arrow

निर्वाचन रोक्न नै आन्दोलन –राजपा 

logo
प्रकाशित २०७४ जेठ १३ शनिबार
rastriya-janata-party3.jpg

काठमाडौं । राष्ट्रिय जनता पार्टीले आगामी जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई सशक्त प्रतिकारका साथ रोक्ने घोषणा गरेको छ ।

पार्टीका अध्यक्षमण्डलको बुधबारबाट बसेको बैठकको अन्तिम दिन शुक्रबार राजपाले संविधान संशोधन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र घोषणा, पार्टी दर्ता, चुनाव चिह्न र मधेस आन्दोलनका क्रममा लागेको सरकारवादी मुद्दा फिर्ता लगायतमा सत्तापक्षले गरेको प्रतिबद्धता कार्यान्वयनमा नआएको भन्दै जेठ ३१ गतेको निर्वाचन बिथोल्ने निर्णय गरेको हो ।

स्थानीय तहको दोस्रो निर्वाचन बिथोल्ने कार्यक्रम सार्वजनिक गर्नुअगाडि राजपा नेता महन्थ ठाकुरले प्रधानमन्त्री पुष्पकमल दाहालसँग विशेष वार्ता गरे पनि कुनै निष्कर्ष निस्किएन ।

ठाकुरले संविधान संशोधन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र घोषणा, पार्टी दर्ता, चुनाव चिह्न र मधेस आन्दोलनका क्रममा लागेका सरकारवादी मुद्दा फिर्तालगायतमा सत्तापक्षले गरेको प्रतिबद्धता कार्यान्वयन नभएकाले आफूहरूले शनिबारदेखि आन्दोलन घोषणा गर्न लागेको जानकारी दिए ।

‘आफ्नो मागका सम्बन्धमा प्रधानमन्त्रीले चुनाव चिह्नभन्दा पनि पार्टी दर्तासम्म गर्न सकिने भन्दै जिम्मेवारीबाट पन्छिने उत्तर दिनुभयो’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ठाकुरले भने ।

चुनाव चिह्न दिन नसक्ने उत्तर प्रधानमन्त्रीले दिएकाले आन्दोलनको विकल्प नरहेको ठाकुरले बताए । 

कार्यान्वयन नै नगर्ने लाखौं प्रतिबद्धताको अर्थ आफूहरूलाई आन्दोलनमा जान बाध्य गराएको ठाकुरको आरोप छ ।

ठाकुर नेतृत्वको संघीय गठबन्धनले शुक्रबारै पत्रकार सम्मेलनमार्फत जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरण निर्वाचन बिथोल्ने गरी आमहड्तालसहितका आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ । 

जसअनुसार जेठ १३ गते मसाल जुलुस, १४ गते लाठी जुलुस, १५ गते बृहत् अन्तरसंवाद, १६ गते निर्वाचन केन्द्रमा तालाबन्दी गर्ने कार्यक्रम छ । 

जेठ १८ र १९ गते निर्वाचन हुने क्षेत्रमा बन्द र जेठ २० गतेदेखि निर्वाचन बिथोल्ने गरी थप कार्यक्रम आगामी साता सार्वजनिक गर्ने जानकारी ठाकुरले दिए ।

सत्ता गठबन्धनले नयाँ सरकार गठनमा राजपाले समर्थन गर्ने र निर्वाचनमा पनि राजपा सहभागी हुने अपेक्षा राखेको समयमा आन्दोलनका कार्यक्रम सार्वजनिक भएका हुन् । 

पार्टी दर्ता गरेर चुनाव चिह्न दिनुपर्ने र संविधान संशोधन हुनुपर्ने मागलाई चुनावमा सहभागिताको सर्तका रूपमा उक्त पार्टीले अगाडि सारेको छ । 

६ वटा मधेसकेन्द्रित दल मिलेर बनेको राजपा निर्वाचन आयोगमा दर्ता छैन । 

पार्टी एकीकरणअघि ६ वटै दलले पुरानो चुनाव चिह्न, लोगो र झण्डा प्रयोग नगर्ने निर्णय गरेका थिए । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ