन्त्रीमण्डल बनाएर राज्यकोष लुट्दैछन्”– उहाँले भन्नुभयो । 
 
पृथ्वीनारायण शाहलाई सहीरुपमा सम्झने हो भने नेपाललाई आत्मनिर्भर बनाइनुपर्नेमा उहाँले जोड दिनुभएको थियो । पूर्व राज्यमन्त्री डा रामचन्द्र अधिकारीले पृथ्वीनारायण शाहको दिव्योपदेश र मार्गचित्रअनुसार नचल्दा नेपालमा राजसंस्थाको अन्त्य भएको बताउनुभयो । “जनतासँग राजसंस्थाको तादात्म्यता रहेन, अहङ्कार बढ्यो र पूर्वजका अर्ती उपदेश पनि बिर्सेकाले राजसंस्थाको अन्त्य भयो, संस्था अन्त्य भए पनि नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको योगदानलाई नकार्न सकिँदैन”– उहाँले भन्नुभयो । 
 
उद्योग राज्यमन्त्री मेघराज नेपालीले यस्ता कार्यक्रममा आउन रोक लगाए पनि आफू हिम्मत गरेर आएको दाबी गर्नुभयो । “केही मन्त्री तलैबाट भागे, यो देशमा ठूलो आन्दोलन क्रान्तिको आवश्यकता छ, यसका लागि प्रतिबद्धता जाहेर गर्न मन छ, तर मेरो मुखमा पट्टी बाँधिएको छ, मैले केही बोले भोलि उद्योग राज्यमन्त्री बर्खास्त हुन्छ”– उहाँले भन्नुभयो । 
 
कार्यक्रममा पूर्वसञ्चार मन्त्री श्रीश शम्शेर जबरा, पूर्वमन्त्री दीनबन्धु अर्याल, गायिका मीरा राणा, राप्रपा नेपालकी केन्द्रीय सदस्य मीना सुवेदी, अमित लामा र शङ्कर पौडेललगायतका वक्ताले भुरे टाकुरे दर्जनौँ राज्यमा विभक्त नेपाललाई एकताको सूत्रमा गाँस्ने पृथ्वीनारायण शाहको योगदानलाई बिर्सन नहुनेमा जोड दिनुभएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ