arrow

पाषण–मृत्युलाई जित्ने गीत

logo
वसन्तप्रकाश उपाध्याय,
प्रकाशित २०७४ जेठ १६ मंगलबार
pilot-gurung.jpg

काठमाडौं ।  तक्मा–पदक, पुरस्कार–सम्मान आफूभन्दा टाढै बस्थ्यो । अकल्पनीय मूल्यांकनमा पदक घोषणा सुन्नासाथ धेरै बधाई र शुभेच्छा प्रकट भए । तर ती सबैमध्ये मैले कैलाशलाई साधुवाद्को सूचीमा समेट्न सकिँन ।

हिजै सम्पर्क भएको थियो– क्याप्टेन कैलाश गुरुङसँग । साह्रै नम्र, विनोदी, मिलनसार र काव्यिक साथी कैलाशले खुशी हुँदै भनेका थिए– ‘वसन्तजी ! म आफैँले पाए जस्तो लाग्यो ।’ सम्वादको चौवीस घण्टा पूरा नुहँदै ती ‘भोजपुरे– साथीको ‘बाजुरा–बास’को दुखद् समाचार सुनेँ । स्तब्धतामा अल्झेर, पछाडि फर्केर अनि विगतमा बल्झेर कैलाशलाई नियालिरहेछु ।

राष्ट्रवादी चेतमा सुललित गीत लेख्थे– कैलाश । उनका धेरै गीतहरुलाई ‘कपी–एडिट’ गर्न सुझाउने मौका पाएको छु मैले ।  सैन्य दुःखभन्दा कवि सुखमा उनी प्रकट हुन्थ्ये । एकदिन एयरपोर्टमा मैले सोधेँ–‘आकाशमा उड्न मज्जा कि गीतमा डुल्न रमाइलो क्याप्टेन ‘साव ?’ उनले भनेः ‘जहाज उडान यान्त्रिक हो । काव्यिक– उडान जीवन हो साथी !’

हाम्रा जिन्दगीका आ–आफ्नै ‘आकास’ छन् । जिन्दगी जतिसुकै प्रखर भए पनि त्यसले महत्वकांक्षाको ‘तारा’ टिप्न सक्दो रहेनछ । बेफुर्सद छन् मान्छेहरु र उडिरहेका छन् अभीष्ट प्राप्तिको पहाडतिर । तर समयले सधैँ उर्जा, सद्भाव र सपना बुझेर ‘सेफ ल्याण्डिङ’ गराउँदो रहेनछ । जिन्दगी ठोक्किहाल्दो रहेछ कहिले दुःखको पहाडसँग त कुनै बखत दुर्भाग्यकाे भिरसँग ।

जिन्दगी मृत्युसँग ठोक्किने सत्य हो । थाहा छ यति । तैपनि मन मान्दैन । जिन्दगी जति उडोस्, त्यसले मृत्यु–सत्यमा ‘ल्याण्ड’ हुनैपर्छ । यति बुझ्छु । तर, के गर्ने ? चित्त बुझ्दैन । मन–चित्तसँगै मस्तिष्कले स्वीकार्नुपर्ने यही पाटोलाई हेरेर धेरैबेर टोलाइरहेँ । छेउछाउ थिए साथीभाइ । म चाहिँ धेरै पर कैलाश–पर्वतको कल्पनामा थिए । शायद ढिलो–चाँडो एकदिन हामी सबैले त्यो निर्मम उकालो चढ्नैपर्ने छ । प्यारो साथी कैलाश ! त्यो ‘पाषण मृत्यु’लाई सक्छौं भने मन पगाल्ने गरी गीत सुनाइदेऊ है...



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ