arrow

पूर्व अर्थमन्त्रीहरुले भने - हात खुट्टा बाँधिएको भएपनि अर्थमन्त्रीले राम्रो बजेट ल्याए

'देउवालाई प्रधानमन्त्री बन्न कसैले पनि रोक्न सक्दैन'

logo
प्रकाशित २०७४ जेठ १६ मंगलबार
x-fnn_mini.jpg

काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले हालै ल्याएको बजेट ०७४–०७५ को आर्थिक बजेट समग्रमा राम्रो भएको बताएका छन् ।  

रिपोर्टर्स क्लबको साक्षात्कारमा पूर्वअर्थमन्त्री पुनले समयमै बजेट आउनु र यसमा सबै दलहरुको समर्थन रहनु सुखद् पक्ष रहेको बताए ।  उनले भने,‘जेठ १५ गते बजेट ल्याउनुपर्ने थियो समयमै बजेट आयो, यो एकदमै खुशीको कुरा हो ।’

पुनले समयमै बजेट आएकोले यसले ईतिहासमा पहिलो दर्ज गरेको उल्लेख गरे । उनले भने,‘यसपालि समयमै बजेट आएको छ, सम्मानीय प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री महराको नेतृत्वमा संघीय बजेटको रुप दर्ज भएको छ, यो खुशीको कुरा हो, यो एउटा ईतिहासमै पहिलो दर्ज भएको छ ।’

उनले दोस्रो चरणको निर्वाचनकोबीचमा आचारसंहितालाई ध्यान दिएर बजेट आएको समेत स्पष्ट पारे । पुनले भने,‘संघीय स्वरुप अनुसार नै स्थानीय तह वा सरकारलाई पर्याप्त बजेट गएको छ ।’ उनका अनुसार मनाङमा ५ सय जनसंख्या भएको गाउँपालिकामा पनि न्यूनतम् दश करोड बजेट गएको छ । उनले केन्द्रीय तहबाट स्थानीय तहमा बजेट पर्याप्त रुपमा पुगेकोमा खुशी व्यक्त गर्दै यो अत्यन्तै सकारात्मक पक्ष भएको बताए ।

सहभागितामूलक लोकतन्त्रलाई बजेटले संस्थागत गरेको समेत उनको भनाई छ । उनले राष्ट्रिय गौरवका आयोजनाहरुलाई समयमै सम्पन्न गर्ने गरी मुठ्ठी फुकाएर बजेट विनियोजन गरिएको समेत स्पष्ट पारे । उनका अनुसार सरकारले हुलाकी राजमार्ग, तीन वटा अन्र्तराष्ट्रिय विमानस्थल निर्माण, फास्ट ट्रयाक, हुलाकी राजमार्ग, जलविद्युत आयोजनामा राम्रो बजेट विनियोजन गरिएको छ ।

त्यस्तै सरकारले ठूला आयोजना अन्तर्गत उज्यालो नेपाल अभियानमा जोड दिँदै उर्जा क्षेत्रमा ७८ अर्ब विनियोजन गरिएको यो बजेटको राम्रो विशेषता रहेको पुनले बताए । त्यस्तै यही माघ ७ गतेभित्र तीन तहकै निर्वाचन सम्पन्न गर्नको लागि सुनिश्चिततासहित बजेट विनियोजन भएकोमा प्रंशसा गरेका थिए ।

त्यस्तै आगामी ५ वर्षभित्र मुलुकको राजनीतिक संक्रमण अन्त्य गरि आर्थिक क्रान्तिलाई द्रुत गतिमा अघि बढाउनेगरि बजेट आएको समेत उनले बताए । कर्मचारीको तलवभत्ता वृद्धि नभएकोमा थोरै गुनासो भएपनि यसलाई पूरक बजेटमा समेट्ने आफूले विश्वास लिएको बताए । उनले भने,‘आचारसंहिताको कारण अहिले राष्ट्रसेवक कर्मचारीको तलव वृद्धि हुन सकेन् तर हामी यसलाई पूरक बजेटमा समेट्छौं भन्नु भएको छ, मलाई विश्वास छ, यो अब आउने बजेटमा समेटिनेछ ।’
जेष्ठ नागरिक, एकल महिला लगायतका सामाजिक सुरक्षा भत्ता समेत पूरक बजेटमा समेटिने आफूले विश्वास लिएको पुनको भनाई थियो । त्यस्तै युवा स्वरोजगारलाई पनि विशेष ध्यान दिईने उनको तर्क छ ।

यद्यपि, उनले बजेटको आकार ठूलो भएको भन्ने गुनासो भएपनि यसको स्रोत राजश्व संकलन नै रहेको बताए । उनले भने, ‘कर २० प्रतिशतले वृद्धि हुन्छ, त्यसैले यो लक्ष्य सजिलै हाँसिल हुन्छ ।’ पुनले भुकम्पपछिको पूर्ननिर्माणको लागि पनि सरकराले पर्याप्त रकम विनियोजना गरेकोमा खुशी व्यक्त गरे ।

यो बजेटको राम्रो पक्ष भनेको बजेट समयमै कार्यान्वयन गर्ने कार्यतालिक समेत रहेको पुनले दाबी गरे । उनले भने,‘परियोजनाहरु कसरी कार्यान्वयन गर्ने भनेर स्पष्ट तालिका नै आएको छ, यो अत्यन्तै सुख्द कुरा हो ।’
फरक प्रसँगमा उनले काँग्रेस सभापति शेरबहादुर देउवालाई अब प्रधानमन्त्री बन्नबाट कसैलेपनि रोक्न नसक्ने बताए ।
उनले भने,‘सकेसम्म सहमति अनुसार नै उहाँ (देउवा)प्रधानमन्त्री बन्नुहुन्छ, यदि सम्भव भएन भने उहाँ बहमुतको प्रधानमन्त्री बन्नुहुन्छ, हामी ढुक्क छौं, उहाँलाई प्रधानमन्त्री बन्नबाट कसैलेपनि रोक्न सक्दैन् ।’ उनले सभापति देउवा यही २१ वा २२ गते नै प्रधानमन्त्री बन्ने ठोकुवा समेत गरे ।  

उनले देउवालाई सहमतीय सरकारको नेतृत्व गर्नको लागि सबैभन्दा सुविधाजनक अवस्था रहेको समेत जिकिर गरे । उनले भने,‘कम्तिमा पनि तीन तहकै निर्वाचन सम्पन्न नहुञ्जेलसम्म प्रमुख तीन दल मिलेर जानुपर्ने हो, तर एमाले आए राम्रो हुन्छ नआए पनि हामी यही गठबन्धन अगाडि बढ्छौं ।’ पुनले प्रमुख प्रतिपक्षी दल एमालेलाई पनि सरकारमा सहभागी गराउनको लागि आफूहरुको पूर्ण प्रयत्न रहने जिकिर गरे ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेता एवम् पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीले पनि बजेट समग्रमा राम्रो भएको प्रतिक्रिया दिएका छन् । अधिकारीले भने,‘बजेट राम्रो छ, केही केही कमजोरीहरु भएका छन्, तर बजेट समग्रमा राम्रो छ ।’
अधिकारीले राष्ट्रिय गौरवको आयोजनाहरुलाई निरन्तरता दिएकोमा खुशी व्यक्त गर्दै यसलाई कार्यान्वयन गर्नतिर ध्यान दिनुपर्नेमा जोड दिए । त्यस्तै उनले पुँजीगत खर्च अत्यन्तै कम भएकोमा भने चिन्ता गरे ।

उनले राम्रा कार्यक्रमहरु आएकोमा खुशी व्यक्त गर्दै भने,‘कार्यक्रमहरु राम्रा आएका छन्, अब यसलाई समयमै कार्यान्वयन गर्नतिर ध्यान दिनुपर्छ ।’ यद्यपि, उनले भैरहेका कामहरुलाई कसरी अनुगमन गर्ने भन्नेतिर विशेष ध्यान दिनुपर्ने सुझाव दिए । उनले भने, ‘मैले त बडो स्पष्ट रुपमा भनेको छु, कि ठूला–ठूला परियोजनाहरुको काम कसरी भैरहेको छ, यसको प्रगति विवरण लिनको लागि प्रधानमन्त्रीको लेभलमा एउटा सेल र अर्थमन्त्रीको लेभलमा अर्को सेल बनाउनुपर्छ, अनि प्रगति विवरण लिनुपर्छ ।’

उनले काठमाडौं–तराई द्रुत मार्ग परियोजना, तीन वटा अन्र्तराष्ट्रिय विमानस्थल निर्माण कार्यलाई एकाउन्टेवल बनाउनुपर्नेमा जोड दिए । अधिकारीले बजेटले गरिबी निवारणसम्बन्धी प्रभावकारी कार्यक्रम ल्याउन नसकेको गुनासो पोखे । उनले भने,‘गरिबीको रेखामुनी बस्नेहरुको संख्या ह्वात्तै बढेको छ, गरिबी निवारणका कामहरु ह्ुन सकेका छैनन्, विदेशी सहायताहरु विचौलीयाहरुले बिचमै खाने गरेका छन्, यतातिर सरकारको ध्यान पुग्नुपर्छ ।’ उनले गरिबी निवारणसम्बन्धी कार्यक्रमहरुलाई एकद्वार प्रणालीमा सञ्चालन गर्नुपर्ने समेत बताए ।

उनले युवा स्वरोजगार कार्यक्रमलाई समेत प्रभावकारी बनाउनुपर्ने समेत बताए । उनले भने,‘यसमा सरकारले कार्यक्रमहरु दिनुपर्छ ।’ उनले कृषिमा समेत विशेष ध्यान दिन नसेकेकोमा गुनासो पोखे । उनले भने,‘अर्थतन्त्रलाई गति दिन चुक भएको छ, किनकी गाउँमा रोजगारी सिर्जना गर्ने भनेको नै कृषिमा विशेष ध्यान दिनुपर्छ नि ।’

उनले बजेटले संघीयतालाई कार्यान्वयन गर्न जोड दिएको छ । यद्यपि, उनले स्थानीय निकायलाई रकम भने अपूरो भएको गुनासो पोखे । त्यस्तै उनले आफूले त कृषिमा कम्तिमा ५० अर्ब रकम विनियोजन गर्नुपर्ने भनेपनि  जम्मा ३० अर्ब मात्रै छुट्याएको स्पष्ट पारे ।

अधिकारीले पूर्व–पश्चिम राजमार्ग, हुलाकी राजमार्ग, रेल–वे, फास्ट ट्रयाकजस्ता परियोजनाहरुलाई अघि बढाउन पर्याप्त रकम विनियोजन भएकोमा खुशी व्यक्त गरे । यस्तै, चीनसँगको ओबोरमा हस्ताक्षर गरेपछि पूर्वाधार विकास अघि बढ्ने भएकोले यसलाई समयमै कार्यान्वयन गर्नुपर्नेतिर विशेष ध्यान दिनुपर्छ । उनले मुलुकलाई आर्थिक समृद्धिको बाटोतर्फ लैजानका लागि प्रमुख तीन ठूला दलहरु मिलेर नै अघि बढ्नुपर्ने उनको भनाई थियो ।

पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले पनि बजेट विशिष्ट परिस्थितिमा आएको भएपनि यसले आशाका किरणहरु ल्याएको बताए । कोइरालाले बजेट दुई दलीय सहमतिमा आएको भएपनि यो बजेटलाई राजनीतिक सहमतिमा ल्याईएको गैर–राजनैतिक बजेटको संज्ञा दिए ।

उनले अर्थमन्त्रीलाई हात खुट्टा बाँधेर बजेट ल्याउन भनिएको भएपनि सकारात्मक पक्षहरु समेटेर बजेट आएकोमा खुशी व्यक्त गरे । उनले भने,‘यो बजेट चुनावी आचारसंहिताले बाँधिएर आएको छ, समग्रमा बजेट राम्रो छ, यसले तीन तहकै निर्वाचन संविधानले तोकेको समयसिमाभित्रै सम्पन्न गर्नको लागि सुनिश्चितता गरेको छ ।’ त्यस्तै आर्थिक वृद्धिदर ७.२ प्रतिशत प्रक्षेपण गरिएको र उक्त वृद्धिदर हाँसिल हुने समेत विश्वास व्यक्त गरे ।

स्थानीय तहकमा स्रोत र साधनहरु हस्तान्तरण गर्नुपनि बजेटको सुन्दर पक्ष रहेको कोइरालाले बताए । त्यस्तै बजेटले रज्यसत्ता स्थानीय तहमा हस्तान्तरण गरेको अनुभुति समेत भएको उनको भनाई थियो । उनले भने,‘केन्द्रका आयोजनाहरु स्थानीय तहसम्म पुगेका छन्।’

पुँजीगत खर्च कार्यान्वयन गर्नतिर विशेष ध्यान दिनुपर्ने उनले बताए । त्यस्तै उनले नयाँ नीति तथा कार्यक्रमहरु नल्याउने भनिएपनि अर्थमन्त्रीले बढो चलाखीपूर्वक ढंगले केही नयाँ कार्यक्रमहरु समेत ल्याएको बताए । उनका अनुसार रसुवागढी, काठमाडौं, पोखरा भैरहवा रेलमार्ग, राष्ट्रसेवक कर्मचारीहरुकोमार्फत ५०० मेगावाट जलविद्युत क्षमता निर्माण गरिने, ७ वटै प्रदेशमा एक–एक मेगासिटी बनाउने जस्तो नयाँ कार्यक्रमहरु बजेटमार्फत आएका छन् ।

त्यस्तै उनले बजेटको आकार ठूलो हुनु अलिकति अशोभनीय भएको टिप्पणी गरे । उनले भने,‘हाम्रो कुल ग्राहस्थ उत्पादन भनेको २६ खर्ब हो, जिडीबीको ४० प्रतिशतमात्रै बजेटमा ल्याउनुपर्ने हो, यो चाहीँ ठाडै उल्लंघन भएको छ ।’ उनले अहिलेको बजेटको आकार हेर्दा जिडीपीको झण्डै ५० प्रतिशत बजेट आएको बताए ।

बजेटले नीजी क्षेत्रलको मनोवल र हौसललाई प्रदान नगरेको गुनासो पोखे । उनले भने,‘यो बजेटले नीजी क्षेत्रलाई त्यति उत्साह प्रदान गरेको छैन, आयातमा मात्रै हामी केन्द्रित भयौं, निर्यात अत्यन्तै कम भएको छ, यतातिर पनि ध्यान दिईनुपर्ने थियो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ