arrow

नेपाल–भारतबीच विद्युत् खरिद सम्झौता नवीकरण

logo
प्रकाशित २०७४ जेठ १३ शनिबार
electric-transmission.jpeg

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आयात गर्दै आएको बिजुलीको विद्युत् खरिद सम्झौता नवीकरण भएको छ।

भारतको सेन्ट्रल इलेक्ट्रिसिटी अथोरिटीमा आज आयोजित नवीकरण सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको विद्युत् व्यापार निगम (एनभिभिएम)का प्रमुख अरुणकुमार गर्गले हस्ताक्षर गर्नुभएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए।

यसअघि भएको सम्झौताको म्याद यसै साता सकिन लागेकाले आज नवीकरण गरिएको हो। सम्झौता नवीकरण गर्न घिसिङ नेतृत्वको टोली शुक्रबार भारत गएको थियो।

एनभिभिएन नेपालमा बिजुली बेच्न भारतले तोकेको सरकारी निकाय हो। सम्झौता नवीकरणले वर्षामा आयात हुने बिजुलीको परिमाण र अवधि तय गरिएको छ। वर्षामा आयात हुने बिजुलीको पिपिए नवीकरण गर्न प्राधिकरणले वैशाख २१ मा भारतलाई पत्राचार गरेको थियो।

प्राधिकरणका अनुसार यसअघि यो प्रसारण लाइनबाट विद्युत्को अत्यधिक माग रहेका बेला बढीमा १४५ मेगावाटसम्म आयात गरिएको थियो। अहिले १३५ मेगावाटको हाराहारीमा आयात भइरहेको छ।

मुजफ्फरपुर बिन्दुबाट प्राधिकरणले प्रतियुनिट भारु ३.६० पैसा (५.७६ नेपाली रुपैयाँ) मा एनभिभिएनसँग बिजुली खरिद गरिरहेको र आजको सम्झौतामा पनि सोही दर कायम रहेको छ। सो बिन्दुबाट आयात भइरहेको बिजुली अन्य नाकाको भन्दा सस्तो रहेको छ।

मुजफ्फरपुर सवस्टेसनमा सय एमभिएका दुईवटा ट्रान्सफर्मर जडान गरेर वैकल्पिक रूपमा १३२ केभीमा बिजुली खरिद भइरहेको छ। ढल्केबर सवस्टेसन पूरा भएपछि २२० केभीमा चार्ज गरिने प्रवक्ता अधिकारीले जानकारी दिए।

थप विषयमा भने आगामी अगस्तमा हुने नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठकमा छलफल हुने बताइएको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ