arrow

यस्तो छ राजपाले चुनावमा जान्न भन्नुको भित्रि रहस्य

हामीसँग सहमति भएरै दुई चरणको निर्वाचन तय भएको हो : भण्डारी, प्रचण्ड धन्यवादका पात्र

logo
प्रकाशित २०७४ जेठ १२ शुक्रबार
Rajapa.jpg

काठमाडौं । मधेस केन्द्रीत राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो चरणको निर्वाचन नजाने घोषणा गरेको छ । काठमाडौंको बिजुलीबजारमा शुक्रबार बसेको राजपाको बैठकले स्थानीय तहको निर्वाचनको विरोधमा आन्दोलन गर्ने र निर्वाचनमा नजाने निर्णय गरेको हो । सरकारप्रति आक्रोशित राजपाले संविधान संशोधन प्रस्ताव पारित नगरेको भन्दै स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भाग नलिने जनाएको हाे ।

राजपाले विधिवत रुपमा पार्टी दर्ता पनि चुनाव चिन्ह नदिनु विडम्बना भएको भन्दै सरकारले आफुहरुलाई निषेध गरेको आरोप समेत लगाएको छ ।
 

आन्दोलना कार्यक्रम घोषणा
राजपा अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर संयोजक रहेको संघीय गठबन्धनले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी  गठबन्धनले  उम्मेदवारी दर्ता गर्ने दिनलाई केन्द्रीत गर्दै जेठ १८ र १९ गते दुई दिन तराई, मधेसमा हड्ताल आह्वान गरेको छ । यद्यपि, आन्दोलनका विभिन्न गतिविधि भने शनिबार देखिनै सुरु गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । तत्काल ७ दिनका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको राजपा अध्यक्ष मण्डलका एक सदस्य शरतसिंह भण्डारीले जानकारी दिए ।

उनले भने, ‘हामीहरुलाई चुनाव चिन्ह नै नदिनु भनेको निर्वाचनमा आउन पाँइदैन भनेर ढोका थुने जस्तै हो । चुनाव चिन्ह दिन विभिन्न कानुनी अड्चन देखाइयो ।’ हामीले के भन्यौ भने,–हामीलाई चुनावमा सहभागि हुने वातावरण बनाइदेउ । तर, सरकारले त्यसो गरेन ।
 

राजपा भित्रै आन्तरिक झगडा
राजपाको अध्यक्ष मण्डलका अनौपचारिक छलफलमा चुनावमा जाऔँ र नजाऔँ भन्ने दुई धार देखिएका बताइँदै छ । महन्थ ठाकुर र राजेन्द्र महतोले आन्दोलनमा जोडबल गर्दा अन्य सदस्यहरुले चुनावमा जानेतर्फ जोड दिएका बताइएको छ ।

राजपाका ठूला नेता स्थानीयस्तरमा जनाधार खस्किएका वेला संविधान संशोधन, र मधेस आन्दोलनको म्यान्डेड पुरा नभई चुनावमा जान नहुने मनसायमा रहेका बताइएको छ । आन्तरिक रुपमा चुनावको लागि उहाँहरुको जनाधार छैन, स्रोतले भन्यो, ‘सरकारसँग आफुहरु मतदातामाझ जाने वातावरण बनाइदिन अनुनय विनय गरेका थिए । संविधान संशोधन र झुठा मुद्दा फिर्ता र आन्दोलनको चपेटामा परेकाका माग सम्बोधन भएन ।’

मधेस केन्द्रीत दलको केही आन्तरिक मजोरी कानुनमन्त्री अजयशंकर नायकले समेत खोलेका छन् । मन्त्री नायकले भने, ‘सरकारसँगको छलफलका क्रममा कुरा गर्दा उहाँहरुले धेरै आन्तरिक समस्या देखाउनु हुन्थ्यो । जसले उहाँहरुको जनाधार छैन भन्ने सोझै अनुमान लगाउन सकिन्छ ।’ भित्रि कुरा के हो ? जवाफमा मन्त्री नायकले भने, ‘कुरा गरेको हिसावले भन्ने हो भने उहाँहरुको पार्टीको तल्लो तह त्यति बलियो छैन । अर्कोतिर विपक्षीको जस्तो अतिवाद पालेका छन् ।’ आन्तरिक समस्याले मुलुकलाई अनिर्णयको बन्दी बनाउनु भनेको ठूलो घात हो । संविधान संशोधन हुने स्थिति रहेन ।

मन्त्री नायकले राजपाले आफ्नो अस्तित्व रक्षाका लागि भएपनि चुनावमा जानु पर्छ, भने । उनले थपे, ‘यसरी अतिवाद पालिरहने हो भने, भएका कार्यकर्ताहरु पनि अन्तै जाने जोखिम आफ्नै निम्त्याइरहनु भएको छ ।’ समयमै ख्याल गर्नु राम्रो हुन्छ ।
यस्तै, स्थानीय स्वशासन विज्ञ एवं विश्लेषक डा. खिमलाल देवकोटाले ‘राजपाले चुनाव बहिस्कार गरेमा उसका स्थानीय नेता कार्यकर्ताको ठूलो पंक्ति अन्य पार्टीमा प्रवेश गर्नेछन् । विचार गर्नुहोस चुनाव बहिस्कार गर्नेहरुको हालत अहिले के भएको छ’ भनि टिप्पणी गरेका छन् ।     

हामीलाई चुनावमा लाने वातावरण नै बनाइएन : भण्डारी
राजपाको अध्यक्ष मण्डलका एक सदस्य शरतसिंह भण्डारीले आफुहरुलाई निर्वाचनमा लैजान सरकारले वातावरण नबनाएको बताए । उनले भने, ‘हामीले चुनावमा जाँदैनौ भनेका छैनौँ । निर्वाचनको वातावरण बनाइदिनुस् भनेका हौँ ।’ कस्तो वातावरण ? जवाफमा उनले भने, ‘संसदको पाँचौ ठूलो पार्टी बनेका हामीलाई छाता चुनाव चिन्ह दिनुस् भन्यौँ । त्यो दिइएन । त्यसमा विभिन्न कानुनी अड्चन देखाइयो । हामीले सुरक्षित अवतरण खोजेका थियौँ । तर, त्यसको ठिक विपरीत निधेष गरियो ।’
भण्डारीले आफुहरुबीच आन्तरिक समस्या नरहेको बताएपनि उनको कुरा कानुनमन्त्रीले भनेका कुरासँग मेल खाएको छ ।
 

हामीबीच कुनै मनमुटाव छैन
महन्थ ठाकुर र राजेन्द्र महतोबाहेकका नेताले बैठकमा फरक मत राखेको प्रसंगको भने भण्डारीले बचाउ गरे । उनले भने, ‘हामीबीच कुनै मनमुटाव छैन । कसैले हल्ला गरेको होला । नभए हामी एउटै टेबलमा बसेर आन्दोलनका कार्यक्रम घोषणा गर्छौँ र ? ।’ भण्डारीले आफुहरुले चुनाव चाहेको पनि बताए ।

उनले थपे, ‘हामीले चुनाव नचाहेको भए दुई चरणको चुनाव कहाँ हुन्थ्यो र ? सरकारले हामीसँग सहमति भएपछि मात्रै दुई चरणको निर्वाचन तय भएको हो ।’ उनले संविधान जारी भएको दिनलाई कालो दिवस मनाएका ठाउँमा संविधान संशोधनपछि मात्रै चुनाव गरौँ भन्ने हाम्रो मान्यता हो । उनले अगाडि भनेका छन्, ‘संशोधनमा प्रतिपक्षी तयार नभएपछि यो सबै समस्या आएको हो ।’ चुनावमा जान कम्तिमा हाम्रा कार्यकर्तामाथिका मुद्दा फिर्ता र क्षतिपूर्ति त समयमा हुनु पर्दथ्यो । के आधारले हामी चुनावमा जाने, भण्डारीले भने ।

उनले कमल थापा स्थानीय विकास मन्त्री हुँदा ११ जिल्लामा जनसंख्याका आधारले स्थानीय तहको संख्या बढाउनु भनि गरेको सर्कुलर फिर्ता गरेपछि हामीले सरकारले बेइमानी गरेको भन्यौँ, उनले भने, ‘अहिले २२ वटा थप्ने । के गर्ने वहानावाजी गरियो । शीर्ष दलहरु हामीलाई प्रयोग गरेर आ–आफ्नो स्वार्थ अनुकुल अघि बढ्दै छन् ।’ यथास्थितिमा चुनावमा जाँदैनौ भन्ने हाम्रो भनाई हो ।
 

प्रचण्ड धन्यवादका पात्र, पूरा सरकार हाम्राे पक्षमा रहेन
प्रधानमन्त्री पुष्पकमल दाहालले व्यक्तिगत रुपमा आफुहरुका माग सम्बोधनमा धेरै पहल गरेको भन्दै भण्डारीले निवर्तमान सरकारप्रति सन्तुष्ट छौँ भने । यद्यपि, प्रचण्ड धन्यवादका पात्र भए पनि होल सरकारले हाम्रो पक्षमा काम गरेन भन्ने हाम्रो भनाई हो । उनले नयाँ सरकार आएपनि आफुहरुको माग यही हुने समेत बताए । उनले भने, ‘व्यक्तिगत रुपमा पहल गरेकोमा प्रचण्ड धन्यवादका पात्र हुनुहुन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ